विमानस्थलमा भीम रावल र मुख्यमन्त्री रावलबीच जम्काभेट

धनगढी । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावल र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच जम्काभेट भएको छ । बिहीबार दिउँसो धनगढी विमानस्थलमा रावलद्वयको जम्काभेट भएको हो । भेटमा नेता रावलले मुख्यमन्त्री रावललाई बधाई दिएका थिए । त्यसपछि मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञासा राखेका थिए । मुख्यमन्त्री रावल बिहीबार काठमाडौँबाट धनगढी आउने क्रममा उनीहरूको भेट भएको हो ।

नेता रावलसँग धनगढी विमानस्थलको विशिष्ट कक्षमा उहाँहरूबिच केही कुराकानी पनि भएको थियो । भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिँदै हुनुहुन्छ ? भनेर प्रश्न गरेका थिए । त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरूसँगको छलफलपछि विश्वास मत लिने बताएका थिए ।

यस्तै उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको कुरा पनि बताएका थिए । गृह जिल्ला अछाम पुगेर श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँतर्फ फर्किरहेका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका थिए । विशेष गरी उनले बाढी पहिरो प्रभावितहरूका लागि राहतको विषयमा केन्द्रित भएर प्रदेश सरकारबाट गर्न सकिने कामका लागि अनुरोध गरे ।

‘अघिल्लो वर्षको बाढीले अछाममा ठुलो क्षति भएको छ। त्यो क्षतिबारे जानकारी गराएर अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,’ रावलले भनेका थिए, ‘तर अहिलेसम्म समस्या समाधान गर्न खासै पहल भएको छैन । तपाई आउनुभएको छ । यो कुरालाई प्राथमिकता दिनुहोला ।’ जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने बताए ।

नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले विश्वासको मत लिन बाँकी छ । उनले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । उनी निर्णायक नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने मुडमा छन् । सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित मुख्यमन्त्री रावल काठमाडौँ गएका थिए । त्यस क्रममा रावलले काठमाडौँमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबिच भेटघाट गरेका थिए ।

भूकम्पको क्षति विवरण माग

यस्तै मुख्यमन्त्री रावलले सुदूरपश्चिम फर्केपछि डिआइजी अशोक सिंहबाट भूकम्पको क्षतिको विवरण मागेका छन् । उनले विमानस्थलमै विवरण लिएका हुन् । उनले डिआइजी सिंहलाई भूकम्पको केन्द्रबिन्दु बाजुराको बिच्छ्याको पछिल्लो अवस्था, त्यहाँ प्रहरी पुगे-नपुगेको जानकारी तथा क्षतिको जानकारी लिए । डिआइजी सिंहले बिच्छ्यामा केही भौतिक संरचनामा सामान्य क्षति भएको र केही भेडा मरेको तर मानवीय क्षति भने नभएको जानकारी मुख्यमन्त्री रावललाई गराए ।

प्रतिक्रिया