रुकुम पूर्व । जिल्लाको सबै भन्दा ठूलो रुकुमगाड जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापैरामा निर्माण भइरहेको पाँच मेगावाट क्षमताको विद्युत आयोजनाको काम अन्तिम चरणमा रहको निर्माता राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जनाएको छ ।
अब परीक्षणको काम मात्र बाँकी छ । कन्स्ट्रक्सनका प्रवन्धक रामचन्द्र त्रिपाठीले भने, ‘आयोजना निर्माणको अधिकांश काम सकिँदा पावरहाउस भित्रको केही काम बाँकी छ ।’ यही माघ ७ देखि १२ गतेसम्म आयोजना परीक्षण गर्न सूचना निकालिएको थियो ।
पावरहाउस भित्रको इलेक्ट्रोमेकानिकल अन्तर्गतको केहि काम बाँकी छ । उनले भने, ‘त्यसैले परीक्षण कार्यलाई दुई सातापछि सारेका छौँ, आयोजनालाई टिकाउ भरपर्दो बनाउन पावरहाउसभित्र दुई यूनिट निर्माण गरिएको छ ।’
यूनिट वान र यूनिट टुबाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम धमाधम भइरहेको छ । उनले, ‘थपे मेसिनलाई ड्राफ्ट ट्युब फिक्स गर्न गरिएको सिमिन्टेड कंक्रिट ढलान सट हुन हप्ता दिन लाग्ने हुदाँ परिक्षणको काम धकेलिएको हो, यूनिट वान र यूनिट टु दुवैमा इलेक्ट्रोमेकानिकल अन्तर्गतका दुई रनर, दुई सफ्टसिल जडान गर्ने काम बाँकी छ, बाधबाट पेनस्टक हुँदै पानी भर्ने कार्य त्यसपछि सुरु हुन्छ ।’
यसै महिनाको अन्त्यतिरबाट आयोजनाको परीक्षण सुरु गरिने प्रवन्धक त्रिपाठीले बताए । कुल एक अर्ब ३० करोडको लागतमा आयोजना निर्माण भइरहेको छ ।
आयोजना निर्माणको क्रममा कमजोर भूगोल र कोभिडको कारण काममा केही असर परेको थियो । तर पनि निरन्तरको प्रयास र सबैको सहयोगबाट आयोजना सम्पन्नतिर अग्रसर रहेकोमा त्रिपाठीले खुसी व्यक्त गरेका छन् । यस आयोजनाबाट उत्पादन गरिएको विद्युत रुकुमपश्चिमबाट वितरण हुनेछ ।
रुकुम सिङगो जिल्ला कायम हुदाँ नै आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन डिपीआर सम्पन्न भएको हुदाँ त्यसै अनुसार विद्युत वितरण हुने आयोजनाले जनाएको छ । जसअनुसार रुकुम पश्चिमको धैरेनीचौरमा रहेको सवस्टेशनमा विद्युत प्रवाह गरिनेछ ।
त्यहाँबाट दुवै जिल्लाका विभिन्न स्थानमा विद्युत वितरण गरिने छ । यसको लागि प्रशारण लाइनको काम सकिएको छ । यस आयोजनाबाट विद्युत उत्पादन सुरु भएमा रुकुम पूर्व पश्चिम सल्यान र जाजरकोट जिल्लामा स्थानीयलाई ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।
कुनै समस्या नदेखिए आगामी फागुन पहिलो साताबाट विद्युत उत्पादन गर्ने गरि काम भइरहेको आयोजनाले बताएको छ । २०७३ बाट आयोजना निर्माणको काम सुरु गरिएको थियो ।
रुकुम पूर्व
प्रतिक्रिया