बाँकेका स्थानीय सरकारले थाले दाउरा वितरण अभियान

बाँके । अत्यधिक चिसो बढेपछि बाँकेका स्थानीय सरकारले दाउरा वितरण गर्ने अभियान नै थालेका छन् । चिसोबाट जिल्लाबासीलाई चिसोबाट जोगाउन विभिन्न स्थानीय तहले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । केही दिनयता शीतलहर र बाक्लो कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का अध्यक्ष तथा प्रवक्ता प्रमोद रिजालका अनुसार बुधबारबाट विभिन्न क्षेत्रमा दाउरा वितरण गर्न सुरु गरिएको छ । उनले दैनिक मानिसको आवतजावत हुने स्थान, ज्यालाका लागि काम गर्न मजदुरहरू जम्मा हुने चोकहरू, जनताको चाप हुने ठाउँमा सरकारी कार्यालय तथा वडाहरूलाई प्राथमिकतामा राखेर दाउरा वितरण सुरु गरिएको बताए ।

पहिलो चरणमा सेवाग्राहीहरूको अध्यधिक चाप हुने स्वास्थ्यचौकी, वडा कार्यालयहरू, नगरका विभिन्न चोकहरूमा दाउराको व्यवस्था गरेर आगो ताप्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यसअघि उपमहानगरपालिकाले २३ वटै वडा कार्यालयमा आवश्यक स्थानहरूको संख्या माग गरेको थियो । अहिलेपनि निवेदन आउने क्रम जारी रहेको प्रवक्ता रिजालले बताए । सर्वसाधारणको ओहोरदोहोर धेरै हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाइएको हो । उपमहानगरपालिकाले जिल्ला वन पैदावार आपूर्ति समितिबाट दाउरा खरिद गरी आगो ताप्ने व्यवस्था गर्ने यसअघि नै निर्णय गरेको थियो । समितिले नगरले माग गरे अनुसार दाउरा उपलब्ध गराउन नसकेको र क्रमश उपलब्ध गराउन वित्तिकै विरतण गरिने बताइएको छ । समितिसँग उपमहानगरले पहिलो चरणमा आठ चट्टा दाउरा माग गरेको छ । उनका अनुसार पहिलो दिन दुई चट्टा दाउरा आएसँगै केही स्थानमा वितरण गरिएको छ । अन्य स्थानमा क्रमश बाड्दै जाने नगरको योजना रहेको छ ।

नेपालकै अत्यधिक गर्मी हुने सहर नेपालगञ्जमा केहीदिनयता राम्रोसँग घामसमेत लागेको छैन । बुधबार नेपालगञ्जको तापक्रम घटेर ६ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । चिसोका कारण विद्यालयहरूले जाडो बिदा दिन थालेका छन् भने बजारमा चहलपहलसमेत घट्न थालेको छ । जाडोबाट गरिब तथा विपन्न परिवारका मानिसहरू बढी प्रभावित भएका छन् । वृद्धवृद्धा र बालबालिकाहरू बढी समस्या परेका छन् । यस्तै कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले पनि विपन्न नागरिकलाई दाउरा वितरण गरेका छन् ।

कोहलपुर नगरपालिकाको विपद् तथा वातावरण शाखाका शाखा प्रमुख सुभास पौडेलका अनुसार दुई चट्टा दाउरा खरिद गरेर विक्रि वितरण सुरु गरिएको छ । वडा कार्यालयमार्फत नगरका १५ वटै वडाका विभिन्न चोकहरूमा दाउरा वितरण गरिएको उनको भनाइ छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पनि नागरिकको अवस्थालाई मध्यनगर गर्दै दाउरा वितरण गरिएको जानकारी दिएका छन् । बाँकेका आठ पालिका मध्ये अन्य पालिकाले समेत दाउरा वितरण तयारी थालेका छन् ।

प्रतिक्रिया