एमालेसँग कुनै हालतमा एकता हुँदैन ‘जबज’ ऐँजेरु हो, सिद्धान्त होइन

अब विगतमा नेकपा एमालेमा बसेर तर मारेका या तर मार्न नपाएकाहरू, आफ्नो स्वार्थ पूरा गर्न मात्र आएका हुन्, भोलिको बाटो जे सुकै होस् भन्ने चिन्तन राखेका छन् भने बेग्लै अवस्था आउँला, तर नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थ र उग्र वामपन्थमा जान नदिने, बिचौलिया, तस्कार तन्त्र र वैदेशिक चलखेल हुन नदिने शात्ता राष्ट्रिय शक्तिको रूपमा लाने हिम्मत गरेर उमेरको उत्तरार्धमा माधव नेपाल, झलनाथ खनालले जुन दृढता देखाउनुभएको छ त्यसको सराहना गर्दै, पार्टीको नीति विचार जनतामा प्रयत्न गर्ने हो भने यो एकीकृत समाजवादीले अभुतपूर्व प्रगति गर्दछ ।

राममणि पोखरेल, पोलिटब्युरो सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)

राममणि पोखरेल पुराना वामपन्थी नेतामा गणना हुने नाम हो । राजनीतिबाट प्रायः निष्क्रिय भएर साहित्यतिर मोडिएको बेला फेरि उनको बाटो बदलिएको छ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एकाएक उनको राजनीतिक सक्रियता बढेको हो । हाल उनी एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य र उदयपुर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा छन् । उनै राममणि पोखरेलसँग सौर्य दैनिकका लागि गरिएको संवादको संपादित अंशः

यो बुढेसकालमा पनि दौडधुपमै हुनुहुन्छ । राजनीतिको नशाले छाडेको छैन अझै ?

म दुर्गम ठाउँमा जन्मेको हुँ । मेरो त्यस्तो विशिष्ट शैक्षिक योग्यता पनि छैन । तर, ज्ञान जान्ने भएपछि कम्युनिस्ट दर्शन, विचारप्रति आकर्षित भइयो । आन्दोलनमा लागियो । जेल सजाय भोगियो, पटकपटक प्रहरी थानामा वयान दिइयो । पार्टीको संगठन विस्तार गर्दै जनतामा गइयो । फलस्वरूप प्रजातन्त्र लोकतन्त्र प्राप्तिमा थोरै भए पनि योगदान पु¥याइयो भन्ने लागेको छ । पार्टीमा पोल लगाउने, खुट्टा तान्ने प्रवृत्ति ज्यादा हुँदो रहेछ । जो निकृष्ट स्वार्थी छ, क्षमता र त्याग छैन, वौद्धिक ज्ञानको अभाव छ, त्यसले बढी पोल लगाउने र चाकरी गर्दछ । दुर्गमको बसाईंकै कारण पनि नेताको वरिपरि घुमेर चाकरी बजाउन सकिएन । विचारको राजनीति गरियो । नेकपा एमालेका पाँचै वटा महाधिवेशनमा सहभागी भइयो । नशा नै भनौँ, पार्टी र विचार त्याग्न सकिएन कहिले अलि सक्रिय कहिले अलि निष्क्रिय भएर पनि घिस्रिन छोडिएको छैन ।

नेकपा एमालेको मूलघर छाडेर किन विभाजित एकीकृत समाजवादीतिर लाग्नुभयो ?

