बाध्यात्मक परिवेशमा बढी लेख्छु

ईश्वरचन्द्र ज्ञवाली

कृतिपरक समीक्षा, विषय वस्तुगत समालोचनाभन्दा व्यक्तिकेन्द्री समालोचना अघि आएका छन् । सौन्दर्य चिन्तनको क्षेत्र अहिले पछि परिरहेको छ । संस्कृति रुपान्तरणको बहसले साहित्य समालोचनामा स्थान पाउनु पर्छ भन्ने लाग्छ

ईश्वरचन्द्र ज्ञवाली, नेपाली वाङ्मयमा कवि, समालोचक तथा प्रगतिवादी संस्कृतिकर्मीका रुपमा परिचित नाम हो । उनका हुरीका स्पन्दनहरु, यसरी देश मरिरहेछ, हाम्रो रातो यात्रा, आगोका शब्दबिम्ब, वर्गसङ्घर्षको सन्दर्भः संस्कृति र सौन्दर्य, प्रगतिवाद र समालोचना लगायतका कृति प्रकाशित छन् । चार दशकदेखि प्रगतिवादी साहित्यका क्षेत्रमा कलम चलाउँदै आएका ज्ञवालीसँग सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले साहित्य, समालोचना तथा संस्कृतिका बारेमा गरेको संक्षिप्त कुराकानीः

० लेखनकर्म कसरी अगाडि बढाइरहनुभएको छ ?

– जीवनको सक्रियताले नै लेखनको पनि सक्रियता हुँदो रहेछ । जीवन, व्यवहारमा शिथिलता हुनासाथ लेखनमा पनि शिथिलता आउँछ । कसको लागि के लेख्ने ? के कुरा कुन उद्देश्यका लागि लेख्ने र लेखनको सार्थकता के हो ? कसरी लेख्यो भने लेखनको प्रभाव समाज र जीवनमा पर्छ ? जनमानसमा पर्छ ? भन्ने निर्धारित नगरी लेख्नाले झाँग वा झाडीमा जेलिएको यात्रा जस्तो दिशाहीन हुँदोरै’छ । तसर्थ जीवन, व्यवहार, समाज, जनताबीच गाँसिदा जति लेखन गतिशील र सक्रिय हुन्छ नहुँदा स्वतः कमी र शिथिलता आउँछ । आएको छ । म बाध्यात्मक परिवेशमा बढी लेख्छु । त्यसैले आजभोलि कम लेख्ने गरेको छु । तापनि केही लेखिरहेको छु । केही पुस्तक तयार छन् । प्रगतिवाद र समालोचना, केही पहिले प्रकाशित भएको छ । सौन्दर्य र संस्कृति चिन्तन, प्रकाशन क्रममा छ । आलोकका प्रतिबिम्ब, कविता संग्रह तयार छ । प्रकाशक भेटिए त्यो पनि प्रकाशित हुन्छ ।

० यहाँले संस्कृति र समालोचनासँगै साहित्यका विविध विधामा कलम चलाउँदै आउनुभएको छ । यहाँको दृष्टिमा नेपाली साहित्यको अवस्था कस्तो छ ?

– नेपाली साहित्यले अन्तर्राष्ट्रिय क्षेत्र र स्तरमा प्रवेश गरेको छ । पछिल्लो चरणमा आख्यानतर्फ लेखक बढी आकर्षित छन् । एकै विषयचिन्तन,अनुसन्धेय कृति, खोज अनुसन्धानमूलक ग्रन्थ लेखनतर्फ लेखक लाग्नु पर्ने आवश्यकता छ । इतिहासलाई उत्खनन र भण्डारण गर्ने काम पनि कम छ । प्रगतिवादी साहित्यमा इतिहास लेखन अहिलेको आवश्यकता हो र त्यसले भविष्यमा अतीतको बोध गराउने आधार प्रदान गर्छ । त्याग, वलिदान, संघर्ष, परिवर्तनलाई साहित्यमा उतार्नु, र इतिहास बिम्ब सिर्जना गर्नु पर्छ ।

० नेपाली साहित्यमा देखापरेको मूल समस्या के हो ?

– यतिखेर त्याग, बलिदान, उत्सर्ग माथि हिलो छ्याप्ने, विवेकहीन, प्रतिगामी, पछौटे चिन्तनले टाउको उठाएको छ । तसर्थ जनयुद्धको महान् त्याग, उदात्त शौर्य र साहस, अप्रतिम बलिदान, उत्सर्गको उच्चता र त्यसले ल्याएको परिवर्तनमा जन्मेर हुर्केकाहरु र परिवर्तनको स्वाद रोजी–रोजी चाख्ने र तृप्त हुनेहरुले नै त्यो परिवर्तन र उपलब्धिविरुद्ध विषवमन गरिरहेको पाइएको छ । त्यो विषवमन र घृणा गर्ने आधार र स्वतन्त्रता त्यही परिवर्तन बापत प्राप्त भएको भन्ने बुझ्न नसकेको स्थिति छ । गणतन्त्र, संघीयता, समानुपातिक समावेशी अवस्था, दलित महिला जनजाति मधेसी थारु मुस्लिमले प्राप्त गरेको अधिकारको स्वाद त खाने तर त्यसैलाई गाली गर्ने, घृणा गर्ने, यो प्रवृत्ति व्यतिरेकी र विरोधाभाषी छ । यही आजको अभिव्यक्तिगत ठुलो विडम्बना र समस्या हो तापनि साहित्यका अरु धेरै समस्या पनि छन् । रुप र सारबीच असन्तुलन, गुणस्तरीयतामा ह्रास, व्यक्तिस्वार्थी लेखन पनि आजका समस्या हुन् ।

० नेपाली समालोचनालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

– नेपाली समालोचना धेरैमाथि उठेको छ । गुणस्तर पनि उठ्दै गएको छ तर समालोचकको मात्रा घट्दै जान थालेको हो कि भन्ने आभाष चाहिँ हुन्छ । कृतिपरक समीक्षा, विषय वस्तुगत समालोचनाभन्दा व्यक्तिकेन्द्री समालोचना अघि आएका छन् । सौन्दर्य चिन्तनको क्षेत्र अहिले पछि परिरहेको छ । संस्कृति रुपान्तरणको बहसले साहित्य समालोचनामा स्थान पाउनु पर्छ भन्ने लाग्छ । समग्रमा नेपाली समालोचनाले अझै फड्को मार्नु पर्ने र अन्तर्राष्ट्रिय स्तर पाउन निष्पक्ष, स्वतन्त्र, विवेकपूर्ण हुँदै प्रभाववादबाट माथि उठ्न आवश्यक छ ।

० यो सही ढंगले हुन सकेको छ त ?

– समालोचना सही हुन व्यक्ति–प्रभावबाट मुक्त हुन जरुरी छ । व्यक्तिकेन्द्री होइन विषय र विचारकेन्द्री, कृति र त्यसको अन्तर्यमा आधारित हुनु पर्छ । समालोचक पुरस्कारको लोभमा, नियुक्तिका चाहनामा, आर्थिक स्वार्थ पूरा गर्नमा, अनपेक्षित व्यक्ति उठानको अभियानमा, चर्चा र प्रसिद्धिको उद्देश्यमा आधारित भएर समीक्षा, समालोचना गर्नेतर्फ होइन, स्वतन्त्र, निष्पक्ष, आग्रहरहित, शिल्प र विधिमा समेत ध्यान दिँदै रुप र सारको, व्यक्ति र चिन्तनको सामञ्जस्यतामा समालोचना गर्ने प्रवृत्तितर्फ लाग्नुपर्छ । आफूलाई मन परेको मान्छे भए आकाशमा उठाउने र मन नपरेको भए वा विचार नमिले पाताल धसाउने समालोचना विधि त्याग्नु पर्ने जरुरी छ ।

० यहाँको विचारमा कस्तो समालोचनाले बौद्धिक बहसलाई सही दिशा दिन सक्छ ?

– माथि नै भनिसकें निष्पक्ष, निस्वार्थ, दूराग्रहरहित, विवेक र विधिसम्मत विचार, चिन्तन, विषयवस्तु, भाव, रचनाशिल्प र अन्तर्यको तादात्म्य मिलेको, विना कुनै पूर्वाग्रह समालोचना गर्ने प्रवृत्ति निर्माण हुन जरुरी छ ।
आफ्नो पार्टीको (विचारको) व्यक्ति तुच्छ भए पनि महान्, अर्को पार्टी (विचार) को व्यक्ति महान् भए पनि तुच्छ हेर्ने आँखाको दृष्टिदोष हटाउनु जरुरी छ । विवादबाट चर्चामा हैन, नकारात्मक विषयबाट प्रसिद्धि हासिल गर्ने होइन सत्य तथ्यको अन्वेषणबाट यी दुवै प्राप्त गर्ने समालोचनाले मात्र बौद्धिक बहस सिर्जना गर्छ । कृतिको रचनागर्भ र यथार्थमा आधारित तथा विचार र चिन्तनपरक समालोचनाले नै बौद्धिक बहस सिर्जना गर्छ ।

० नेपालको प्रगतिशील/प्रगतिवादी साहित्य तथा समालोचनालाई यहाँले कसरी नियालिरहनु भएको छ ?

– प्रगतिशील, प्रगतिवादी समालोचनाको गुणात्मकताभन्दा बढी मात्रात्मकता भएको जस्तो लाग्छ । बुर्जुवा समालोचनाको गुणस्तरसँग प्रतिस्पर्धा गर्न, खोज, अनुसन्धान, अन्वेषण, ऐतिहासिकता, सौन्दर्य बोध र चिन्तन, रुप–सीप–शैलीको उचाइँलाई प्राप्त गर्न प्रसस्त प्रयत्न हुन आवश्यक छ । इतिहासको खोज पनि धेरै हुन सकेको छैन । प्रगतिवादी स्रष्टालाई स्थापित गर्ने र स्थायीत्व प्रदान गर्ने काममा प्रगतिशील समालोचना लाग्नु पर्छ । प्राध्यापकीय, विश्वविद्यालयीय आवश्यकता पूरा गर्न र विद्यार्थीका चाहनालाई मध्यनजर गरेर लेख्ने रोग अझ बढी छ । आफ्ना प्रतिभा र सिर्जना चिन्न नसक्नु, तथा तिनको खोजीनीति गरी स्थापित गर्ने काममा जोड नदिनु यसको सीमा हो ।

० प्रगतिवादी संस्कृतिको जगाधार कमजोर बन्दै गइरहेको हो ?

– संस्कृतिको कुरा गर्दा यसभित्र धेरै कुरा आउँछन् । विचार, व्यवहार, आचरण, मान्यता, जीवनशैली र उपयोग, यथार्थ र आदर्शको समग्रता संस्कृतिका पाटा हुन् । यी तत्वमा संघर्ष त्याग बलिदान, मर्यादा उदात्त भाव चरित्रसँगै आर्थिक आचरण र जनसम्बन्ध पनि गाँसिएका छन् । परिवर्तनको अनुभूति भएर मात्र हुन्न त्यो प्रत्याभूतिसम्म पुग्नु पर्छ । जीवन समाज गाउँ सहर व्यक्ति प्रवृत्ति संस्था समूहले परिवर्तन अनुभूति गर्न पाउनु पर्छ र आदर्श अनुरुप आचरण, शब्द अनुरुप कर्म, दृष्टिकोण र सोंचाइ अनुरुप व्यवहारबीच तालमेल संगति, सामञ्जस्य वा तादात्म्य हुन नसक्नु वर्तमान प्रगतिशील संस्कृतिको आधार कमजोर हुनु हो । ढाँट, ठग, जालझेल, झुट आश्वासन, गफ, हल्लाको भरमा कुदेको आदर्शले प्रगतिशील संस्कृति धान्न सक्दैन ।

० राजनीतिक आन्दोलन सफल हुने तर त्यसको मर्मअनुसारको संस्कृति निर्माण नहुँदा जनतामा निराशा उत्पन्न भइरहेको छ नि ?

– राजनीतिक सत्ता फेरिँदैमा सांस्कृतिक सत्ता फेरिँदैन । रक्त क्यान्सर निको पार्न जसरी समग्र शरीरको रगत फेर्ने वा शुद्ध पार्ने गर्नु पर्छ त्यसरी नै मान्छेको आदत स्वभाव प्रवृत्ति सोंच चिन्तन संस्कार व्यवहारमा जमेर बसेको शोषण, विभेद अपराध लुट दोहन, भ्रष्टाचार, बेथिति, विसंगति, विकृति, ठगी, बेइमानी जस्ता नीच प्रवृत्तिहरु मान्छेको संस्कृतिको, चरित्रको, आदत र आचरणको रगतबाट झिकेर फ्याक्न ठुलो सांस्कृतिक क्रान्तिको जरुरत पर्छ । राजनीति फेरिँदैमा आदत नफेरिँदो रहेछ । व्यवस्था फेरिँदैमा सत्ता नफेरिँदो रहेछ । ब्रम्हलुटको भ्रष्टाचारी उत्तरदायित्व विहीन शोषणमूलक आर्थिक सत्ताले, पद्धतिले, नीतिले त्यो सांस्कृतिक परिवर्तन आउन दिएन । संस्कृतिमा सामन्तवाद, शोषणवाद, एकाधिकारवाद, दलाली र दासत्ववाद, नोकरशाही तन्त्र, विभेद र अन्याय तन्त्र, एकात्मकता र केन्द्रीयतावाद जस्ताको तस्तै भएकोले सांस्कृतिक परिवर्तन हुन सकेको छैन । सांस्कृतिक सत्ता परिवर्तनको बाटो, आर्थिक सत्ता परिवर्तनको बाटो, अबको राजनीतिले पक्रनु जरुरी छ । त्यसैले नै राजनीतिक परिवर्तन अनुसार सांस्कृतिक परिवर्तन हुन नसकेको हो ।

० अबको साहित्यको मार्गचित्र कस्तो हुनुपर्छ ?

– परिवर्तनको वास्तविक अनुभूति दूरदराजका गरिब पिछडिएका वर्गले गर्न पाएनन् । उनै एलाइट वर्ग ( सम्भ्रान्त, सामन्त, धनाढ्य, चुसुवा वर्ग) नै परिवर्तनमा हावी भए । मजदुर किसान गरिब उपेक्षित वर्ग जस्ताको तस्तै रह्यो । एलाइट वर्गले आर्थिक र सांस्कृतिक सत्तामा टसको मस गर्नै दिएनन् । उल्टो दलाल पुँजीवादी र नोकरशाही पुँजीवादीको हालीमुहाली यथावत् रह्यो । यसले जनतामा निराशा ल्यायो । त्यत्रो चौध हजारको बलिदान भयो, रगत बग्यो, हजारौं हजार विधवा टुहुरा र अभिभावकविहीन भए । उनीहरुको परिवार अस्तव्यस्त भयो । आर्थिक स्थिति चकनाचुर भयो । पारिवारिक विघटन र विचलन भयो । तर प्राप्ति के ? तिनै एलाइट चुसुवा वर्गकै फेरि एकलौटी ? यसैले निराशा ल्याएको हो । अब त्यो वर्ग र त्यो संस्कृतिविरुद्ध वासन्ती संग्राम छेड्न जरुरी छ । यसको अर्थ केही पनि भएन भनेको हैन, केही उपलब्धि भएका छन् तर ती पर्याप्त भएनन् ।

यो वस्तुगत सांस्कृतिक र आर्थिक स्थितिमा रुपान्तरण ल्याउने मार्ग नै साहित्य कला संस्कृतिको अबको मार्ग हो । अब पन्ध्र वर्षको यो पर्खाइमा विचलन आएको छ । जनतामा असन्तुष्टि व्याप्त छ चुनावी परिणामले त्यो छनक दिएकै छ । त्यसको सम्बोधन माओवादीहरुले नै गर्नु पर्छ । किनकि यो परिवर्तन माओवादीले गरेको जनयुद्धकै परिणाम हो । यसको उत्तरदायित्व पनि उनैले लिनु जरुरी छ । पछि हटेर हैन अघि बढेर थाकेर हैन डटेर परिस्थितिको सामना गर्नै पर्छ ।

प्रतिक्रिया