अपांगता भएकालाई छुट दिन सार्वजनिक यातायातामा स्टिकर

लमजुङ । लमजुङमा अपांगता भएकाहरुलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने सरकारी निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । बिहीबार सार्वजनिक यातायातमा सो सम्बन्धि स्टिकर टाँस्दै अपांग संरक्षण समाज लमजुङले यस्तो माग गरेको हो ।

बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले कालीका यातायात सञ्चालक समितिद्वारा सञ्चालित माइक्रोबसमा स्टिकर टाँँस्दै अपांगता भएकाहरुलाई भाडादरमा ५० प्रतिशत छुट दिने राज्यले दिएको अधिकार तत्काल कार्यान्वयन गर्नुपर्ने बताइन् ।

बेसीशहर नगरपालिका, सामाजिक विकास मन्त्रालय, कालीका यातायायत प्रालि र अपांग संरक्षण समाजले संयुक्त रुपमा स्टिकर तयार गरेका हुन् । लमजुङ कालीका यातायात प्रालिका अध्यक्ष कृष्णबहादुर अधिकारीले ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अपांग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेल, अपांग संरक्षण समाज लमजुङका सचिव सिताराम बसेल, जिल्ला ट्राफिक कार्यालय लमजुङका वरिष्ठ हवल्दार गेहेन्द्रप्रसाद सिम्खडालगायतको उपस्थिती रहेको थियो ।

अपांगता भएका व्यक्तिका लागि अधिकारसम्बन्धि ऐन २०७२ ले अपांगता भएका व्यक्तिको भावनाको प्रतिनिधित्व गर्दै धेरै अधिकारको स्थापना गरेअनुसार २०७४ को परिच्छेद ८ अनुसार अपाङगता भएका व्यक्तिलाई सहुलियत र सुबिधाको दफा ३७.२ अनुसार दिएको सेवालाई माग गर्दै कार्यक्रम गरिएको अपांग संरक्षण समाज लमजुङका सचिव सिताराम बसेलले बताए ।

प्रतिक्रिया