सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन रेखांकन

मुगु । छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजानिक रुपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ ।

बुधबारदेखि नगरप्रमुख विष्णुकुमार भामको अगुवाइमा र स्थानीय प्रशासन सुरक्षाकर्मी, नापी कार्यालयको प्राविधिक टोलीसहित सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको रेखांकन गर्ने कार्य गमगढी बजारको अदालत चोकदेखि सुरु भएको हो ।

गमगढी बजारमा सार्वजानिक जग्गामा निर्माण भएका भर्याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरु हटाउन जारी गरेको सार्वजनिक सूचना अवज्ञा गरेपछि नगरपालिका स्वयं रेखांकन गर्न सुरु गरेको लागेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।

रेखांकन कार्य सकिएपछि सार्वजानिकरुपमा निर्माण भएका टहरा हटाइने उनको भनाइ छ । नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । पहिलो सूचना गत असोज १४ गते निकालेको थियो ।

त्यसपछि दोस्रो सूचना मंसिर ९ र अन्तिम सूचारु पुस २१ गते गरेर अबैध संरचना हटाइउन आग्रह गरेको थियो । तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको थिएन ।

सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगरप्रमुखदेखि अहिलेका जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका भएपनि त्यो कार्य अगाडि नबढेको बेला बुधबार देखि नगरप्रमुख भाम आफै सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भर्याङ, छतलगायत अन्य अव्यवस्थित संरचना हटाउन लागिपरेका छन् ।

जथाभावीरुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरुप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताए ।

सभ्य नागरिकको पहिचानका साथ रेखांकन गरेको स्थानदेखि आफै अवैध संचरना हटाउन आग्रह नगरपालिकाले आग्रहसमेत गरेको छ । रेखांकन गरेको एक हप्तासम्म अवैध संरचना हटाउन अटेरी गरेमा नगरपालिकाले डोजर लगाइ हटाउन बाध्य नगरप्रमुख भामको भनाइ छ ।

प्रतिक्रिया