काभ्रे । काभ्रेको पनौती नगरपालिका ११ बल्थलीमा बालवालिका तथा किशोरकिशोरीलाई लक्षित गरेर व्यक्तित्व विकास कार्यक्रम सम्पन्न गरिएको छ । वडा अध्यक्ष तथा वडा बालमैत्री समिति अध्यक्ष्य विपेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा बालसञ्जालका बालबालिका तथा किशोरकिशोरी सहभागी थिए । आत्मविश्वास, स्वास्थ्य र नेतृत्व विकासका लागि आफूभित्रको क्षमता बोध विषयक उक्त कार्यक्रममा पहिलो दिन सहभागीहरुलाई आत्मविश्वास, व्यक्तित्व र नेतृत्व विकासकालागि मेडिटेशन सहित आफूभित्रको क्षमता बोध गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रशिक्षक दिक्षा थापाले सहजिकरण गरेकी थिइन् ।
२०७९ माघ १९ र २० गते सञ्चालन भएको व्यक्तित्व विकास कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले भोलिपल्ट ४ समूहमा विभाजन भई पोषणको परिचय र महत्व, किशोरावस्था र पोषणको आवश्यक्ता, पुरक खाना र बालभिटा, आयोडिन विषयमा प्रदर्शनी सहित अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेका थिए । यस अघि ३ दिनको तालिम र १९ गतेको प्रशिक्षण पश्चात सहभागीहरुले स्वअध्ययनले आ–आफ्ना प्रस्तुति गरेका थिए ।
कार्यक्रम वडा बालमैत्री समितिको आयोजना र बल्थली स्वास्थ्य चौकीको सहयोगमा सञ्चालन भएको थियो । बालमैत्री सहजकर्ता कोकिल गिरीका अनुसार वडामा बालमैत्री सुनिश्चितताका लागि यस्ता कार्यक्रमको आवश्यक्ता रहेको बताए । साथै वडाअध्यक्ष लामाले वडामा बालबालिकाको लागि यस्ता प्रशिक्षण कार्यक्रम हुनु राम्रो कुरा भएको र आगामी दिनहरुमा यस्ता कार्यक्रम नियमित हुने बताए । सहभागी बालबालिकाले यस्तो कार्यक्रमले आफूभित्र भएको क्षमतालाई प्रस्फुटन गर्न सहज भएको र यस्ता कार्यक्रम नियमित हुनुपर्ने बताएका थिए ।
प्रतिक्रिया