बालविवाह अन्त्यका लागि छायानाथ रारा नगरपालिकाले रणनीति बनाउने

मुगु । मुगुस्थित छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउने भएको छ ।

सोमबार बालविवाह विरुद्धको साझा अभियान सञ्जाल मुगुले आयोजना गरेको बालविवाह न्यूनिकरणका लागि स्थानीय सरकारको भूमिका विषयक पत्रकार सम्मेलनमा नगरप्रमुख विष्णुकुमार भामले पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै नगरपालिकाले आफ्नो क्षेत्रमा बालविवाह अन्त्यका लागि रणनैतीक योजना बनाउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भामले नगरमा रहेका १४ वडाहरुमध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ वडाहरुमा बालविवाह बढी हुने गरेको पाइएको र ती वडासहित सबै वडामा आगामी दिनहरुमा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम कडाइका साथ लागू गर्ने बताए ।

बालविवाह न्यूनिकरण गर्दै पुरै नगरमा अन्त्यसम्म गर्नका लागि रणनीति योजना बनाउँदा बालविवाहसँग जानकार राख्ने विज्ञहरु,गैसस, पत्रकार र नागरिक समाजका प्रतिनिधिसहितको मसौदा समिति बनाइनेछ ।

रणनैतिक योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटिने छन् । सोही रणनीति योजनाले प्रस्ताव गरेको बजेट आगामी नगरसभाबाट विनियोजन गर्ने र आगामी हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए ।

पत्रकार सम्मेलनमा बालविवाह न्यूनिकरणका लागि साझा अभियान मुगुका संयोजक सन्तोषकुमार मल्लले नगरले बालविवाह न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने कार्यहरुमा थप ६ बुँदा समावेस गर्नुपर्ने भन्दै अभियानको ज्ञापनपत्र नगरप्रमुख भामलाइ हस्तान्तरण गरेका थिए ।

हस्तान्तरित ज्ञापनपत्रमा देशकै बढी बालविवाह हुने प्रदेश कर्णाली भएको र कर्णालीमध्ये पनि मुगु भएकाले बालविवाह न्यूनिकरणका लागि नगरपालिकाले प्रतिबद्धता जनाउनुपर्ने, छाउपडी तथा जातिय विभेदविरुद्ध प्रतिबद्धता हुनुपर्ने, बालविवाह अन्त्यका लागि बन्ने प्रादेशिक रणनैतिक योजना लिएका रणनीति आफ्नो नगरक्षेत्रमा लागू गर्ने, निर्वाचन तथा राजनैतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने सुनिश्चिताका लागि पहल गर्ने, विद्यालयमा बाल भर्नादर वृद्धि गर्न र कक्षा नियमितताका लागि ठोस कार्यक्रम लागू गर्ने, बालबालिकासम्बन्धि कार्यक्रम र काम गर्न नगरको कुल बजेटको १५ प्रतिशत विनियोजन गर्न लगाउने बाध्यकारी नियम बनाउने उल्लेख गरिएको छ ।

नगरप्रमुख भामले आफ्नै कार्यकालमा छायानाथ रारा नगरपालिका बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने गरी आफ्नो नगरपालिकाले आगामी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम बालविवाह विरुद्धको साझा अभियान सञ्जाल मुगुका संयोजक सन्तोषकुमार मल्लको सभापतित्व र नगरप्रमुख विष्णुकुमार भामको प्रमुख आतिथ्य भएको थियो भने कार्यक्रममा नगरउपप्रमुख ऐश्वर्या मल्ल, पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल अतिथिको रुपमा उपस्थित थिए ।

प्रतिक्रिया