नेकपा एमाले दक्षिणपन्थी बाटोमा प्रवेश गर्ने प्रक्रिया प्रारम्भ त भएको थियो । पार्टीको नवौँ महाधिवेशनपछि यो स्पष्ट दक्षिणपन्थतिर लम्कियो । नेकपा माओवादीसँग एकीकरणपछि यसले क्रान्तिकारी धार लेला भन्ने बुझाइ थियो । तर, त्यस्तो भएन । उल्टै खड्गप्रसाद ओलीले मात्तिएर झण्डै दुईतिहाइ जनमतको उपेक्षा गरेर अहमता प्रदर्शन गर्दै प्रतिनिधिसभा भंग गरे । कुनै बेला राजा वीरेन्द्रले नेपाली जनतालाई एसियाली मापदण्डमा पु¥याउने भनेर घोषणा गरे जस्तै ओलीले जनमत तान्ने र सपना देखाउने समृद्धिको अर्मूत कुरा देखाए । तर, त्यसका पूर्वाधारतर्फ ध्यान दिएनन् । हामीले सोचेका थियौँ, कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनेपछि जनताका बास, गाँस, कपास शिक्षा स्वास्थ्य, सञ्चार, सार्वजनिक यातायात आदिमा जनताको पहुँच हुन्छ । तर, भयो के ? भूपरिष्ठित देशमा पानीजहाजका चुटकिला आए । हाम्रा नेपालका ठूला नदी, कोसी, नारायणी, गण्डकी, कर्णालीमा चल्न सक्ने साना स्टिमरसम्मको चर्चा चलेको भए त हुन्थ्यो, उल्टो अमूर्त कुरा आयो । साहित्यमा लेखिने ‘इम्परर क्लोथ’ जस्तै ।

एमालेले त गरेन, तपाईँको पार्टी एकीकृत समाजवादीले प्रगति गर्ला त ?

–प्रगतिको सवाल यस्तो छ । नेपाली जनताको विश्वास केही होला भन्ने आशा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीसँग टुटेको छ । यी तिनै पार्टीसँग असन्तुष्ट जमात पनि देशमा छ । कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आशा राख्ने वामपन्थीहरू पनि छन् । ती सबैलाई नयाँ कार्यक्रम बनाएर समेट्न सक्नुप¥यो । कम्युनिस्ट आन्दोलनको मूल मुद्दा के हो ? समग्र देशको स्थितिमा यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर बहस हुनुप¥यो । राष्ट्रका मुद्दासँग जोड्नुप¥यो । अहिलेसम्म सरकारमा पटकपटक पुगे पनि त्यो कार्य हुन सकेको छैन । अब विगतमा नेकपा एमालेमा बसेर तर मारेका या तर मार्न नपाएकाहरू, आफ्नो स्वार्थ पूरा गर्न मात्र आएका हुन्, भोलिको बाटो जे सुकै होस् भन्ने चिन्तन राखेका छन् भने बेग्लै अवस्था आउँला, तर नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिण पन्थ र उग्र बामपन्थमा जान नदिने, विचौलिया, तस्कार तन्त्र र वैदेशिक चलखेल हुन नदिने शात्त राष्ट्रिय शक्तिको रूपमा लाने हिम्मत गरेर उमेरको उत्तरार्धमा माधव नेपाल, झलनाथ खनालले जुन दृढता देखाउनुभएको छ त्यसको सराहना गर्दै, पार्टीको नीति विचार जनतामा प्रयत्न गर्ने हो भने यो एकीकृत समाजवादीले अभुतपूर्व प्रगति गर्दछ ।

यति धेरै आशावादी हुनुहुँदो रैछ, पार्टीले राष्ट्रिय पार्टी बन्न ‘थ्रेसहोल्ड’ त कटाउन सकेन ?

हेर्नोस्, पार्टी गठनको छोटै समयमा दुइटा निर्वाचनको सामना गर्नुप¥यो । स्थानीय तहको निवार्चनमा धक्का खाएपछि गठबन्धनमा बढी भरपर्नु हुँदैनथ्यो, परियो । हामी सबै नेता कार्यकर्ताले मम भन्नु पर्दछ । अब पुर्पुरोमा हात राखेर गुनासो गरेर प्रगति हुन्न । जनताका बीचमा जानै पर्दछ । मेरो बुझाइमा पार्टी केन्द्रले देशका प्रदेश र संघमा मिलाएर सबै क्षेत्रमा एक–एक जनाको उम्मेद्वारी दिनै पथ्र्यो । प्रदेश र संघमा पार्टी स्थापित हुन्थ्यो । हाम्रो त कतै उम्मेद्वार भएन, कतै एक जिल्लामा पाँच जना बनाइयो, चुक्यौँ यहीँ । सामानुपातिक उम्मेद्वारलाई प्रदेश र केन्द्रले एक चरणको प्रशिक्षण गर्न सक्नुपर्दथ्यो । त्यस्तो व्यवस्थापन भएन । गठबन्धनको संस्कृति हाम्रा लागि नौलो थियो । विगतकालमा भएका निर्वाचनमा अन्य पार्टीलाई गाली गरेका शब्दहरू जनताका कानमा तातै थिए । प्रत्यक्ष उम्मेदवारलाई भोट माग्न आमसभा ग¥यो, समानुपातिकलाई हात जोडेर परिचय दिन मात्रै लगाइन्छ । अनि कसरी भोट आउँछ ? त्यही कारण हामी कमजोर भयौँ । अर्कोतिर हाम्रो पार्टीको चुनाव चिन्ह नौलो छ, चिनाउन विशेष मिहिनेत गर्न पर्छ भन्ने सोच त बन्यो तर कार्यान्वयन भएन ।

राजधानीका धेरै बुद्धिजीवी भन्दछन्, माधव नेपालले पार्टी फुटाउनुको औचित्य सावित गर्न सकेनन् । यस्तो हो त ?

होइन । औचित्य प्रमाणित भइसकेको छ । हेर्नाेस्, नेपाल ती तथाकाथित बुद्धिजीवीको प्रमाणपत्रका भारी बोकेका व्यक्तिहरू कि त महेन्द्रमाला पढेका छन् । महेन्द्र मालाको अर्थ (०३०÷०४८) सम्मको अवधि पढेका प्रमाण पत्र लिएका बुद्धिजीवी । अर्काखाले बुद्धिजीवी स्वार्थी र किलो ठोकिएका बुद्धिजीवी छन् । तराईमा किसानले भैँसी पाल्दछ । दिउँसो पोखरी छेउ या अन्य चौरीमा पगाहा लाउँदछ । त्यो पगाहाको डोरीले पुग्ने ठाउँ सम्मको घाँस चर्दछ, पगाहाको डोरी नपुग्ने ठाउँमा जतिराम्रो घाँस भए पनि चर्न सक्तैन । नेपालका अधिकांश बुद्धिजीवी त्यही मर्काका छन् । महेन्द्रमाला पढ्नेले बहुदलीयता बुझेकै छैनन् । त्यही अनुकूल व्याख्या विश्लेषण गर्दछन् र त्यसैमा रमाउँछन् ।

ठीक छ, फुट्नु हुँदैन थियो, औचित्यता सावित गर्न सकेनन्, भनेर तर्क दिनेहरूलाई म सम्झाउन चाहान्छु कि अघिल्लो दिन लोसपा र अन्य दलका नेतालाई कानुन र विधिभन्दा फरक तरिकाले १३ जनालाई मन्त्री बनाएर केपीले त्यसको दोस्रो दिन माधव नेपाललगायत अन्य १४ जना आफ्ना पार्टीका नेता कार्यकर्तालाई कारबाही गरे । के खड्गप्रसाद ओलीको यो कदम उचित थियो ? उनी सिंहदरबार अगाडि निर्वस्त्र उभिए भने पनि पराक्रमी हुने ?

नेपालको कम्युनिस्ट आन्दोलनलाई यो ठाउँसम्म संघर्षमार्फत ल्याउने श्रेय माधव नेपाल र झलनाथ खनाललाई छ । पछिल्लो चरणमा सरकारमा पुगेर कम्युनिस्टहरू असल हुन्छन् देशको विकास र सामाजिक न्याय उनीहरूबाटै हुन्छ भन्ने विचार व्यवहार मनमोहन अधिकारीको पहलमा ज्येष्ठ नागरिक भत्ता र एकल महिला भत्ताबाट र तत्कालीन अर्थ मन्त्रीले प्रवाह गरेको ‘नौ’स र तीन लाखले हो । केपी ओलीको चुट्किला र उखान तुक्काले होइन ।

केपी ओलीलाई मात्रै गाली गरेर पार्टी बन्छ त ?

