दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिका– २ सुकाठोकरमा प्रसिद्ध श्री गाईखुरा महादेवको मूर्ति हेर्नका लागि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।
आपत विपत, दुर्घटनाबाट जोगाउने, अकालमा मृत्यु हुनबाट बचाउने, रोगब्याधि ठिक हुने, निसन्तान जोडी सोमबार आएर रुद्रि, चण्डी, सवा लाख बत्ती बालेर पूजा–आराधाना गर्दा चाहेको सन्तान प्राप्त हुने । परिवारमा कुनै संकट नपर्ने हुँदा भक्तजनमा आकर्षण बढ्दै गएको छ ।
यो गाईखुरा महादेवको मूर्तिमा गाईको पाईला, थुन र खुर बाघको पञ्जा, शिव लिंग प्रस्ट देख्न सकिन्छ । दुई जिवित पहेँला नाग बेला–बेलामा शिलालाई बेरेर बस्छन् । यो शिला कसैले बनाएर राखेको भने हैन गाईले आफैँ दुध झारी रहेको अवस्थामा गोठालाले देखेर खनेर हेर्दा यो शिला पत्ता लागेको स्थानीयको भनाईछ ।
कम्तिमा पनि तीन–चार सय वर्ष पहिलाको हुनुपर्छ यो गाईखुरा महादेवको मन्दिरमा आएर रुद्री पूजा आराधना गरी वरदान माग्दा मागेको बर पाइने विश्वास छ । गाईखुरा महादेवको फोटोलाई मन्दिरमा बेद, रुद्री लगायत परिवारै बसेर पूजा आराधाना गरी जगाएर घरमा राख्दा कुनै संकट नपर्ने हुँदा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आउने गर्दछन् ।
कतिपय सदरमुकाम चरिकोटमा बसेर भोलिपल्ट गाईखुरा महादेव मन्दिरमा दर्शन गर्न जाने गरेका छन् । सडक सञ्जाल जोडिएसँगै दैनिक यो मन्दिरमा दर्शन गर्ने र रुद्री, वेद, सवालाख बत्ती बाल्ने र घुम्नका लागि आउने धार्मिक पर्यटकको संख्या बढेको मेलुङ गाउँपालिका वडाध्यक्ष रामकृष्ण भण्डारीले बताए ।
सदरमुकाम चरिकोट देखि १७ कि.मि. तामोशी र तामाकोशीबाट १३ किलोमिटर यात्रा गरेर गाईखुरा मन्दिर पुग्न सकिन्छ । अहिले मन्दिरमा दर्शन गर्ने र घुम्न आउने आन्तरिक धार्मिक पर्यटकको संख्या बढेको छ । विकटता तथा प्रचार प्रसारको कमिको कारण छायाँमा परेको स्वयम् उत्पन्न गाईखुरा महादेव मन्दिरको विकासको लागि मेलुङ गाउँपालिकाले कम्पाउण्ड लगाएत विभिन्न कार्यक्रम तथा पूर्वाधार निमार्णको काम गर्दै आईरहेको गाउँपालिकाका प्रमुख हिरा थोकरले बताए ।
गाईखुरा महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थानकोे रुपमा विकास गर्दै आन्तरिक तथा वाह्य पर्यटकहरुको वृद्धि गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणका लागि डिपिआर तयार गर्ने थोकरले बताउनु भयो साथै संघिय सभासद गंगा कार्की, प्रदेश सभासद कुन्दन राज काफ्लेले गाईखुरा महादेवलाई नमूना धार्मिक पर्यटकीय तीर्थस्थल बनाउन आवश्यक पहल गर्ने बताएका छन् ।
दोलखा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्थाले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउँने काम गर्दै आएको छ । १० घरलाई होमस्टेको व्यवस्था गर्न माग गरिएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटी २ लाख ३१ हजार जम्मा भएको कोषाध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।
आफू र आफ्नो परिवारको सुरक्षाको लागि स्थानीयले पालैपालो पूजा गर्दै आएको र केही समयदेखि अखण्ड दियो बत्ति बाल्दै आएका छन् । कालिञ्चोक भगवती र दोलखा भिमेश्वर मन्दिर दर्शन गरी गाईखुरा महादेव मन्दिर पनि दर्शन गरेर फर्किने धार्मिक पर्यटक बढेका छन् ।
काठमाडौं कोटेश्वरबाट सिधै गाईखुरा मन्दिरसम्म बसको व्यवस्था रहेको छ भने चरिकोट सदरमुकामबाट प्रत्येक दिन दिनको २ बजे मन्दिरसम्मको लागि बसको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया