मलेसियासँग सहकार्य गर्न सदैव तत्पर छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोड दिएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग नेपाली कामदारको हितका पक्षमा छलफल गरेका हुन् ।

उनले भने, ‘मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु । यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ । यो विषयमा मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’
सो भेटमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट बृद्धि गरेर १५ सय बनाएकोमा धन्यवादसमेत दिए । यसका साथै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने विचार व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमान्दारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको संख्या वृद्धि गर्न मलेसिया सरकारलाई आग्रहसमेत गरे ।

उनले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिए । उनले भने, ‘आप्रवासन क्षेत्रलाई थप खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउन मलेसिया सरकारको सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।’ प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यवसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागि समेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले यसबाट श्रमिकहरूलाई समेत उत्प्रेरित गर्ने भनाइ राखे ।

प्रधानमन्त्री प्रचण्डले राखेको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसन इस्मालीले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्र्याउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको विचार व्यक्त गरे । उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिँदै कामदारको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै कामदारलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताए ।

छलफलपछि दुवै पक्षबीच नेपाल र मलेसियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको छ । यसका लागि दुवै पक्षका सम्बन्धित र निकायले आपसी सहकार्य गर्नेछन् ।
भेटका अवसरमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा संवाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकास लगायतका क्षेत्रमा रहेका सम्भावनामा समेत मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको शुक्रबारै उद्घाटन गरेका छन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताए । उनले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

उनले विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गरे । उनले चीन सरकारले भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । उनले भने, ‘नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको छ । साथै, सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखीमा म तपार्इंहरूको साथमा छु ।’ प्रधानमन्त्रीले जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरूसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको बताए ।

उनले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको जिकिर गरे । उनले भने, ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् ।

अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’ उनले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको विचार व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ ।’

उनले शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने जिकिर गरे । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको विचार राखे । ‘शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।’ प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले बोलेका थिए ।

यस्तै, सो समारोहमा संघीय सांसदद्वय माधव सापकोटा र मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाल लगायतको सहभागिता रहेको थियो ।
नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिए । उनले भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको जानकारी दिए ।

प्रतिक्रिया