बालबालिकासम्बन्धी अपराध न्यूनीकरणको लागि प्रहरीलाई तालिम

कालिकोट । नेपाल प्रहरीमा कार्यरत अधिकृत तथा जवानहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोट र माताहतका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तथा अधिकृतहरु उक्त तालिममा सहभागी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजना तथा किर्डाक नेपाल कालीकोटको सहजिकरणमा कार्यक्रम भएको छ । सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बाले विश्वकर्माले तालिमको उद्देश्यमाथि प्रष्ट पार्दै बालबालिकासम्बन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी प्रावधानका बारेमा जानकारी गराई सोको कार्यान्वयनमा प्रहरीको भूमिका विषयमा छलफल गर्ने बताए ।

कालीकोट जिल्लामा बालविवाह र बालबालिकामाथि हुने हिंसाको वर्तमान अवस्था र प्रहरीको भूमिका विषयमा छलफल गर्ने, बालबालिकाविरुद्ध हुने हिंसा र बालविवाह न्यूनीकरणमा जिल्लाव्यापी अभियान सञ्चालनका लागि वार्षिक कार्ययोजना निर्माण गर्ने पनि विश्वकर्माले जानकारी दिए ।

कालीकोट जिल्लाका ९ वटै स्थानीय तहमा रहेका प्रहरी कार्यालय मातहतका प्रहरी चौकीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बालबालिकासम्बन्धी ऐन २०७५ का व्यवस्था र कार्यान्वयनमा प्रहरीको भूमिका, बालबालिका विरुद्धका कसुर र सजायको व्यवस्थाका बारेमा जानकारी गराउने प्रहरी नायव उपरीक्षक जयश्वर रिमाले बताए ।

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बालबालिकाको क्षेत्र अतिसंवेदनशिल रहेकाले महिला, बालबालिका, जेष्ठ नागरिक सेवा केन्द्र र बाल निगरानी कक्षमा काम, कर्तव्य र अधिकार नभुलेर काम गर्न अनुरोध गरे । यो तालिम महत्वपूर्ण रहेकाले तालिममा नतमस्तक भएर सिक्नुपर्ने उनले बताए ।

कार्यक्रममा सरकारी वकिल कार्यालयका सिताराम राउत, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमाल, प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा तथा सेभ द चिल्ड्रेनमा कार्यरत कर्मचारीहरुले प्रशिक्षण गर्नेछन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया