काठमाडौं । मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकखण्ड मर्मत गर्न सोमबारदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने हल्का सवारी साधानलाई सोमबार बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारीसाधन सञ्चालन गराइएको छ ।
उक्त कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए अनुसार काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस)लाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिंगन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एवं मन्त्रीहरू र सरोकारसँग सम्बन्धित निकाय, यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीसहितको संयुक्तरूपमा बसेको बैठकले भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाई कार्यान्वयन गर्न आजैदेखि कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथमा अस्थायीरुपमा हल्का सवारीसाधन सञ्चालन गराइएकोे सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौंतर्फ र काठमाडौंबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हल्का सवारीसाधन दैनिक सञ्चालनमा रहेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले जानकारी दिए ।
०००
प्रतिक्रिया