क्रोधमूर्तिमा मेरो हात बस्दै गएको चालै पाइन

नागरिक स्तरबाट क्रोधकला शिरोमणिले विभूषित प्रसिद्ध मूर्तिकार कालु कुमाले नेपाली कला जगत्मा परिचित नाम हो । परम्परागत मूर्तिकलाका क्षेत्रमा विगत सात दशकदेखि निरन्तर मूर्ति बनाउन सक्रिय छन् । ९० वर्षको उमेरमा पनि दैनिक कलाकर्ममा सक्रिय कुमाले क्रोधभावका मूर्ति बनाएर विश्वमै प्रसिद्धि कमाएका छन् । उनी नेपाली परम्परागत मूर्तिकला क्षेत्रका मूधन्र्य व्यक्तित्वका रुपमा समेत परिचित छन् ।

आफ्नो अद्वितीय कला साधनाद्वारा नेपाली कलाक्षेत्रमा सशक्त प्रभाव जमाउन सफल क्रोधकला शिरोमणि कालु कुमालेका कला अहिले विश्वका विभिन्न संग्रहालय, विश्वविद्यालय, संघसंस्था तथा व्यक्तिको संग्रहमा संग्रहित छन् । किसान परिवारमा जन्मिएर नेपाली परम्परागत मूर्तिकलाका क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कुमाले क्रोधभावका मूर्ति बनाएर आफूलाई त्यसको विज्ञका रूपमा स्थापित गरेका छन् । जीवनको निकै कष्टकर यात्राबाट आफ्नो कलायात्रा थालेका उनको निरन्तरको साधना र लगावले नेपाली कलालाई नै विश्वकलामा परिचित गराउन सफल भएको छ ।

नेपाली परम्परागत मूर्तिकला क्षेत्रमा कुमाले व्यक्तिमात्र नभइ संस्थाको रुपमा समेत खडा भएका छन् । क्रोधभावका मूर्ति विभिन्न भावभंगीमा मूर्तन गरी बनाउन निकै कठिन काम हो तर, कुमाले त्यसमा निपूर्ण छन् । ललितपुरको पाटनस्थित थपाटटोलमा १९९० सालमा जन्मिएका कुमालेले नेपाली कलालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

नेपाली परम्परागत कलालाई शैक्षिक रुपमै सिक्न पाउने व्यवस्था भइदिए अति उत्तम हुन्छ । विदेशमा गएर कला र सीप देखाउनु राम्रो हो तर हाम्रो मौलिक प्रविधि आफैसँग मात्र सीमित राख्नु राम्रो हुन्छ जस्तो लाग्छ । शास्त्र र विधि पुर्याएर कला सिर्जना गर्नुपर्छ । हामीले कलाकौशलको मात्र होइन आस्थाका रुपमा पुजिने भगवान्को सिर्जना गर्दै छौ भन्ने बुझ्न जरुरी पनि छ भन्ने लाग्छ

नेपाली कला क्षेत्रमा शालिन व्यक्तित्वको छवि बनाएका कुमालेको क्रोधमूर्तिसँगको भावमा कुनै पनि मनोवैज्ञानिक तालमेल पटक्कै मिल्दैन तर पनि उनले निरन्तर क्रोधमूर्ति बनाएरै प्रसिद्धी कमाएका हुन् । महाबौद्धका एकजना व्यापारी पञ्चराज शाक्य (चाकू) ले कुमालेलाई मैनमा मूर्ति बनाउनका लागि प्रेरित गरेका हुन् । पछि छोराहरू पनि मूर्तिकला क्षेत्रमा लागेपछि उनले यसलाई अझ व्यवस्थित बनाउँदै लगे । कुमालेले बनाएका मूर्ति नेपालमा मात्र नभएर बेलायत, अमेरिका, जापान, भुटान, कोरिया, इटली, मंगोलिया, भारत, रुस, युरोप लगायतका देशमा पुगिसकेका छन् ।

त्यत्ति मात्रै होइन बेलायतको प्रसिद्ध संग्रहालय भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा समेत उनले बनाएका क्रोधमूर्ति संग्रहित छन् । नेपाली परम्परागत कलामा क्रोध मूर्तिकलाका मूधन्र्य व्यक्तित्व कुमाले अहिले पनि सक्रियताका साथ मूर्ति बनाउँदै आफ्नो सीप र क्षमता अरूलाई बाँडिरहेका छन् । उनै कुमालेसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संक्षिप्त कुराकानीः

अहिलेसम्म कति मूर्ति बनाएँ भन्ने ठ्याक्कै हिसावकिताब त छैन । छोरा राकेशको लगत अनुसार ६०० को हाराहारीमा बनेको भन्ने छ । देशका विभिन्न मन्दिर, गुम्बा लगायतका स्थानमा मैले बनाएका मूर्तिहरु प्रतिष्ठापित छन् । विदेशका गुम्बा, संग्रहालय र कलापारखीहरुको संग्रहसमेत गरी ५० भन्दा बढी मुलुकमा पुगिसकेका छन्

० यहाँलाई कसरी चिन्ने ?

– म कालु कुम्हाः हुँ । खासमा भन्ने हो भने ललितपुरको मच्छिन्द्रनाथ, मीमनाथ, आदिनाथ र वसुन्धरा देवीको पुजाआजा र जात्रापर्वमा आवश्यक पर्ने माटाका भाँडाकुँडा बनाउन हाडिगाउँका प्रजापति समुदायबाट दक्ष छानिएर सो समुदायको थकाली बस्न पाउने गरी दक्ष प्रजापति ‘थकू’ उपाधि प्राप्त पुर्खाका सन्तानको रुपमा जन्मिएकाले म कालु दक्ष प्रजापति भन्न रुचाउँछु । आज म मूर्तिकलामा लागेको सात दशकभन्दा लामो यात्राले गर्दा मूर्तिकारको रुपमा परिचित छु ।

० यहाँको कलाको प्रेरणास्रोत कसलाई मान्नुहुन्छ ?

–सानैदेखि कुमालेको चक्र घुमेको हेर्न र माटोमा खेल्न थालेको हुँ । त्यसैबेला बुवाले केही आकृति बनाउन भन्नुभयो । मैले पनि प्रयास गर्दै गएँ । त्यसैको फलस्वरुप जनावर, पंक्षी आदिका आकृति बनाउन थालेँ । यसैक्रममा अष्टमातृका देवी गणका मूर्तिसम्म बनाउन सक्ने भएँ । त्यसैले कलाका प्रेरकका रुपमा मेरो आफ्नै बुवा सानु कुमालेलाई मान्छु । पछि विस्तारै मैनको मूर्ति बनाउन थालेँ ।

० मूर्तिकलाको सुरुवाती अवस्थाको माहोल कस्तो थियो ?

त्यो समयमा मूर्तिकला भन्ने त्यति सुनिन्नथ्यो । प्रायः ढलाइ प्रविधिबाट मैनका काम गर्नेहरु पनि कसौडी, दाडु, पन्यु, कचौरा आदि बनाउनेहरु मात्र थिए । मैले चिनेकोमा मानज्योति शाक्यले मात्र मूर्तिको काम गर्ने थाहा हुन आएपछि मैले पनि उहाँसँग सिक्ने इच्छा राखेँ । तर सिक्ने मौका मिलेन । मैले घरमा नै बसेर अठोट एवं धैर्यका साथ माटोकै मूर्ति बनाउँदै गएँ । मेरो मूर्तिले प्रभावित पञ्चराज शाक्यको अनुरोधमा मैनको मूर्ति बनाउन थालेको हुँ । त्यो बेला मूर्तिकलाले जीवन धान्ने आधार नै छ जस्तो लाग्दैन्थ्यो । मेरो घरको गर्जो टार्न पनि धौ–धौ परेपछि खेताला, भरिया र परालका जुत्ता, सुकुल बुन्नेसम्मका काम गर्नु परेको थियो ।

० यहाँको कलायात्रामा पारिवारिक पृष्ठभूमिले कत्तिको सहयोग गर्यो ?

सुरुवाती समयमा माटाका मूर्ति बनाउँदा मेरी श्रीमती लक्ष्मीमायाले धेरै सघाएकी थिइन् । घरभित्र र बाहिर खेतीको कामधाम सकाएर र खेतमा हिड्नुअगाडि मेरो लागि माटो मुच्छेर तयार पारी दिन्थिइन् । पछि मुखुण्डो बनाउँदा पनि माटोमा कपास कागज आदि मिसाएर ठोकेर पेलेर माटो बनाइदिन्थिन् भने मैनको काम सुरु गर्दा पनि मैन पगाल्ने, मैन नरम बनाइदिने र साँचोबाट मैनका आकृति निकालिदिनेसम्मको काममा मद्दत गर्थिन् । पछि मेरो जेठो छोरा राजेश, माहिलो छोरा काजीरत्नले साथ दिए । २०३३/३४ सालदेखि व्यवस्थापन र कलाक्षेत्रमा साँहिला छोरा राकेशको भूमिका रहँदै आएको छ । जसको परिणाम म यो स्थानमा छु ।

० मूर्तिकलामा कहिलेदेखि व्यवसायिक रुपमा लाग्नुभयो ? अहिलेसम्म कति मूर्ति बनाउनुभयो र कति देशमा पुगेका छन् ?

एउटा कुरा मैले सुरुवाती दिनमै माटाकै पशुपंक्षी बेचेर व्यवसायिक रुपमा कामको थालनी गरेँजस्तो लाग्छ । तर, पनि मैनकै मूर्ति भने विसं. २०१० सालदेखि बेच्न थालेको हुँ । अहिलेसम्म कति मूर्ति बनाएँ भन्ने ठ्याक्कै हिसावकिताब त छैन । छोरा राकेशको लगत अनुसार ६०० को हाराहारीमा बनेको भन्ने छ । देशका विभिन्न मन्दिर, गुम्बा लगायतका स्थानमा मैले बनाएका मूर्तिहरु प्रतिष्ठापित छन् । विदेशका गुम्बा, संग्रहालय र कलापारखीहरुको संग्रहसमेत गरी ५० भन्दा बढी मुलुकमा पुगिसकेका छन् ।

० क्रोधमूर्तिप्रतिको यहाँको लगाव कसरी हुनपुग्यो ?

पैसा आउने जे काम भेटिन्थ्यो त्यही काम गर्दा पनि मुस्किलले दिनको ५०–६० पैसा र १ रुपैयाँसम्म पाउन थालेको थिएँ । त्यही समय संघरत्न शाक्यले एकदिन मेरोमा आएर, ‘तिमी राम्रो मूर्ति बनाउन सक्नेले किन मूर्तिको काम छोडेको ?’ भन्ने प्रश्न गर्नुभयो । उहाँको प्रश्नमा मूर्तिको कामले मेरो गर्जो नटेरेको बताएँ । अनि उहाँले ‘हेर कालु अहिले तिमीले दिनभर मिहिनेत गर्दा पनि १ रुपैयाँ पाउन मुस्किल छ । मेरो कुरा मान्छौ भने टुटेफुटेका मूर्ति मात्र मर्मत गरे पुग्छ दिनको पाँच छ रुपैयाँ दिन्छु मेरो काम गर’ भन्नुभयो । मेरो लागि यो निकै उपयुक्त अवसर थियो । मेरो ठूलो इच्छा मूर्ति बनाउने हो । त्यसैले आफूले इच्छाएको काम गर्न पनि पाउने गर्जो टार्न दाम पनि पाउने भएपछि उहाँको वचन राखेँ । उहाँले जति पनि टुटेफुटेका मूर्तिहरु मर्मतका लागि मकहाँ ल्याउनुभयो धेरैजसो लामाहरुका आस्थाका गुह्य देवताहरु रहेछन् । प्रायः शक्ति देवताहरु त्यसमा नि क्रोध भाव र भंगिका थिए । यस्ता मूर्ति मर्मत र अपुग सामान बनाउँदा बनाउँदै क्रोधमूर्तिमा मेरो हात बस्दै गएको चालै पाइन । पछि उहाँको माग अनुसार बनाउने गरेका मूर्तिहरु पनि त्यस्तै खालका भएको हुनाले पनि मेरो रुचि क्रोध मूर्तिमा भयो ।

० नेपाली कलामा के भइदिए हुन्थ्यो भन्ने लाग्छ ?

पहिलो कुरा त परम्परागत कलाको सीप संरक्षण र पुस्तान्तरण हुन जरुरी छ । राज्यले कलाकारको तथ्य सूचना प्राप्त गरी पहिचान दिनुका साथै सीपको कदर गरी सम्मानको व्यवस्था भए नयाँ पिँढी पनि कलाप्रति आकर्षित हुन्छ जस्तो लाग्छ । दोस्रो कुरा कलाकारको कला हेर्न सकिने र आफूले इच्छाएको कलाकारको कलाकृति खरिद गर्न सक्ने थलोको रुपमा संग्रहालय एवं बिक्री केन्द्रको आवश्यक लाग्छ । त्यस्तै, तेस्रो कुरामा जो विदेशीले नेपाली कला खरिद गरेका हुन्छन् त्यसलाई आफ्नो देशमा लिएर जाने वेलामा नेपाल सरकारले विना झञ्झट लान दिने व्यवस्था गरिदिनु पर्छ जस्तो लाग्छ ।

० अन्त्यमा ?

नेपाली परम्परागत कलालाई शैक्षिक रुपमै सिक्न पाउने व्यवस्था भइदिए अति उत्तम हुन्छ । विदेशमा गएर कला र सीप देखाउनु राम्रो हो तर हाम्रो मौलिक प्रविधि आफैसँग मात्र सीमित राख्नु राम्रो हुन्छ जस्तो लाग्छ । शास्त्र र विधि पुर्याएर कला सिर्जना गर्नुपर्छ । हामीले कलाकौशलको मात्र होइन आस्थाका रुपमा पुजिने भगवान्को सिर्जना गर्दै छौ भन्ने बुझ्न जरुरी पनि छ भन्ने लाग्छ ।

प्रतिक्रिया