सिँचाई कुलोको काम सम्पन्न भएपछि नागरिक हर्षित

कालिकोट । पानीको अभावले सिँचाई गर्न नपाएका पचालझरना गाउँपालिका– ८ का ७० घरधुरीका परीवारहरु सिँचाई गर्न पाउने भएका छन् । पचालझरना गाउँपालिका–८ की दुर्गा शाही पानीको अभावले आफ्नो खेतबारीमा खेती गर्न छोडिसकेकी थिइन् ।

उनले भनिन्, ‘बर्खामा आकाशे पानीको भरमा लगाएको खेती पनि हिउँदमा आफै सुकेर नष्ट हुन्थ्यो, राम्रोसँग खेती गर्न नपाएका पचालझरना गाउँपालिका– ८ का ७० घरधुरीका सबैले सोचे जस्तो खेती गर्न नपाउँद दुःखी भएका थिए ।

गाउँमै सिँचाई कुलो आएर हिउँद र बर्खा नै पानी आउने भएकाले तरकारी तथा फलफूलसँगै गहुँ, धान, कोदोलगायतका अन्य बाली लगाउन पाउने भएपछि आफूलाई जिन्दगीको पहिलो खुसी मिलेको स्थानीय पूर्णबहादुर शाहीले बताए ।

‘अब फलफूल, तरकारीलगायत अन्य बालीहरु अरुको घरबाट किन्ने दिन गएकाले आफैँ खेतबारीमा आधुनिक डिजाईनबाट कृषि खेती गर्ने छौँ भन्दै स्थानीय हर्षित देखिएका छन् । पचालझरना गाउँपालिका वडा नंम्बर ८ मा बयालझरना भिटादेखि जिउलासम्म सिँचाई कुलो निर्माणको काम सम्पन्न भएपछि नागरिकहरु कृषि खेतीतिर आकर्षण देखिएका छन् ।

निर्माणको कार्य सम्पन्नपछि स्थानीयवासीको खेतबारीमा पानी आयो । १ हजार २ सय मिटर टाढाबाट सिँचाई कुलो स्थानीयवासीको खेतमा आउँदा पानीको अभाव टरेको छ । पचालझरना गाउपालिका वडा नं ८ मा सञ्चालित बयालझरना भिटादेखि जिउलासम्म सिँचाई कुलो निर्माणको कार्य सम्पन्नपछि पचालझरना ८ का नागरिक हर्षित देखिएका छन् ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित क्याप्स क्याप्स कर्णाली परियोजनाअन्तर्गत सञ्चालनमा रहेको कुलोको काम सम्पन्नपछि नागरिकहरुले पानीको सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरुन्डेक नेपालको सहयोग सहजिकरणमा पचालझरना– ८ मा महत्वपूर्ण काम भएको गाउँपालिकाका अध्यक्ष देवराज शाहीले बताए ।

७० लाखमा कुलोको काम सम्पन्न भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका लेखा अधिकृत प्रेम शाहीले बताए । स्थानीयवासीका अनुसार यो कुलो दिगो टिकाउ र स्थानीयवासीको आशाको केन्द्र रहेको बताउँदै पचालझरना गाउँपालिकाकै नमुना कुलो रहेको दाबी गरेका छन् । लामो दुरीबाट निर्माण कार्य थालिएको उक्त कुलो अहिले स्थानीयवासीको खेतमा छ ।

परियोजनाको निर्माण कार्य २०७८ बैशाखमा थालिएको थियो र अहिले कुलोको काम सम्पन्न भई हस्तान्तरण समेत गरिएको हुरेन्डेक नेपालका उपाध्यक्ष वीरेन्द्र बुढाले बताए । उनले आफ्नो संस्थाले नागरिकहरुका लागि गरेको पहलप्रति कुनै कमी नभएको र आगामी दिनमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।

क्याप्स कर्णाली परियोजनाका जिल्ला संयोजक नरेन्द्रबहादुर शाहीले अन्य संघ–सस्थाले गरेका काम जस्तो लथालिंग नभएको भन्दै कुलोमा काम गर्ने सम्पूर्ण कामदारको बिमासमेत गरेको बताए । शाहीले कामदारको पैसा बैंकिङ प्रर्णाली अनुसार स्वयं कामदारको खातामा जम्मा गर्ने गरेको बताए ।

विश्व खाद्य कार्यक्रम नेपालका कार्यक्रम उपप्रमुख तथा रणनीतिक कार्यक्रम व्यवस्थापक कृष्ण जोगी, परियोजनाका कर्मचारी क्षितिज आचार्य, हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिपकुमार शाहीलगायको जिल्लास्तरीय टोलीले कुलोको अनुगमन गरेको थियो ।

स्थानीयवासिले कुलोको पानी प्रयोग गरेवापत मासिक २० रुपैयाँ एक घरबाट उठाउने गरेका छन् । उक्त रकम कुलोको मर्मत–सम्भारमा प्रयोग गरिने स्थानियले बताएका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया