शुक्रबारसम्म नवनिर्वाचित सांसदलाई सपथ खुवाउने तयारी

काठमाडौं । संसद् सचिवालयले आगामी शुक्रबारसम्म नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सपथ खुवाउने तयारी थालेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सांसदमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पहिले पद तथा गोपनीयताको सपथ खुवाएपछि उनले सबै सांसदलाई सपथ खुवाउने भएका छन् ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन् । संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।

अहिले सचिवालयले निर्वाचन आयोगसँग प्रतिनिधिसभा सदस्यको विवरण मागेको र तीमध्ये ज्येष्ठ सदस्यको नाम छनोट गरेर राष्ट्रपतिसमक्ष पठाउने गृहकार्यमा सचिवालय जुटेको छ । सांसदहरूलाई सपथ खुवाउन दुई–तीन दिनअघि नै सूचना जारी गर्नुपर्ने हुन्छ ।

किनकि प्रतिनिधिसभा सदस्यमा विभिन्न जात, समुदाय, क्षेत्रबाट सांसदहरू निर्वाचित भएर आएका छन् । उनीहरूले आफ्नै मातृभाषामा सपथ लिन चाहेमा संसद् सचिवालयले सोहीअनुसारको सपथ पत्र तयार गर्नुपर्ने हुन्छ ।

तर, अहिलेसम्म ज्येष्ठ सदस्य को भन्ने अझै स्पष्ट भइसकेको छैन । नागरिकताअनुसार हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया