धनगढी । सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आज (बुधबार) मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । केन्द्रमा सत्ता साझेदार दलका शीर्ष नेतृत्वबीच एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
पहिलो चरणमा सुदूरपश्चिम प्रदेशमा एमालेले नेतृत्व गर्ने सहमति भएअनुसार नेकपा एमालेका नेता रावलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् । सत्ता साझेदार चार दलको समर्थनमा प्रदेश प्रमुखले दिएको समयसीमाभित्र आज दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी रहेको एमाले प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।
सत्तारुढ गठबन्धन दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा दाबी पेश गर्न लागिएको उनले बताए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सदस्य आवश्यक पर्छ ।
यस प्रदेशमा माओवादी केन्द्रका ११,एमालेका १०,नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिदै छ ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको स्पष्ट बहुमत छैन ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्न प्रदेश प्रमुख जोशीले आह्वान गरेका थिए ।
कैलाली
प्रतिक्रिया