काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिएकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् ।
साथै, उनले सभामुखमा समर्थन गरे पनि प्रदेशसभा सदस्यहरूलाई प्रतिपक्षमा बस्न निर्देशन दिएकी छन् । तर, सुदूरपश्चिम प्रदेशसभामा भने सो दलका सदस्यहरू सत्तापक्षमै बसेका छन् । प्रदेशमा नाउपाले निर्णय लिन नसक्दा सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेको छैन ।
यहाँ माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन् । दुईपटकसम्म भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका छैनन् । बहुमत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ ।
दुवैको बहुमत नपुगेपछि शनिबार पनि सभामुख चयन हुन सकेको थिएन । आजको बैठक पनि स्थगित भएको थियो । ५३ जना प्रदेशसभा सदस्य रहेको यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।
प्रतिक्रिया