सुदूरपश्चिम प्रदेशसभामा संवैधानिक संकटको खतरा

काठमाडौं । सभामुखका दुवै उम्मेदवारले प्रदेशसभा सदस्यको पचास प्रतिशतभन्दा धेरै मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशसभाले शनिबार पनि सभामुख चयन गर्न सकेन । सभामुख चयनका लागि शनिबार बसेको प्रदेशसभा बैठकमा दुई प्रस्ताव पेस गएका थिए । दुवै प्रस्ताव बहुमत नपाउँदा अस्वीकृत भए ।

सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीले सभामुख चयन प्रक्रियामा मतदान नगरेपछि सभामुख चयन हुन नसकेको हो ।

मतविभाजनमा ४४ जना सांसद सहभागी भएका थिए । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ७ सांसद रहेको सत्ता साझेदार नागरिक उन्मुक्ति तटस्थ बसेको छ । नागरिक उन्मुक्तिसहित सत्तारुढ गठबन्धनसँग २९ सांसद छन् । नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ सांसद छन् ।

यस्तै, प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले मतविभाजनअघि प्रदेशसभामा बोल्दै आफूहरू तटस्थ बस्ने बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले अघि सारेका मागहरू सम्बोधन नभएकाले सभामुखको निर्वाचनमा नागरिक उन्मुक्ति तटस्थ बसेको उनले बताएका छन् ।

यसअघि २८ पुसमा भएको सभामुखको चुनावमा भण्डारी र रावल दुबै जनाले बहुमत पाएनन् । त्यो दिन भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
२८ गतेको सभामुखको चुनावमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए भने सत्तारुढ गठबन्धनको एक मत बदर भएको थियो ।

सभामुखको चयन हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा संवैधानिक संकट देखा पर्ने खतरा बढेको छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र त्यसपछि उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

१८ पुसमा बसेको प्रदेश सभाको पहिलो बैठकले २८ पुसमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर त्यो दिन र आज शनिबार पनि सभामुख चयन हुन नसकेपछि संवैधानिक संकट देखा परेको छ ।

अब पनि माघ २ गते भित्र सभामुख चयन गरिसक्नु पर्छ । २ माघमा सभामुख चयन नभए संवैधानिक संकट सुरु हुने छ । प्रदेशसभाको अर्को बैठक माघ २ गते बिहान ९ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया