कालिकोट । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा एकमुष्ट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालका अनुसार ९ वटै स्थानीय तहमा २६ वटा प्रहरी टोलीद्वारा जिल्लाभर एकमुष्ठ घरेलु मदिरा नष्ठ गरिएको छ ।
जिल्लाभर एकै दिन २ हजार ३ सय ७२ लिटरभन्दा बढी मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रमुख रिमालले बताए । जिल्लाभर २ घण्टाको कडा अनुगमन तथा खोज कार्यबाट मदिरा खोजी नष्ट गरिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जिल्लाको सदमुकाम मान्ममा रहेका होटल व्यवासायी तथा स्थानीयहरुले अवैधरुपमा उत्पादन गरी विक्री वितरण गर्दै आएको मदिरा शनिबार नष्ट गरिएको छ । घरेलु मदिराका कारण धेरैजसो क्षति हुने र दुर्घटना बढ्दो रुपमा हुने भएकाले जिल्ला प्रहरी कार्यालय कालिकोटले अवैधरुपमा विक्री वितरण गरिँदै आएको घरेलु मदिरा नष्ट गर्ने कार्य थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले कालिकोटका ९ वटै स्थानीय तहमा यो अभियान थालेको छ । शनिबार दिउँसो सरोकारवालाहरुको उपस्थितमा २ सय ५० लिटरभन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरासँगै मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने भाँडाकुँडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव निरीक्षक रामबहादुर बमसहितको टोलीले मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । नागरिकहरुले स्थानीय उत्पादनमा तयार मदिरा बेच्न पाउनुपर्ने माग राखेपनि कानूनतः यो नहुने भएको सरोकारवालाहरुको भनाइ छ । तर, स्थानीय सरकारले स्थानीय मदिरा बेचबिखनसम्बन्धी कार्यविधि पास गरेर अनुमति दिएमा बेच्न पाईने कतिपयको बुझाई छ ।
कालिकाेट
प्रतिक्रिया