भविष्य खोज्दै महिला भलिबल खेलाडी

रामपुर (पाल्पा) । डुमीसरा सारु जनता मावि निस्दी गाउँपालिका–५ ढुंगानाबेसीमा कक्षा ९ मा अध्ययनरत छन् । उनको भलिबल खेलमा औधी रुचि छ । भविष्यमा राम्रो खेलाडी बन्ने धोको भए पनि खेल्ने वातावरण नहुँदा सारु निरास छन् ।

स्थानीय तथा विद्यलायस्तरमा हुने विभिन्न खेल प्रतियोगितामा सरिक हुने उनी सामान्यतया पूर्वाधार अभावले खेलाडीलाई खेल्ने वातावरण नभएकोमा चिन्तित छन् । सारु दुई वर्षदेखि भलिबल खेल्दै आएकी छन् ।

सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत १७ वर्षीया देउमाया सारु पुरुषको तुलनामा महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउँछिन् । एकै प्रकृतिको खेल भए पनि पुरस्कार दिँदा महिला खेलाडीलाई भेदभाव गर्ने गरेको गुनासो पोख्छिन् ।

‘प्रतिभा लुकाएरै बस्नुपर्ने हुन्छ, महिला सहभागिता बढाउन आवश्यक छ, एकै प्रकृतिको खेलमा पुरस्कारमा विभेद गर्नुभएन, यस्ता कुराले पनि खेलाडीलाई असर गर्छ’, सारुले भसनन् ।

दरैठाँटी मावि रामपुरमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया अस्मी घर्तीले तीन वर्षयता भलिबललाई प्राथमिकता दिँदै निरन्तर प्रतिस्पर्धा गर्दै आएकी छन् ।

महिलाका लागि स्थानीय तथा विद्यालयस्तरमा भलिबल खेलमात्रै धेरै आयोजना गरिने हुँदा यसबाट भविष्य बनाउने अठोट लिएको उनको भनाइ छ । स्थानीयस्तरमा खेल पूर्वाधार नहुँदा घर्ती चिन्ता प्रकट गर्छिन् ।

‘स्थानीय तहमा मात्र नभई बाहिरी जिल्लामा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यहाँ प्रशिक्षणको व्यवस्था छैन, आफ्नै मेहनतले जे जसरी सिक्यो त्यसरी नै खेल्ने हो, हरेक स्थानीय तहमा खेल प्रशिक्षक आवश्यक छ’, उनले भनिन् ।

दरैठाँटी माविकै कक्षा ११ की छात्रा अस्मिता थापा सानैदेखि भलिबलमा रुचि राख्छिन् । भलिबल खेल्न पाउँदा उनी ज्यादै हर्षित हुन्छिन् । फुर्सदमा भलिबल खेलिहाल्ने थापाको बानी छ । १८ वर्षीया थापा परिवारको साथ सहयोगका कारण खेल्न पाएको बताउँछिन् । उनी तीन वर्षदेखि भलिबल प्रतियोगितामा सहभागी बन्दै आएकी छन् ।

‘स्थानीयस्तरमा आश लाग्दा र सम्भावना बोकेका खेलाडी ओझेलमा परेका छन्, राम्रो खेल्न सक्ने क्षमता भए पनि पूर्वाधारलगायत समस्याले खेलमा महिलाको उपस्थिती कम छ’, थापाले भनिन् ।

विद्यालयस्तरीय हुने खेलकुदका कार्यक्रमले खेल क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको रामपुर नगर भलिबल संघका अध्यक्ष देव श्रेष्ठले बताए । अझै पनि पुरुषको तुलनामा महिला खेलाडी सहभागी कमै हुने गरेको श्रेष्ठको भनाइ छ ।

‘महिलालाई घरबाट खेलमैदानसम्म ल्याउन गाह्रो छ’, उनले भने, ‘घरायसी कारणले सहभागिता गराउनै समस्या छ ।’ राष्ट्रपति रनिङ शिल्ड, मेयर कप, अध्यक्ष कप र ओकेबाजे कप जस्ता प्रतियोगिताले महिला खेलाडीलाई प्रतिस्पर्धामा आउन सजिलो छ ।

स्थानीय र जिल्ला तहमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई सम्बन्धित पालिकाले माथिल्लो क्षेत्रसम्म प्रतिस्पर्धा गर्ने वातावरण तयार पारिदिनुपर्छ । खेल क्षेत्रमा सामान्य आधारभूत सेवा उपलब्ध नहुँदा पनि खेलाडीको मनोबल बढ्न सकेको छैन ।

प्रतिक्रिया