सुदूरपश्चिमका मुख्यमन्त्री रावलले लिए सपथ, मुख्यमन्त्रीका दाबेदार भट्ट बने मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ लिएका छन् । एमाले संसदीय दलको नेता रहेका मुख्यमन्त्री रावललाई बिहीबार प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

रावलसँगै दुई जना नवनियुक्त मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्रीका दाबेदार रहेका माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र एमालेबाट सन्तोषकुमारी थापाले मन्त्रीको सपथ लिएका छन् ।

भट्ट र थापा विना विभागीय मन्त्री बनेका छन् । मन्त्रीको सपथ लिएका भट्ट यसअघि मुख्यमन्त्रीका दाबेदार थिए । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट मुख्यमन्त्री बन्न पाउने भनेर नै प्रदेशसभा सदस्यको निर्वाचन लडेका थिए ।

भट्ट डडेल्धुरा प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेतृत्वबीच एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा एमालेले नेतृत्व गर्ने सहमति भएको थियो ।

सत्ता गठबन्धन कायमै रहे, कुनै उतारचढाव नआए भट्ट दोस्रो चरणमा मुख्यमन्त्री बन्ने निश्चित नै छ । मुख्यमन्त्री रावलले बिहीबार नै पदभार ग्रहण गरिसकेका छन् । रावललाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया