‘एक बागी’ विमर्श

बागलुङ । लेखक उज्ज्वल प्रसाईंले लेखेको ‘एक बागी’ माथि विमर्श गरिएको छ । लेखक खगेन्द्र संग्रौला उक्त कृतिको विषय र पात्र हुन् । बागलुङमा गरिएको विमर्शमा संग्रौलाले लेखक प्रसाईंले आफ्नो भण्डारफोर गरेको जिकिर गरे । उनले भने, ‘जब तपाईंलाई अर्काको आँखाले हेर्छ, तपाईंले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ । उज्ज्वले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।’

उनले भण्डाफोर कम्युनिष्टको भाषा भए पनि आजकलकाले बिर्सेको भन्दै व्यंग्य गरे । उनले भने, ‘पहिले कम्युनिस्टहरूले दुष्ट, पापी, अत्याचारी, देशी–विदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरू आफैँ भण्डाफोरित भइसके ।’ सतहत्तर वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाए । ‘जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि’, उनले भने, ‘मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरूको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।’ आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असंगति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उनले उल्लेख गरेँ । संग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताए ।

संग्रौलाले थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईंले स्मरण गराएको चर्चा गरे । उनका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईंले पुस्तकमा सन्दर्भित गरेका छन् । लेखक प्रसाईंले ‘एक बागी’ खगेन्द्र संग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक भएको सुनाए । उनले भने, ‘पुस्तकमा सात दशकको नेपाली समाजको एकसरो कथा भन्न खोजिएको छ । यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।’

लेखक प्रसाईंले पाँच–छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाए । ‘यो खगेन्द्र संग्रौलाको जीवनी हो, उहाँ कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उहाँ आममान्छे हो, साधारण लेखक हो’, उनले भने, ‘खगेन्द्र संग्रौलाले बाँचेको जीवन र समयका कथाहरू पुस्तकमा छन् ।’ विर्मशमा लेखकद्वयले पाठकसँग संवाद पनि गरे । पुस्तकको रचनागर्भदेखि लेखक खगेन्द्र संग्रौलाको साधना र संघर्षबारे पाठकले जिज्ञासा राखेका थिए । संग्रौलाले सामाजिक न्याय र समानताका लागि आफू सधैँ ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताए ।

नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलाई समेत जोडिएको थियो । पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसंवादसमेत भएको बताए । ‘एक बागी’ बेला पब्लिकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो ।

प्रतिक्रिया