खड्गप्रसाद ओलीले कम्युनिस्ट आन्दोलनको एकतामा घात गरे । ०१८ सालमा भएको तेस्रो महाधिवेशनपछि विभाजित कम्युनिस्ट पार्टीका विभिन्न भंगालाहरू एक भएका थिए । खड्ग प्रसादले टुक्राए । लामो समयको प्रयत्नबाट स्थापित धर्मनिरपेक्षता संघीयता, समावेशिता, समानुपातिकमा घात गर्न खोजे । आफैँ दक्षिण पन्थी हुँदै गए । कात्तिक ५ गते सामन्त गोयललाई भेटेर, प्रतिनिधिसभा भंग गर्ने योजना बनाए, जो प्रमाणित भयो । दुई महिनापछि भंग गरेरै छाडे । भारतीयहरूको चाहाना थियो, कुनै पनि कारण देखाएर, ०७२ सालको नेपालको संविधानलाई दोषी देखाउँ । त्यसको सहयोगी खड्गप्रसाद भए । प्रतिनिधिसभा भंग गरेर चुनाव घोषणा गराउने जनता र दलहरू त्यतै मोडिन्छन् र अरू जालजुक्ति अपनाउन भारतीयहरू खोज्दै थिए । दलहरूले सरासर संसद् विघटन स्वीकारेर चुनावमा जान तत्काल चाहेनन् । आन्दोलन भयो । भारतीयहरूले हात झिके । देशमा यस्ता ज्वलन्त उदाहरण देख्दादेख्तै पनि औचित्य सावित भएन भन्नेहरूको मानसिकता कस्तो हो ? म सोध्न चाहान्छु, निरंकुश पञ्चायतकालमा ज्यान जोखिममा पारेर पार्टी विस्तार गर्ने झलनाथ खनाल, प्रजातान्त्रिक कालमा पार्टीलाई लोकप्रिय बनाउन लागिपर्ने माधव नेपालले खड्गप्रसाद ओलिसामु हात जोडेर घुँडा टेकेर माफी माग्नु पर्दथ्यो ? सैद्धान्तिक वैचारिक र कार्यनीतिमा मतभेद भएपछि पार्टी विभाजन हुन्छ । भयो ।

के नेकपा एमालेमा एकीकृत समाजवादीको विलय या पार्टी एकता होला ?

भन्नेहरू त भन्छन् सम्भव छ, वामदेव गौतम चार वर्षमै एमाले आएका थिए । यस्तो तर्क गर्नेहरूका लागि यो अँध्यारोमा हात्ती छामेजस्तो हो । प्रत्येक मानिसले कुरा केलाउन र इतिहासको विश्लेषण गर्न सक्नुप¥यो । जुनबेला वामदेव गौतम, नेकपा एमालेबाट बाहिरिनु भो, त्यसबेला नेकपा एमाले मनमोहन अधिकारीको अल्पमतको सरकारले दिएको ज्येष्ठ नागरिक र एकल महिला भत्ता र अर्थ मन्त्रीको ‘नौ’सको कार्यक्रमले लोकप्रिय बनेको थियो । अहिले एमाले भ्रष्ट, विचौलिया, तस्कार, कालो बजारीयाको अखाडा र सांस्कृतिक रूपले विचलितहरूको जमात भएको छ । तपाईं आफँै सोध्नुस् त, यदि खड्गप्रसाद ओली, झापाका सामन्त धर्मप्रसाद ढकालको हत्याकाण्डमा मुछिएर जेल नपरेका भए, खरदार सुब्बा या मन्दिरका पुजारी हुन्थे । जेलजीवन भोगे, मानिसको सहानभूति भयो । पार्टीका महाधिवेशनमा दस्तावेज मस्यौदा समितिमा बसे, थोरबहुत माक्र्सवादको अध्ययन भयो । यस्तै हुँदा हुँदै पनि सत्तामा पुगेपछि आफ्नो पार्टीको उद्देश्य बिर्सेर १ सय ८ किलो सुनको गजुर बनाएर पशुपतिमा चढाउन लागे । ठोरीमा राम जन्मभूमि भनेर तमासा देखाए । यो कुन माक्र्सवाद हो यो ? देशमा गरिबीले मुख बाएको छ । खान नपाए सर्लाहीमा देवकी मण्डलले परिवारसहित आत्महत्या गरिन् । कम्युनिस्ट पार्टीको नेता सत्तामा पुगेर कमजोर अर्थतन्त्रलाई गलत ठाउँमा प्रयोग गर्छ र अझ कमजोर पार्छ । अर्काे कुरा बताउँ ? नेकपा एमालेजस्तो दक्षिणपन्थी भासमा गएको शक्तिसँग कुनै हालसम्मा एकता हुन सक्दैन ।

अनि तपाईंहरूको संगठनले काम गरेका छन् त ?

