कालीकोट । एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटासले गाउँ स्वच्छता शिक्षा कक्षा सहजकर्ताका लागि तीनदिने तालिमको आयोजना गरेको छ ।
खानेपानी तथा सरसफाईका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको वार्म पी हेल्भेटासले महिला स्वास्थ्य स्वयंसेविका तथा खानेपानी योजना सूचारु हुन लागेका क्षेत्रका महिलाहरुलाई खानेपानी तथा सरसफाई सम्बन्धिका विभिन्न जानकारी गराउने तथा डेमो प्रर्दशन गरी महिलाहरुलाई सहज गराउने उद्देश्य तालिमको रहेको छ ।
वार्म पी हेल्भेटासका फिल्ड अफिसर नरेश दर्जीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साक्षरता स्वच्छता कक्षा सञ्चालन गर्न सक्षम बनाउने, नेपाल सरकारले लिएको पूर्ण सरसफाईको लक्षलाई पुरा गर्न महिला स्वास्थ्य स्वयंसेविका वा स्वच्छता साक्षरता कक्षा सहजकर्ताहरुलाई परिचालन गरी सहयोग पुर्याउने र गाउँ घरमा आफ्नो तहबाट गर्न सकिने स–साना अभ्यास सामाजिक परिचालनद्वारा गर्दै आफ्नो क्षेत्रलाई स्वच्छ,सफा बनाउन सहयोग गर्ने उद्देश्य तालिमको रहेको फिल्ड अफिसर दर्जीले बताए ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले स्वच्छता साक्षरता कक्षा सञ्चालन गर्ने विधि, साबुनपानीले हात धुने अभ्यास, घरभेट फारम र स्टिकरबारे महिलाहरुलाई जानकारी दिने यस तालिमको लक्ष रहेको बताए ।
शाहीले सरसफाई नै सवैभन्दा ठूलो धन भएकाले सबैले तालिमलाई महत्वपूर्ण तरिकाले सिक्नुपर्नेमा जोड दिए । तालिममा ४ स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकासहित खानेपानी योजना लागू भएका क्षेत्रमा महिलाहरुलाई तालिम दिइएको हो । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
पानी सुद्धिकरण विधिको छलफल तथा फिल्टर जोड्ने र सफा गर्ने विधिको अभ्यास र घरेलुस्तरमा बनाउन सकिने कपडाको प्याड बनाउने अभ्यासबारे महिलाहरुलाई प्रशिक्षण गराइने छ । सरसफाईको परिचय, आफ्नो समुदायको विद्यालयको एवं वडा पालिकाको प्रयासमा सरसफाईमा हालसम्म आफ्नो गाउँठाउँमा अबलम्बन गरिएका कृयाकलपाहरुमा सहभागिबाट प्रस्तुतिकरण तथा छलफल गरिनेछ ।
पूर्ण सरसफाईको परिचय र यसका सुचकहरु पाँच पलस एक बारे जानकारी गराउने प्रशिक्षक पुर्णिमा रानाले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन वार्म पी हेल्भेटासका सामाजिक सहजकर्ता गणेश विष्टले गरेका छन् ।
तालिममा नरहरीनाथ गाउँपालिकाका १२ जना, शुभकालिका गाउँपालिकाका ७ जना, खाँडाचक्र नगरपालिकाका २ जना र रास्कोट नगरपालिकाका ७ जना महिला स्वास्थ्य स्वयंसेविका र अन्य सहभागी गरी ३० जना तालिममा सहभागी छन् । खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्य तथा कोषाध्यक्ष दिलिपकुमार शाहीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कालिकाेट
प्रतिक्रिया