कल्याणको सम्झना र उनको त्याग

० जतिबेला झुर्झुरेमा भिडन्त भयो त्यहाँ २६ जना लडाकुको सहादत भएको थियो । उनी कल्याण प्रताप ब्रिगेडको सहकमीसार थिए । यसरी इतिहासमा एउटा योद्धाको अवसान भयो । अहिले सत्तामा रहेका माओवादी केन्द्र निकट नेता कार्यकर्ताको दिलदिमागबाट यस्ता योद्धाहरु हराउनु दुःख लाग्दो विषय हो

काशीनाथ जन्मिए हुर्किएको गोरखाको तान्द्राङ काउलेमा उनीलगायत झण्डै एक दर्जन सहिदहरु छन् र यतिबेला उनीसँगै एउटै कमिटीमा रहेका साथीहरु पालिका अध्यक्ष, प्रदेश सभामुखसमेत छन् तर किन भगवतीले एक्लै स्मृति दिवस मनाइरहेकी छन् भन्ने प्रश्न मलाई मात्र होइन माओवादी आन्दोलनका धेरै समर्थकलाई बिझाउने सवाल हो

आफ्नै घरको कोठामा जीवनसाथीको तस्बिरमा एक्लै माल्यार्पण गरेर स्मृति दिवस मनाएको एउटा चित्र देखेर एकछिन भावुक भएँ । २०६२ माघ ७ गते मकवानपुरको झुर्झुरेमा सहादत लिएका ती योद्धा काशीनाथ लामिछाने थिए । उनकी जीवनसंिगनी भगवती लामिछानेले फूल माला चढाउँदै गरेको तस्बिर देखेपछि म अतिततिर फर्किएँ । काशीनाथका दम्पत्तिलाई म नजिकबाट चिन्दछु । तात्कालीन नेकपा शान्ति सम्झौतामा आएपछि शक्तिखोरमा रहेको जनमुक्ति सेनाको ब्यारेकमा क. कल्याणको सालिक राखिएको थियो । जनमुक्ति सेनाको एउटा ब्रिगेडलाई अनिश–कल्याण स्मृति ब्रिगेड नाम दिइएको पनि थियो ।

– मोदनाथ मरहट्टा

जनमुक्ति सेनाको बिसर्जनपछि ती सालिक त हराए हराए उनीहरुलाई सम्झने परम्परा पनि हराए । माओवादी विद्रोहमा सहादत हुने कल्याण एक्लो पात्र त होइनन झण्डै बाह्र हजार योद्धाको रगतले अहिलेको माके यो अवस्थामा पुगेको हो । तर त्यो पार्टीभित्र अहिले जनयुद्धमा सहादत लिने योद्धाहरु एकादेशको कथा बनेको छ । सहादत भएका आफ्ना आफन्तको सम्झना गर्ने भगवती एक्लो होइनन थुप्रै सहिदका बाआमा वा छोराछोरी र आफन्तहरुको अवस्था त्यही हो ।

काशीनाथ जन्मिए हुर्किएको गोरखाको तान्द्राङ काउलेमा उनीलगायत झण्डै एक दर्जन सहिदहरु छन् र यतिबेला उनीसँगै एउटै कमिटीमा रहेका साथीहरु पालिका अध्यक्ष, प्रदेश सभामुखसमेत छन् तर किन भगवतीले एक्लै स्मृति दिवस मनाइरहेकी छन् भन्ने प्रश्न मलाई मात्र होइन माओवादी आन्दोलनका धेरै समर्थकलाई बिझाउने सवाल हो । अहिले गोरखा जिल्लाका थुप्रै पालिकामा माकेको नेतृत्वमा स्थानीय सत्ता सञ्चालन भएको छ तर सहिदहरुप्रति खासै गम्भीर छैनन भन्ने यो चित्रले स्पष्ट पार्छ ।

को हुन् काशीनाथ अर्थात् कल्याण

पिता पदमप्रसाद र माता हिमकुमारीको कोखमा दोस्रो सन्तानको रुपमा २०२० साल साउनमा जन्मिएका उनको अभावै अभावमा बाल्यकाल बितेको थियो । पदमप्रसादसित पैत्रिक सम्पत्तिको पहुँच थिएन । तर असाध्यै श्रमशील थिए । आफ्नै आर्जनको कोदो कोइरालोले लामिछाने दम्पत्तिले चार सन्तान हुर्काए । काशीनाथ सानैदेखि श्रमप्रति इमान्दार र मिहिनेती थिए । गाउँको सिद्धकाली प्राविबाट कक्षा पाँच उत्तीर्णपछि नजिकै रहेको दुल्लभ माविबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरी उहीँ सिद्धकाली प्राविमा शिक्षण गर्न थाले ।

गाउँले जीवन घरपायकी जागिरको साथसाथै अतिरिक्त उत्पादनतिर उनको ध्यान गयो । कुखुरा तथा पशुपालनमा परिवारलाई अभ्यस्त बनाउँदै अन्य उपायको खोजीमा लागे । तान्द्राङको काउले उत्तरी ढलोको सेपिलो जमिन र रातो माटोमा सुन्तला खेती उनले सुरुवात गरे । उनलाई पछ्याउँदै गाउँका अन्य किसानले पनि सुन्तला खेती गर्न थाले । शिक्षण पेशामा प्रवेशसँगै भगवतीसँग उनी विवाह बन्धनमा बाँधिए । उनीहरुका तीन छोरी र एक छोरा छन् ।

राजनीतिमा लगाव

दुल्लभ माविमा प्रवेश गरेसँगै उनीमा राजनैतिक चेतना सुरु भयो । पञ्चायती व्यवस्थाको ढलिमली भइरहेको त्यो समयमा विद्यालयमा भने कांग्रेस समर्थक विद्यार्थीको बाहुल्यता थियो । उता आफ्नो गाउँघरमा भने यदु भट्ट र वीरेन्द्र पोखरेल जस्ता पञ्चको प्रभाव थियो । शिक्षण पेशामा प्रवेश गरेसँगै नेरासिशंको प्रभाव उनीमा परेको थियो । यस्तैमा पञ्चायतविरोधी आन्दोलन गाउँगाउँ फैलियो । ठिक यिनै दिनमा गाउँका उत्साही युवाहरु मिलेर काउलेमा नै विद्यालय सञ्चालन गरे । सो विद्यालयमा स्थायी शिक्षक बनेर मोदनाथ मरहट्टा आइपुगे । पञ्चायतको अन्त्यतिर कांग्रेस कि कम्युनिस्ट भन्ने अलमलमा गाउँका युवा थिए तर मरहट्टाको आगमनले सबैजसो युवालाई कांग्रसविरुद्ध गोलबन्दी ग¥यो । विसं. २०४७ को भाद्रमा काशीनाथलगायत केही युवा नेकपा मशालमा जोडिए । गाउँमा तीब्ररुपले विचारको विकास भयो ।

शिक्षणका अतिरिक्त काशीनाथले पशु उपचार र फलफूल बालीमा लाग्ने रोग र रोकथामबारे तालिम पनि लिए । यसले गर्दा धेरै कृषकहरुसित उनको सम्बन्ध स्थापित भयो । साथै गाउँका उत्साही युवा लोकप्रसाद बन्जारा कर्मचारी आन्दोलनमा जागिर गुमाएका कृष्ण धिताल र तिनै मरहट्टाको सयुंक्त टिमले वरपर सम्पर्क संगठनको बिस्तार भयो । २०४९ सालको स्थानीय निर्वाचनमा स ज मो ले सो क्षेत्रमा जित हासिल गरेपछि सिंगो गाउँ माओवादीमय बन्यो । २०५१ को मध्यावधि निर्वाचनको सशक्त बहिस्कारपछि सो गाउँमा प्रशासनको आँखा पर्न थाल्यो । यिनै दिनमा गोरखाको वर्गसंघर्षमा अग्रस्थानमा रहेको खुट्टेखेत संघर्षमा समेत काशीनाथहरुको नेतृत्व हावी भयो ।

०५२ फागुनबाट सुरु भएको माओवादी आन्दोलनले काशीनाथलाई भूमिगत हुन बाध्य बनायो । शारीरिक रुपमा उनी तन्दुरुस्त र निकै फुर्तिला भएका कारण फौजी संगठनमा सहजै प्रवेश पाए । उनी जनमिलिसियाको कमाण्डमा रहँदै गर्दा २०५४ चैत्रमा गोरखाको हँसपुरबाट गिरफ्तारीमा परे । उनी गोरखा जेल हुँदै वीरगञ्ज जेल सारिए । वीरगञ्ज जेलमा नाइके र चौकीदारहरुको अत्याचार थियो । त्यस अत्याचारविरुद्ध उनको नेतृत्वमा चर्को संघर्ष भयो । गाउँमा रहँदा काशीनाथको विचारसँग असहमत हुने किसानहरु पनि काशीनाथको व्यक्तिगत आनीबानीसँग सहमत थिए । त्यसैगरी वीरगञ्ज कारागारभित्र विभिन्न मुद्धामा बन्दी बनेका व्यक्तिहरु पनि काशीनाथको वानी व्यवहारले प्रभावित भए ।

जेलभित्रको आन्दोलन दमन गर्न प्रशासनले बल प्रयोग ग¥यो जसका कारण उनी सख्त घाइते भए ।

२०५८ को पहिलो वार्ताकालमा उनी जेलमुक्त भए र पार्टी मोर्चामा जोडिए । उनी मध्य कमाण्डको फौजी मोर्चामा खटिए र मध्य कमाण्डको विभिन्न फौजी योजनामा संलग्न भए । पार्टीको योजना अनुसार मध्यक्षेत्रबाट पूर्वतर्फ बढ्दै गर्दा मकवानपुरको फापरबारी इलाकामा शाही सेनाको आक्रमणमा सहादत लिए । जतिबेला झुर्झुरेमा भिडन्त भयो त्यहाँ २६ जना लडाकुको सहादत भएको थियो । उनी कल्याण प्रताप ब्रिगेडको सहकमीसार थिए । यसरी इतिहासमा एउटा योद्धाको अवसान भयो । अहिले सत्तामा रहेका माओवादी केन्द्र निकट नेता कार्यकर्ताको दिलदिमागबाट यस्ता योद्धाहरु हराउनु दुःख लाग्दो विषय हो ।

प्रतिक्रिया