काठमाडौं । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो ।
सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन् ।
‘तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु, पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो, अहिले दुवै काम गर्न भ्याएको छु’, उनले भने ।
३२ वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताए । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उनको भनाइ छ । उनले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आएका छन् ।
पुरस्कार ग्रहण गर्न काठमाडौं आएका उनले काठमाडौं पहिलो पटक भ्रमण गरेकोसमेत बताए । ‘पुरस्कार पाएको छु, आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्यो, सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ’, उनले भने ।
बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताए ।
‘पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो, तर समय अभावका कारण फर्किँदैछु, फेरि दोस्रो पटक काठमाडौं घुम्न आउनेछु’, उनले भने । बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उनको भनाइ छ ।
डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौंसम्म आउन सहजीकरण गरेका हुन् ।
‘राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ, अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन, उहाँलाई काठमाडौं सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो’, विष्टले भने ।
काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर, थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।
राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए । उनले भने, ‘भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ, जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन, व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन ।’
प्रतिक्रिया