मलेसियामा कार्यरत नेपाली श्रमिकलाई समान व्यवहार गर्न नेपालको आग्रह

काठमाडौँ । मलेसियामा कार्यरत नेपाली श्रमिकलाई स्वदेशी श्रमिकसरह व्यवहार गर्न आग्रह गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनसँग यस्तो आग्रह गरेका हुन् । काठमाडौंमा भएको औपचारिक भेट तथा छलफल कार्यक्रममा नेपाली पक्षले मलेसियामा रहेका नेपाली श्रमिकहरूलाई स्वदेशी कामदार सरह समान व्यवहार गर्न आग्रह गरेका हुन् ।

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले भेटको क्रममा मन्त्री अर्यालले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सेवा शर्त, स्वास्थ्य सुविधा तथा कार्य वातावरणका सम्बन्धमा स्वदेशी तथा विदेशी कामदारहरुबीच समान व्यवहारका लागि अनुरोध गरेको बताए । भेटको क्रममा नेपाल सरकार र मलेसिया सरकारबीच सम्पन्न द्विपक्षीय श्रम समझदारीको नवीकरण तथा संयुक्त कार्यसमितिको नियमित बैठक गरी श्रमसम्बन्धी सवालहरुको द्विपक्षीय निराकरणका लागि अनुरोध गरेका थिए ।

यसैगरी ‘Fair and Ethical Recruitment Policy’ अर्थात ‘निष्पक्ष र नैतिक भर्ती नीति’ को प्रभावकारी कार्यान्वयन गर्न, सम्झौता बमोजिमका सेवा शर्त तथा सुविधा नेपाली श्रमिकहरुलाई उपलब्ध गराउन, मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा प्रणाली ‘SOCSO’ मा पूर्णरुपमा आवद्ध गराउन, सुरक्षा गार्डमा खटिने नेपाली श्रमिकहरुलाई खटिएको समय र क्षमता अनुसार सम्मान योग्य तलब प्रदान गर्न, औपचारिक माध्यमको प्रयोग गरी रेमिट्यान्स नेपाल पठाउने कार्यमा मलेसियास्थित बैंक तथा वित्तीय संस्थाहरुलाई सहजीकरण गर्ने विषयमा छलफल भएको प्रवक्ता घिमिरेले बताए ।

छलफलको क्रममा मलेसियाका गृहमन्त्री नासुसनले मलेसिया सरकारका तर्फबाट दुइ देशबीच भएको श्रम समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए । मलेसिया सरकारले हालै ल्याएको विदेशी कामदार रिलेक्सन प्लान र रिक्यालिब्रेसन प्लानका सम्बन्धनमा नेपाली पक्षलाई जानकारी गराउनुका साथै उक्त योजना कार्यान्वयनमा सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए ।

नेपालको प्रस्ताव स्वीकार गर्दै नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा, स्वास्थ्य लगायतका अन्य सेवा शर्त प्रवर्द्धनका लागि मलेसिया सरकार प्रतिवद्ध बताएका थिए । द्विपक्षीय श्रम समझदारीको नवीकरण प्रक्रिया अगाडि बढाउन यसै वर्ष नेपालमा संयुक्त कार्यसमितिको बैठक बस्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भेटघाट कार्यक्रममा नेपाल सरकारका तर्फबाट गृह मन्त्रलयका सचिव विनोद प्रकाश सिंह, परराष्ट्र मन्त्रालयका निमित्त सचिव लोक बहादुर थापा एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेसहित उच्च पदस्थ कार्मचारीहरुको उपस्थिति थियो भने मलेसियाका तर्फबाट गृह मन्त्रालयका डेपुटी सचिव, इमिग्रेसन विभागका महानिर्देशक लगायतका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बिहीबार साँझ नेपाल आएका मलेसियाका गृहमन्त्री नासुसन भोलि शनिवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपाल भ्रमणको क्रममा उनले श्रममन्त्रीका साथै प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया