मधेशको पहिलो प्रत्यक्ष निर्वाचित महिला स्वतन्त्र सांसद बनिन् सुरिता

काठमाडौं । मधेश प्रदेशसभाको कूल ६४ सिटमध्ये ४ सिटमा महिला उम्मेदवार विजयी भएका छन् । जसमध्ये एक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवारीबाट विजयी हुनेमा सुरिताकुमारी साह रहेकी छन् ।

उनले महोत्तरी क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट विजयी भएकी हुन् । ५६ वर्षीय साहले ८ हजार ५६८ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेश्वर यादवलाई पराजित गर्दै साह विजयी भएकी हुन् ।

कांग्रेसका यादवले ६ हजार ८०२ मत ल्याएका थिए । लालटिन चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार रहेकी साहले स्नातकोत्तर गरेकी छन् । विसं. २०२२ फागुन ११ गते जन्मिएकी साह यसअघि सामाजिक क्षेत्रमा सक्रिय थिइन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट वेची लुंगेलीले पनि प्रत्यक्षतर्फ चुनाव जितेकी छन् । लोकतान्त्रिक समाजवादीका तर्फबाट रानीकुमारी तिवारी निर्वाचित भएकी छन् । नेकपा एमालेका तर्फबाट शारदादेवी थापा रहेकी छन् । उनले महोत्तरी प्रदेश सभा १ बाट विजयी भएकी हुन् । यस प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । उसले १५ सिटमा जित निकालेको छ । दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेसले ६४ सिटमध्ये १३ सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७ , जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्रले ६ सिट जितेका छन् ।

प्रतिक्रिया