‘जहाँ ढुंगा ढुंगांमा देवताको बास छ’

जनकपुरधाम । ‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरूको कुरा सुन्नुुपर्छ ।
वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुंगा ढुंगामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थंगाथुंगामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयंले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ ।

यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । ‘कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरूप बनाएर उनको जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरको केन्द्रमा राख्ने विषय हामी सबै नेपालीका लागि ऐतिहासिक महत्वको हुने नै भयो,’ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सचिव रामजी दाहालले भने, ‘तर त्यसको धार्मिक महत्व कति रहेछ भन्ने कुरा भारतीय सीमा प्रवेशपछि मात्रै अझ बढी थाहा भयो ।’ उनले कालीगण्डकीको शिलालाई देवशिलाका रूपमा भारतीय पक्ष र विशेषगरी त्यहाँका हिन्दू धर्मावलम्बीहरूबाट व्यक्त श्रद्धाबाट आफू आश्चर्यचकित भएको बताए ।

म्याग्दीको बेनीबाट जनकपुरधामसम्म करिब पाँच सय किलोमिटरभन्दा बढी सडक दूरी पार गर्दा केही ठाउँमा मात्रै शिलाको दर्शन तथा पूजा भयो । तर जब त्यो शिलालाई धनुषास्थित जटही नाका हुँदै भारत प्रवेश गराइयो तब थाहा भयो त्यसको महत्व कति रहेछ भनेर ।

नेपालमा अधिकांशले ढुंगाका रूपमा मात्रै बुझेको शिलामा भारतवासीले देवता नै देखे । त्यहीअनुसार देवशिला यात्रालाई एउटा महोत्सवका रूपमा मनाए । नेपालबाट श्रीराम जन्मभूमि अयोध्या पछ्याउँदै अघि बढेको शिलाप्रति भारतीय श्रद्धालुहरूले अभिव्यक्त गरेको श्रद्धाभाव, उत्साह, उमंग र सहभागिताले त्यसलाई पुष्टि ग¥यो । त्यो देखेपछि देवशिला यात्रामा सहभागी जनकपुरधामका परमेश्वर महासेठ भन्दै थिए, ‘यो आस्था, श्रद्धा र उपस्थिति देख्दा त साक्षत भगवान् राम नै उपस्थित भएको आभाष भयो ।’

पिपरौन, फुलहर, गनगौर, गोपालपुर, मुखिआपत्ती, बैंगरा, बीसनपुर, मेघवन, माधपुर, कंगनी, दरभंगा, मुजफ्फरपुर हुँदै देवशिला मोतिहारी पुग्दा मानिसहरूको उत्साह थपिँदै गयो । देवशिलाको व्यग्र प्रतीक्षामा रहेका दर्शनाभिलाषीमा छिप्पिँदो रात र चिसोको कुनै प्रवाह थिएन । दोस्रो दिन अर्थात् १७ गते गोरखपुरबाट अयोध्या पुग्न करिब १ सय ३५ किलोमिटरको दुरी पार गर्नु थियो । केही घण्टाको सडक पार गर्न देवशिला बोकेको लरीलाई झन्डै १० घण्टाभन्दा बढी समय लाग्यो । ‘न सार्वजनिक आह्वान, न कुनै उर्दी तर पनि स्वस्फुर्त रूपमा हजारौँ मान्छे बाटोमा लाम लागेर देवशिलाको दर्शन गरेँ,’ डा. कुलराज चालिसेले स्मरण गरे, ‘कोखमा बच्चा च्यापेका महिलादेखि वृद्धवृद्धाहरूले नतमस्तक भएर शिला ढोगे, त्यो छुन पाउनु नै पूण्य हो भन्ने भावमा श्रद्धा प्रकट गरे ।’

जनकपुरदेखि अयोध्याको करिब पाँच सय किलोमिटर सडक पार गर्न करिब २४ घण्टा समय लाग्यो । सडकमा त नागरिक थिए नै, भारतीय मिडियाले पनि उच्च प्राथमिकताका साथ प्रचारप्रसार गरे । राम मन्दिर कार्यशाला रामसेवकपुरमा देवशिला पूजापछि आयोजित विशेष समारोहमा नेपालका तर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तान्तरणको क्षण त झन् चर्चा गर्न लायक थियो । त्यसैले त भारतका सबैजसो मिडियाले अरू प्राथमिकतालाई छोडेर त्यसैको चर्चामा समय खर्चिए ।

देवशिला : सांस्कृतिक सम्बन्धको नवीकरण

‘जनकपुर र अयोध्याको प्राचीन सम्बन्ध अवर्णनीय छ, नेपालको देवशिलाले त्यो सम्बन्धलाई थप प्रगाढ बनाएको छ,’ शिला बुझ्नुहुँदै महासचिव रायले भने ।
जानकी मन्दिरका महन्थ दासले पनि युगौँदेखि चलिआएको नेपाल भारतको धार्मिक, सांस्कृतिक सम्बन्धको चर्चा मात्रै गर्नुभएन भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै स्थापित यो सम्बन्धमा देवशिलाले थप सुगन्ध थपेको बताए ।
नेपालबाट देवशिला लिनुअघि लगातार ४५ दिन यही बसेर फर्किएका श्रीराम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पूण्यको काम भएको बताए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले सीतारामकालीन सम्बन्धलाई देवशिलाले नवीकरण गरेको भन्दै यस्तो अवसरका लागि भारतीय पक्षप्रति विशेष आधार भएको बताए । ‘त्रेतायुगमा माता जानकी र रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शिलाले त्यसलाई पुनः नवीकरण गरेको आभाष भएको छ,’ निधिले भने, ‘राम मन्दिर भारतमा बने पनि त्यसमा राखिने मूर्ति नेपालको देवशिलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप अविष्मरणीय बनाएको छ । यसको वर्णन गर्न सकिँदैन ।’

रामायणका मुख्यपात्र भगवान् श्रीराम भारत उत्तरप्रदेशको अयोध्यामा जन्मिएको विषयमा त्यहाँ कुनै विवाद छैन तर हाल बन्दै गरेको राम मन्दिरस्थल भने विगत करिब पाँच सय वर्षदेखि विवादमा थियो । हिन्दूहरूले भगवान् रामको जन्मस्थान मानेर पूजा गरिरहेकै ठाउँमा सेनापति मीरबाकीले १६औँ शताब्दीको सन् १५२८ मा बाबरी मस्जिद बनाएपछि विवाद सुरु भएको थियो । त्यही बेलादेखि हिन्दू र मुस्लिम धर्मावलम्बीले आ–आफ्नो दाबी पेस गर्दै विवाद सुरु भएपछि साढे चार सय वर्षको अवधिमा ५६ पटक युद्ध भई लाखौँले ज्यान गुमाएका थिए । ‘राम जन्मेको ठाउँमा अचानक मस्जिद बनेपछि विवाद बढ्दै गयो, ५६ पटक त हिंसा भएको जानकारीमा आउँछ,’ श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले स्मरण गरे, ‘सन् १९९२ डिसेम्बर ६ तारिखपछिको घटना त सबैलाई थाहा छ, त्यो भारतको इतिहासमै खराबमध्येका धार्मिक साम्प्रदायिक हिंसा थियो ।’

प्रतिक्रिया