मल अभावले सिन्धुपाल्चोकका किसान चिन्तामा

मेलम्ची । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् ।

‘खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन, मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ’, इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुःखेसो पोखे । उनी जस्तै जिल्लाका अधिकांश किसान युरिया मल नपाउँदा हैरान एका छन् ।

मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन् । यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ ।

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ । खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ ।

‘दिनभरि लाइनमा बस्यो अन्तिममा दुई–चार किलो मात्रै मल पाइन्छ, हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ’, इन्द्रावती–११ का उज्जर माझीले भने, ‘त्यति मल त करेसाबारीको सागलाई मात्रै पुग्छ ।’ हिउँदमा आलु, गहुँ, तोरी तथा जौलगायत खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ ।

मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ । यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन ।

यो समस्या हरेक वर्ष देखिँदै आएको छ । तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन् । खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिइरहेको भेटिन्छन् ।

‘यो वर्ष जसोतसो गरेर गहुँ छरियो, तर मल छैन, मल हाल्ने समय पनि बितिसक्यो, धेरै दिन खोज्न पनि गइयो तर पाइएन’, मेलम्ची–१० का खिलप्रसाद दाहालले भने ।

प्रतिक्रिया