प्योङ्याङमा ‘लकडाउन’

प्योङयाङ । देशमा श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ । गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको उत्तरकोरियाले बुधबारदेखि लागू हुनेगरी राजधानीभर बन्दाबन्दीको आदेश जारी गरेको हो । प्योङ्याङका बासिन्दालाई आजदेखि आगामी आइतबारसम्म घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारले जारी गरेको सूचनालाई उद्धृत गर्दै सोलस्थित एनके न्युजले जनाएको छ । राजधानीमा फैलिएको रोगलाई कोडिभ–१९ नभनी त्यसलाई रुघाखोकीका रूपमा चित्रण गरिएको छ । राजधानीमा बन्दाबन्दीको आदेश जारी हुने अनुमान गर्दै नगरबासीले दैनिक आवश्यकताका वस्तु भण्डारण गरेको भोलिपल्ट सरकारी आदेश जारी भएको हो ।

राजधानी प्योङ्याङमा मात्र लकडाउन गरिएको हो वा देशका अन्य शहरमा पनि त्यो लागू गरिएको हो भन्नेबारेमा स्पष्ट गरिएको छैन । राज्य नियन्त्रित सञ्चारमाध्यमले पनि यससम्बन्धमा केही उल्लेख गरेका छैनन् । कोरियाली प्रायद्वीपको यो देशमा निरन्तर तापक्रम घटिरहेको छ । हाल यहाँको तापक्रम माइनस २२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

उत्तर कोरियाको छिमेकी तथा प्रमुख व्यापारिक साझेदार चीनले हालै कोभिडविरुद्धको शून्य नीति परित्याग गरेको छ । केही अघि चीनका अस्पताल बिरामीले भरिभराउ भएका थिएभने अन्त्येष्टिस्थलमा ठूलो सङ्ख्यामा शव ल्याइएका थिए । चीनबाट आफ्नो भूमिमा सङ्क्रमण फैलिन नदिन प्रारम्भदेखि नै उत्तर कोरियाले कठोर नीति अवलम्बन गरेको थियो । यद्यपि उसले चीनसँगको व्यापारलाई अनुमति दिएको थियो । उत्तर कोरियाले गत एप्रिलमा कोरोनाको प्रकोपले देशलाई गाँजेको स्वीकार गरेको थियो तर तीन महिनापछि चमत्कार भएको भन्दै महामारीबाट मुक्त भएको घोषणा गरेको थियो ।

कोरोनासम्बन्धी उत्तर कोरियाली तथ्याङ्क तथा महामारी नियन्त्रणमा आएको भनाइलाई लिएर विशेषज्ञ तथा विश्व स्वास्थ्य सङ्गठनले लामो समयदेखि प्रश्न गरिरहेका छन् । विज्ञहरूका अनुसार उत्तर कोेरियाको स्वास्थ्य सेवा प्रणाली कमजोर छ । अस्पतालहरूमा पर्याप्त उपकरण छैनन् भने अस्पतालहरूमा सघन उपचार कक्ष पनि सिमित छन् । साथै त्यहाँ कोभिड–१९ को उपचार गर्ने औषधिको पनि अभाव छ । दुई करोड ५० लाख जनसङ्ख्या भएको उत्तर कोरियामा कुनै नागरिकले कारोनाविरुद्ध खोप लगाएनलगाएको भन्न कठिन छ । चीनबाट केही मात्रा खोप प्राप्त भएकाले केही नागरिकले खोप लगाएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया