महिला जनप्रतिनिधीको लागि क्षमता अभिवृद्धि तालिम

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकाका महिला जनप्रतिनिधीको लागि नेतृत्व, विकास तथा क्षमता अभिवृद्धि तालिम मान्ममा शुरु भएको छ । महिला जागृति समाज कालीकोटको आयोजना, टेवा नेपाल काठमाडौंको आर्थिक सहयोग र शान्तिका लागि साझा अभियानको समन्वयमा ३ दिने नेतृत्व, विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको हो । प्रायः महिलालाई धेरै अवसर नमिल्ने तथा नेतृत्व, विकासका क्षेत्रमा महिलाहरुको बढ्दो सक्रियता नदेखिने हुनाले शुभकालिका गाउँपालिकामा रहेका महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास सम्वन्धिको तालिम दिइएको महिला जागृति समाजका अध्यक्ष पार्वती तिमल्सेनाले बताइन् ।

तालिम कार्यक्रममा महिला जागृति समाजका संस्थापक अध्यक्ष तथा शुभकालिका गाउँपालिकाका न्यायिक समिति संयोजक धर्मकला शाहीको अध्यक्षता, शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यको प्रमुख आथिति र प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको विशेष उपस्थिति रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जनप्रतिनिधीको काम कर्तव्य थाहा पाउनका लागि अर्थात महिलाहरुको स्वयम अधिकार क्षेत्र थाहा पाउनका लागि यो तालिम महत्वपुर्ण रहेको बताए । उनले कालिकोट जिल्लाका ९ वटै स्थानीय तहहरुले यस्तै तालिमहरुको आयोजना गरी महिला जनप्रतिनिधीको नेतृत्व विकासमा सहजता ल्याउनु पर्ने जिकिर गरे ।

शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले आफू पालिकामा सिकाईको चरणमा रहेकाले सवैको सकारात्मक सुझावको अपेक्षा गरेको बताए । सभ्य समाजको निर्माण गर्न महिला जनप्रतिनिधीहरु सक्षम हुनु पर्ने उनको भनाई छ । संस्थापक अध्यक्ष तथा शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले जुनसुकै क्षेत्रमा महिलाहरुको सहभागिता गराइएको तर अर्थपुर्ण सहभागिता हुनु पर्ने बताउदै सुन्दर, समृद्ध शुभकालिका बनाउन महिलाहरु स्वंयम सक्षम हुनुपर्ने बताइन् ।

तालिमको सञ्चालन संस्थाका व्यवस्थापक गोपिचन्द्र तिमल्सेनाले गरेका थिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक जयस्वर रिमाल, प्रशिक्षक बालमुकुन्द घिमेरे, बिन्द्रा महर्जनलगाएत महिला जनप्रतिनिधि, जिल्ला स्थित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया