धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार बस्ने भएको छ । सोमबार प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेशसभाको बैठक मंगलबार बस्ने जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९–१०–०१ को निर्णयानुसार २०७९–१०–०२ गते नेपाल राज्यभर राष्ट्रिय शोक बिदा तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएकोले सोमबार विहान ९ः०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित भई मंगलबार बिहान १०ः०० बजे बस्ने गरी आह्वान गर्ने सोमबार बसेको सर्वदलीय बैठकको निर्णय भएको प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि भएका प्रदेशसभा बैठकले सभामुख चयन गर्न सकेको छैन् । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने संबैधानिक व्यवस्था भए अनुसार सोमबार अन्तिम दिन हो ।
सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बसेको थियो । यसअघि दुई पटक भएको सभामुखको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त नगरेकाले सभामुख चयन हुन सकेको छैन् । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहेका छन् ।
पहिलो पटक पुस २८ गते भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत र कांग्रेसका रावलले २३ मत पाएका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ जना सदस्य आवश्यक पर्छ ।
सो दिन सत्ता गठबन्धनको एक मत बदर भएको थियो भने सत्ता गठबन्धन दल एमालेका सांसद चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए ।
दोस्रो पटक पुस ३० गते भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सहमति कार्यान्वयन नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेदवारको बहुमत पुगेन ।
सो दिन सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत र कांग्रेसका रावलले २२ मत पाए । मतदानमा ४४ जना सांसदले भाग लिएका थिए । नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ बसे । कांग्रेसका एक सांसद अनुपस्थित रहे भने कांग्रेस कै शिवराज भट्ट सभामुखको भूमिकामा रहेकाले मतदान गर्न पाएनन् ।
यस प्रदेशमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ सांसद छन् । त्यस्तै नेपाली कांग्रेसका १९,एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
कैलाली
प्रतिक्रिया