नारायण नगरपालिकाले थाल्यो सडक व्यवस्थित अभियान

दैलेख । नारायण नगरपालिका दैलेखले बजार क्षेत्रको सडक व्यवस्थित गर्ने अभियान सञ्चालन गरेको छ । मंगलबार दैलेख सदरमुकामा रहेको देवकोटा चोकबाट अभियानको थालनी गरेको हो । स्थानीय एनएमबी चोकदेखि देवकोटा चोकसम्मको सडकलाई स्तरोन्नति तथा व्यवस्थित गर्न १ करोड १२ लाखको ठेक्का सम्झौता भई कामको थालनी भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए ।

उनका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालयमार्फत झण्डै एक करोड बराबरको काम हुनेछ । सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा २ करोड ६० लाख बराबरको काम गर्ने लक्ष्य लिएको नगरप्रमुख शर्माले बताए ।


दैलेख सदरमुकाम वर्षातमा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपर्छ भन्ने गुनासो अब धेरै कम आउने अपेक्षा नगरले राखेको छ । साँघुरो सडक त्यसमाथि व्यापारिक सामान सडकसम्मै फैलाउने, घर लगायतका भौतिक निर्माणका सामग्रीले सडक अवरुद्ध भइरहने सदरमुकाममा पैदल आवागमनमा समेत समस्या समाधान गर्ने, सदरमुकामको बीच सडकलाई व्यवस्थित गर्ने, सडकलाई चौडा बनाउने, साँघुरो क्षेत्रलाई फराकिलो बनाउने लगायतका काम नगरपालिकाले सुरु गरेको जनाएको छ ।

मंगलबार देवकोटा चोकस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको क्षेत्रको बाहिरी भाग र चोक आपसासको पेटी जिल्ला प्रहरी कार्यालय अगाडिको भाग भत्काइएको छ । केही दिनभित्र नेपाल प्रहरीको मातहतमा रहेको अगाडिपट्टीको भवनसमेत भत्काइने शर्माले बताएका छन् । नगरपालिकाका प्रवक्ता जनकप्रसाद न्यौपानेले सदरमुकामलाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताए । ‘अब सडकलाई फराकिलो र व्यवस्थित बनाउँदैछौँ, सडकलाई असर गरेको पेटी, घरका सिँढी, भ¥याङ, सार्वजनिक जग्गा ओगटेर बनेका संरचना भत्काउँछौँ,’ उनले भने ।

प्रतिक्रिया