सिन्धुली । पाँच वर्ष अगाडि सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका कमलामाई नगरपालिकाकी देवकी र सन्तोषको (नाम परिर्वतन) सम्बन्ध ३ वर्ष पनि टिकेन ।
विवाह भएको ३ महिनामै सन्तोष पत्नी र घरपरिवारलाई खुसि दिने अभिलासा बोकेर वैदेशिक रोजगारीका लागि कतार गए । वैदेशिक रोजगारीमा गएका सन्तोषको पत्निसँग खासै कुरा हुन्थेन ।
आफूले पत्नीसँग कुरा गर्न इच्छा गरेपनि पत्नीले विभिन्न बहाना बनाएर कुरा गर्न मन नगरेको सन्तोष बताउँछन् । ‘म विदेशमा हुँदा कहिल्यै पनि पत्नी मसँग नरिसाइ बोलिन, मैले फोन गर्दा रिसाउने, व्यस्त छु भन्थिइन्’, उनले भने ।
सन्तोष दुइ वर्ष नवित्दै वैदेशिक रोजगारीबाट घर फर्किए । तर, उनले पत्नी देवकीबाट पहिलेको जस्तो माया पाएनन् । विदेशबाट फर्किएको केही दिन राम्रै सम्बन्ध रहे पनि आफू विदेशमा हुँदा पत्नीले परपुरुषसँग सम्बन्ध राख्ने गरेको गाइँगुइँ चलेपछि उनीहरूबीच सुरु भएको खटपट बोलचाल बन्द हुने स्थितिमा पुग्यो ।
सासुससुराले पनि देवकीलाई नराम्रो व्यवहार गर्न थाले । दिनहुँ पतिको कुटाइले थकित बनेपछि उनले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन । अन्ततः जिल्ला अदालतमा उनीहरूको सम्बन्ध विच्छेद भयो । सम्बध विच्छेदपछि सन्तोष कतारमा नै छन् भने देवकी काठमाडौंमा ।
वैदेशिक रोजगारीले पति–पत्नीबीचको सम्बन्धमा प्रतिकुल प्रभाव पारेको उदाहरण सिन्धुलीमा थुप्रै भेटिन्छन् । घरपरिवारलाई सुख दिने सपना बुनेर विदेश गएकाहरूलाई यस्ता घटनाले निरास बनाउने गरेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा जिल्ला अदालत सिन्धुलीमा १ सय ३८ वटा सम्बन्ध विच्छेदको मुद्दा परेका छन् ।
मुद्दा दायर गर्ने अधिकांश पुरुष वैदेशिक रोजगारीबाट फर्किएकाहरू रहेको कार्यालयले जानकारी दिएको छ । सम्बन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदै छ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, घरेलु हिसां र पे्रम विवाह मात्र नभई वैदेशिक रोजगारीले परिवारसँग छुट्टिएर बस्नुपर्दा पनि सम्बन्ध विच्छेदका घटना धेरै भइरहेका छन् ।
पत्नीले घरव्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा रहँदा धनसम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध जोडेको जस्ता आरोपसहित सम्बन्ध विच्छेदका मुद्दा लिएर अदालत जानेहरूको संख्या धेरै रहेको छ ।
सिन्धुली अदालतमा सबैभन्दा धेरै मुद्दा नै सम्बन्ध विच्छेदको पर्ने गरेको जिल्ला अदालतले जनाएको छ । पछिल्ला केही वर्षयता जिल्लामा सम्बन्ध विच्छेद गर्ने दम्पत्तीको संख्या बढ्दै गएको छ । दैनिकजसो सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत सिन्धुलीका स्रेस्तेदार भरत दाहालले बताए ।
विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै पति–पत्नीको सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्ध विच्छेदमै पुगेर टुंगिने गरेको छ । वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण सम्बन्ध विच्छेदको घटनामा तीव्र वृद्धि भएको स्रेस्तेदार दाहालले बताए ।
‘पति–पत्नीबीचका अधिकांश सम्बन्ध विच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पाइन्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा दुई–तीन वर्ष बिताएर घर फर्किएपछि पति–पत्नीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्ध विच्छेद गर्ने चलन बढ्दो छ ।’
वैदेशिक रोजगारीमा दुई–तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्नीको आचरणमाथि शंका गर्नु, पति विदेशमै रहेका बेला परपुरुषसँग पत्नीको सम्बन्ध जोडिनुजस्ता कारणले जिल्लामा सम्बन्ध विच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको अधिकारकर्मीहरूको भनाइ छ ।
प्रतिक्रिया