आधा दर्जन संस्कृतिकर्मी सांसद्

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आधा दर्जन बढी संस्कृतिकर्मी निर्वाचित भएका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फबाट उनीहरु निर्वाचित भएका हुन् । निर्वाचनमा करिब दुई दर्जन बढी संस्कृतिकर्मी विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । रुकुमपूर्वबाट प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) बाट पूर्णबहादुर घर्तीले प्रत्यक्षतर्फबाट विजय हासिल गरेका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार बनेका उनी संगीतकर्मीका रुपमा परिचित छन् ।

लुम्बिनी प्रदेशसभाका निवर्तमान सभामुख घर्तीले रुकुमपूर्वबाट प्रतिनिधिसभा निर्वाचनमा १२ हजार २ सय ६२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत मात्र प्राप्त गरेका छन् । घर्ती जनयुद्धकालमा सांस्कृतिक अभियानमा सक्रिय थिए । उनी गीत रचना र संगीतमा दख्खल राख्छन् । यस्तै, समानुपातिकतर्फ माओवादी केन्द्रबाट रणेन्द्र बराली प्रतिनिधिसभा सांसद बनेका छन् । उनी माओवादी निकट अखिल नेपाल लेखक संघको केन्द्रीय सदस्य, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका महासचिव तथा दलित साहित्य प्रतिष्ठानका अध्यक्षसमेत हुन् । उनका करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।

नेकपा एमालेनिकट संस्कृति विभाग तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज रघुजी पन्त पनि समानुपातिक सांसद बनेका छन् । एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका पन्त यसअघि २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित सांसद हुन् । उनी २०६४ र २०७० सालमा सोही क्षेत्रबाट पराजित भएका थिए । उनी एक पटक मन्त्री र २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारसमेत भएका थिए ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले चलचित्र निर्माता तथा निर्देशक असिम शाहलाई समानुपातिकतर्फको सांसद बनाएको छ । काठमाडौंनिवासी ४१ वर्षका शाह राजनीतिमा आउनुअघि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले चलचित्र ‘२ रूपैयाँ’ बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश कमिटी अध्यक्ष तथा जनसांस्कृतिक महासंघ नेपालका निवर्तमान अध्यक्ष सरल सहयात्री पौडेल सिन्धुपाल्चोक १ को ख बाट प्रदेश सांसदमा विजयी भएका छन् । कथा, कविता, उपन्यासका कलम चलाउँदै आएका सहयात्रीका कथासंग्रह, कविता र उपन्यास प्रकाशित छन् । उनी सगरमाथा आरोही तथा पूर्वजनमुक्ति सेनाका बिग्रडियर कमाण्डरसमेत हुन् । यस्तै, प्रदेशतर्फ अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उनले नेकपा एमालेका उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै १७ हजार ८३२ मत प्राप्त गरी विजयी भएका हुन् । आचार्यले १६ हजार ५३८ मत प्राप्त गरेका थिए । श्रेष्ठले चलचित्र निर्माण तथा अभिनय गरेका छन् ।

यसैगरी, कास्की क्षेत्र नम्बर १ ‘ख’ बाट वेदबहादुर गुरुङ ‘श्याम’ प्रदेश सांसदमा विजयी भएका छन् । उनले कांग्रेसका दीपक गुरुङ ‘माइला’ लाई पराजित गरेका हुन् । श्यामले १२ हजार ६६१ र माइलाले ११ हजार ६९४ मत प्राप्त गरेका छन् । श्याम मादी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । २०५२ सालमा निर्माण गरिएको गुरुङ चलचित्र ‘कुहिरो’ बाट अभिनय थालेका श्याम ‘गुरुङ फिल्म एसोसिएसन (जिफान)’ का पूर्वअध्यक्षसमेत हुन् । उनको निर्देशनमा गुरुङ चलचित्र ‘हाम्रो गाउँघर नामक’ बनेको छ । लुम्बिनी प्रदेश प्युठान (ख) बाट चलचित्र निर्माता सरोज (रोज) राणा निर्वाचित भएका छन् ।


चर्चित अभिनेत्री रेखा थापा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भइन् । माओवादीबाट राजनीति यात्रा थालेकी उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेकी थिइन् । उनी नेपाली कांग्रेसका उम्मेद्वार डा. सुनिल शर्मासँग पराजित भइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लेखक युग पाठक पनि पराजित भएका छन् । उनी झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यसैगरी चर्चित गायिका कोमल वली पनि कांग्रेसका दीपक गिरीसँग पराजित भइन् । प्रत्यक्षतर्फ दाङ क्षेत्र ३ बाट नेकपा एमालेको उम्मेद्वार बनेकी उनी यसअघि राष्ट्रियसभा सदस्य रहिसकेकी छन् । नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकतर्फ राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका पूर्वउपाध्यक्ष तथा गायिका पवित्रा घर्ती मगरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको थियो । नेकपा एस राष्ट्रिय पार्टी नबन्दा उनी सांसद बन्न पाइनन् । काभ्रे २ बाट चलचित्र निर्देशक मनोज पण्डित प्रतिनिधिसभा सदस्यमा एमाले नेता गोकुलप्रसाद बाँस्कोटासँग पराजित भएका छन् ।

प्रतिक्रिया