काठमाडाैं । पुल निर्माण नभएको भन्दै चार दिनदेखि अनशनमा बसेका पत्रकार सञ्जय सहनीले अनशन तोडेका छन् । गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमाथिको अधुरो पुल तत्काल निर्माणका लागि आमरण अनशन बसेका पत्रकार सहनीलाई बिहीबार बेलुका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुस खुवाएर आमरण अनशन तोडाएका हुन् ।
गौर नगरपालिका तथा ईशनाथ नगरपालिका जोड्ने एकमात्र माध्यम बनेको टिकुलिया घाटको लालबकैया पुल पप्पु कन्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएर अपुरो छोडेका कारण विगत वर्षमा डुंगाबाट यात्रु तार्न लाग्दा ठूलो सङ्ख्यामा यात्रु डुबेका थिए ।
डुंगा डुबेको घटनापश्चात् निर्माणका लागि ठेक्का लिएको उक्त कम्पनीलाई कारबाही गर्नुपर्ने बहस सदनदेखि सडकसम्म उठे पनि न कारबाही भयो न त पुल निर्माण भयो ।
सोही विषयलाई लिएर स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै नवनिर्वाचित जनप्रतिनिधि समेतलाई दबाब दिइएको थियो। तर पनि कुनै सुनुवाइ भने भएन ।
सोही विषयलाई लिएर स्थानीय पत्रकार सहनी ४ दिनदेखि आमरण अनशन बसेका थिए।
उनको स्वास्थ्यावस्था नाजुक भएकाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रयासमा प्रदेशसभा सदस्य नागेन्द्र साह, क्षेत्र नं २ का सांसद किरण साहलगायत पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठ र संघीय सडक प्रमुख विजय जैसीको उपस्थितिमा अनशन तोडाइएको हो ।
पत्रकार सहनी र सरोकारवालाबीच भएको सम्झौताअनुसार अबको डेढ वर्षभित्र अधुरो पुल निर्माण गरिने भएको छ ।
आमरण अनशनलाई स्थानीयवासी तथा सञ्चारकर्मी समर्थन जनाएका थिए ।
प्रतिक्रिया