भेलु बाजे र उनलाई उक्साएर बोल्न लगाउने युट्युबरलाई कारवाहीको माग गर्दै निवेदन

काठमाडौं । युट्युब च्यानल र सामाजिक सञ्जालमा ‘भेलु बाजे’ भनेर चिनिएका मिनबहादुर बुढा र उनलाई उक्साएर बोल्न लगाई समाजमा अपाच्य खालका शब्द भएका भिडियो बनाउनेहरुलाई पक्राउ गरी कारवाहीको माग गर्दै निवेदन परेको छ ।

सोमबार सुवास जिसी नाम गरेका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय प्युठानमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई निवेदन पत्र बुझाएका हुन् ।

भेलु बाजेका त्यस्ता खालका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक ३ प्युठानका सुवास जिसीले निवेदन दिएका छन् ।

‘भेलुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकाले यथाशिघ्र भेलुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ’, जिसीले निवेदनमा उल्लेख गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालयकी प्रमुख सुनिता नेपालले पनि केही सामाजिक सञ्जालहरुले मदिरा सेवन गराई केही व्यक्रिबाट अभिनयमार्फत समाजमा अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रयोग गरी विभिन्न क्रियाकलाप (हर्कत) गर्ने गराउने गरेको कारण समाजमा विकृति फैलिई नकरात्मक प्रभाव परेको तथा बालबालिकाहरुमा समेत असर गर्ने हुँदा त्यस्ता कार्यहरु नगर्न र नगराउन अनुरोध गर्दै त्यस्ता कार्य गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताएकी छन् ।

प्रतिक्रिया