–हो, हाम्रा संगठनहरूबाट पनि सोचेजस्तो काम हुन सकेको छैन । हाम्रा संगठन भद्दा भएकै हुन् । यो परम्परा ०५४ सालबाट कम्युनिस्ट पार्टीमा भित्रियो । नेकपा एमालेबाट वामदेव गौतम र चन्द्रप्रकाश मैनाली फुटेर (नेकपा माले) बनाए । समानान्तर कमिटी बनाउने क्रममा कमिटी भद्दा बनाइएका हुन् । अझै माओवादी विद्रोह कालमा बम हान्न जाने लडाकुलाई माओवादीले जिल्ला कमिटीसँग सदस्य भइस् भनिदिए । उनीहरूले बनाएका भद्दा कमिटीको सिको सिकेर हामीले पनि ठूला कमिटी बनायौँ । पछिल्लो चरणमा नेकपा एमालेबाट विद्रोह गरेपछि हामीले पनि त्यै सिको, देखासिखी गर्न पुग्यौँ । संगठनहरू चुस्त र काम काजी बनाउनुपर्ने खाँचो छ ।

राजनीतिमा निष्क्रिय भएर साहित्य लेख्न थालेको यो पाको उमेरमा बढीमा सल्लाहकार दिनुपर्ने तपाईंलाई जिल्लाको अध्यक्ष र पोलिटब्युरो सदस्य बनाइनुमा माधव नेपाल निकट भएर मात्रै सम्भव हो भन्ने आरोप पनि छ नि ?

उमेरका कुराभन्दा पनि कामको विचारको सक्रियता हो । मलाई पोलिटब्युरो कसले कसरी लगे, जानकारी नै छैन । एकैचोटी बैठकको सूचना आयो । गए, सहभागी भए । प्रथम बैठकमा बोलिनँ । दोस्रो तेस्रो बैठकमा आफ्ना समस्या राख्ने थालेको छु ।

जहाँसम्म जिल्ला अध्यक्षको कुरा छ, म राजनीतिमा अलि निष्क्रिय भएकै हुँ, ढाँट्ने कुरा भएन । एकीकृत समाजवादीको गठन गरेर जगन्नाथ, बलदेवजीहरू जिल्ला जानुभयो । जिल्लामा एमालेवालाहरूले एकीकृत समाजवादीको जिल्ला कमिटी बन्नै नदिने, हल्ला मच्चाए । जो एकीकृत समाजवादीको अध्यक्ष बन्छ, त्यसलाई जालजुक्ति लगाएर अपहरण गर्नु पर्दछ भन्ने चर्चा चल्यो । मेरा कानमा कुरा आयो । खल्लो त लाग्यो । जगन्नाथजीले प्रस्ताव ल्याउनुभयो । म ०४८ सालको एमालेको प्रथम सचिव २८ वर्षपछि साथीहरूले विश्वासले दिएको जिम्मेवारी स्वीकार गरें । ०७८ भदौ २३ गते म जिल्ला कमिटीको अध्यक्ष बनेँ ।

७५ वडा भएको जिल्लामा ५३ वडामा कमिटी बनाइएको छ । स्थानीय तहको निर्वाचनमा एक पालिकाको अध्यक्ष र जिल्लाको समन्वय प्रमुख आफ्नो पार्टीको बनाउन सफल भयाँै । १८ वटामा गाँसिएर नसस जितिएको छ । कतिपय जिल्लामा १८ को आधा नौ वडा जित्ने नसकेका जिल्ला पनि छन् । चित्त बुझाएको छु । संघीय चुनावमा जित्ने लहर थियो । गठबन्धनमा नेकपा माओवादीका केन्द्रीय सदस्य पूर्वमाननीय सुरेश राईले आफूले टिकट नपाएको रिसमा नेपाली कांग्रेसका एक जना राम राई नामक व्यक्तिलाई स्वतन्त्र उठाएर हराउन भूमिका खेल्नुभयो । तैपनि एकपल्ट माधव नेपालले कटारी टेकी दिनुभएको भए, जितिन्थ्यो । थोरै मतले हारिएको हो । जहाँसम्म तपाईंले माधव नेपाल निकट भएका कारण जिम्मेवारी पाएको भन्नु भो, म यो तर्कलाई अस्वीकार गर्दछु । संगठन विस्तारका निम्ति मलाई जिम्मेवारी दिइएको हो ।

पहिला जनताको बहुदलीय जनवादलाई देवत्वकरण गर्ने अहिले नेकपा एमालेलाई गाली गरेर मात्रै कम्युनिस्ट आन्दोलन हाँकिएला त ?

धेरै मान्छेहरूले ‘जबज’ को औचित्य सकिएको थाहै पाएका छैनन् । माक्र्सवादी दर्शनका आधारमा विश्लेषण गर्ने हो भने बहुदलीय जनवाद नै हुँदैन । कि त पुँजीवाद हुन्छ, पुँजीवादीको नेतृत्वमा कि त नयाँ जनवाद हुन्छ, कम्युनिस्ट पार्टीको नेतृत्वमा । ‘जबज’ त ऐँजेरु नै हो, यो कुनै सिद्धान्त होइन । पाँचौँ महाधिवेशनपछि पार्टी सदस्यता पाएका व्यक्तिहरू दश प्रतिशत मात्र असल छन् बाँकी राजनीतिबाट बाहिरका ठेकदार, भ्रष्टाचारी, तस्कार र बिचौलिया छन् ।

०४६ सालको आन्दोलनको पञ्चायत फ्याक्यो । कांग्रेस र कम्युनिस्ट दुवै दल मिलेर संघर्ष गरियो । सत्ताको बागडोर नेपाली कांग्रेसलाई मात्र दिनु हुँदैन भनेर चुनावी र कार्यनीति हिसाबले मदन भण्डारीको अगुवाइमा कार्यक्रम आयो । मदन भण्डारी संस्कृत पढेका, आफूलाई लागेको कुरा भन्न सक्ने आत्मबल भएका व्यक्ति हुनुहुन्थ्यो । जबजको पूर्ण व्याख्या गर्न नपाउँदै अल्पआयुमै उहाँको मृत्यु भयो । यो जबजलाई उहाँले कसरी व्याख्या गर्नुहुन्थ्यो ? जनता र कार्यकर्ताले बुझ्ने मौकै पाएनन् ।

नेकपा एमाले नेता र कार्यकर्ताले जबज उल्टो अर्थ बुझे । एमाले अल्पमतको सरकारको ज्येष्ठ नागरिक भत्ता, एकल महिला, अपांग भत्ताले र नौ‘स’को कार्यक्रमअन्तर्गत तीन लाख रुपैयाँ गाविसमा दिएकाले लोकप्रिय भएको हो, जबजले होइन । जबजले त देशव्यापी विकृति ल्यायो । सरकारमा जान ज्यानमारा, डकैतसँग पनि मिल्ने भनेर । समग्रमा यो तथ्य हो । नेताका कमी कमजोरी केलाउने हो भने जबजको देवन्त करणमा झलनाथ खनाल र भरत मोहन अधिकारीलाई दोष दिनुपर्दछ ।

झलनाथ खनाल माक्र्सवादी व्याख्याकाण्ड विश्लेषक हो । उहाँले ‘जबज’ का त्रुटी नपुग के के हुन् ? सैद्धान्तिक धरातल उभिएर प्रष्टाउन सक्नुहुन्थ्यो । पदको लोभले जसले जे भनेर व्याख्या गरे पनि सुनिरहनुभयो । एउटा करण यो हो भने अर्काे भरतमोहन अधिकारी पुँजीवादी प्रजातन्त्रको राम्रो विश्लेषक हो, माक्र्सवादको सामान्य हो । जबकी ‘जबज’ मा त पुँजीवादी अवधारणा व्याप्त छन् । तिनलाई नयाँ जनवादसँग जोडेर समानता र भिन्नताका बारे पदको लोभले उहाँले व्यक्त गर्ने र चाहानुभएन । माधव नेपालको समन्वयकारी भूमिका हो, उहाँ व्याख्याकार होइन । खड्गप्रसाद ओलीले त पाँचौँ महाधिवेशनपछि पदीय हिसाबले दस्तावेज पढ्न र लेख्न सिक्ने मौका पाएको । अरू सबै पुराना पिढीका नेताहरू डोरिँदा आएका हुन् ।

प्रतिक्रिया