लोकसेवा पढाउदै सिस्ने गाउँपालिका

रुकुम पूर्व । युवा पुस्तालाई लोकसेवाप्रति आर्कषण गर्न सिस्ने गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । पालिका भित्रका युवा युवतीलाई लोकसेवाले लिने विभिन्न परीक्षामा सहभागि गराउन तयारी कक्षा सञ्चालन गरेको हो । नयाँ पुस्तालाई लोकसेवामा भविष्य देखाउन मंगलबारबाट लोकसेवा पढाउन सुरु गरेको छ । लोक सेवा पढाउन पालिकाले दुई लाख बजेट छुट्याएको थियो । त्यहीं बजेटबाट तयारी कक्षा सञ्चालन सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।

उनले भने, ‘युवायुवतीलाई सरकारी जागिरे बनाउन आयोग पढाउन सुरु गरेका छौं, खर्च पालिकाले व्यहोर्ने गरी कक्षा सञ्चालन भइरहेका छन् । पूर्ण भन्दैनौ हामीलाई चाहिने आधा जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित लागेका छौंं ।’ दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य भएको अध्यक्ष रेग्मीले बताए । उनले गुणस्तरलाई ध्यानमा राखि कक्षा सञ्चालन गर्न प्रशिक्षकलाई निर्देशन दिएका छन् ।

जिल्ला सदरमुकाम स्थित रुक्मिणी मावि रुकुमकोटमा तयारी कक्षा सञ्चालन भइरहेका छन् । मंगलबारबाट कक्षा सुरु भएको हो । सुन्दर भविष्य लोकसेवामा छ । लोकसेवा पढनुपर्छ । प्रतिष्पर्धा गर्नुपर्छ, भन्ने भावनाको विकास गर्न तयारी कक्षा सुरु गरिएको रेग्मीले बताएका छन । उनले भने, ‘लोकसेवाप्रति भोग जगाउन पालिकाले अभियान सुरु गरेको छ ।’

सरकारी जागिरमा प्रवेश गराउने उदेश्यका साथ गाउँपालिकाले लोक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिए ।

लोकसेवा पढ्न १११ जनाको आवेदन

लोक सेवा पढन इच्छुकको लागि पालिकाले १५ दिनको सूचना प्रकाशन गरेको थियो । सो अवधिमा पालिका भरका एक सय ११ जनाले शैक्षिक योग्यताका प्रमाणपत्र सहित आवदेन दिएका थिए । आवदेन दिएका सबैलाई तयारी कक्षामा समावेश गरिने प्रमुख प्रशासकीय अधिकृत शाहले बताए । उनका अनुसार मंगलबार देखि तयारी कक्षा सुरु भएको छ । मंगबार ३७ र बुधबार ५५ जना कक्षामा सहभागी भएका थिए ।

‘कक्षामा सहभागि हुने क्रम बढिरहेको छ । आवेदन दिएका मध्य केहि जिल्ला बाहिर केहि टाढाबाट आउदै हुनुहुन्छ ।’ प्रशासकीय अधिकृत शाहले भने, ‘दुई–तीन दिनमा आवेदन दिएका सबै उपस्थित हुनुहुन्छ ।’

विशेष गरि राजपत्र अनङ्कित चौथो र पाचौँ तहलाई मध्यनजर राखि कक्षा सुरु गरिएको छ । त्यसमा बस्तुगत र विषयगत दुबैलाई जोड दिइने गाउँपालिकाले जनाएको छ । माघ ३ गतेबाट सुरु भएको तयारी कक्षा फागुन अन्तिमसम्म चल्ने । जिल्लास्थित विभिन्न कार्यालयमा कार्यरत अधिकृतबाट कक्षा सञ्चालन भइरहेको छ ।

पुरुषको तुलनामा महिला तेब्बर

तयारी कक्षाका लागि ८ वडाका एक सय ११ जनाले आवेदन दिएका छन । पालिकाभरबाट ८१ महिला र ३० पुरुषले तयारी कक्षाका लागि आवदेन दिएको प्रशासन सहायक पूर्ण विएमले जानकारी दिए । उनका अनुसार कक्षामा सहभागी हुने र आवेदन दिने महिलाको संख्या बढी छ । पुरुष भन्दा महिला तेब्बरले बढी रहेको उनको भनाई छ ।

गाउँपालिका भित्र स्थायी बसोबास भएका, १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका र कम्तिमा एसएलसी÷एसईई उत्तिर्ण गरेकालाई कक्षामा समावेश गरिएको छ । कक्षामा एसएलसी÷एसईई देखि स्नातक गरेका केहि विभिन्न संघ संस्थामा आवद्ध कर्मचारी, शिक्षक र क्याम्पस पढदै गरेका विद्यार्थीहरु सहभागी छन ।

कुन वडाबाट कति ?

गाउँपालिकाका ८ वडा मध्य सबैभन्दा बढि ५ र ६ नम्बर वडाबाट सहभागी भएका छन । ५ नम्बर वडाका ४१ र ६ नम्बर वडाका २५ जनाले आवेदन दिएका थिए । सवैभन्दा कम आवेदन २ र ७ नम्बर वडाबाट परेको छ । २ नम्बर वडाबाट १ र ७ नम्बर वडाबाट ४ जनाले मात्र आवदेन दिएका थिए । यसैगरि १ नम्बर वडाबाट ६, ३ नम्बर वडाबाट ८, ४ नम्बर वडाबाट १८ र ८ नम्बर वडाबाट ७ जनाले आवदेन पेश गरेका छन । आवेदन अनुसार कक्षामा उपस्थित हुने क्रम बढिरहेको पालिकाले जनाएको छ ।

जिल्लामा अहिलेसम्म कुनै इन्स्टिच्युटले लोकसेवा तयारी कक्षा सञ्चालन गरेका थिएनन् । जसका कारण यहाँका युवा युवतीहरू आयोगका तयारी कक्षा लिन दाङ, सुर्खेत, नेपालगञ्ज, चितवन, पोखरा र काठमाडौंमा जाने गरेका छन् । चर्को शुल्क तिरी बाहिर गएर अध्ययन गर्नुपर्ने बाध्यतालाई न्युनिकरण गर्न पालिकाले तयारी कक्षा सञ्चालन सुरु गरेको हो । जिल्लामा आयोगका तयारी कक्षा पढने माध्यम नहुदाँ जिल्ला बाहिर जानेहरु पालिकाले निशुल्क पढाउन थालेपछि निकै खुसी भएका छन ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया