विश्वकपबाट बाहिरिए तीन पूर्वविजेता : क्वार्टरफाइनल समिकरण पुरा

दोहा । फिफा विश्वकप फुटबल प्रतियोगिताको २२औं संस्करणको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । बुधबार विहान सम्पन्न पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै क्वार्टरफाइनल समितिकरण पुरा भएको हो । उक्त खेलमा ६—१ गोलले विजयी हुँदै पोर्चुगल क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बन्यो ।

पोर्चुगलसँगै इङ्ल्यान्ड, फ्रान्स, मोरक्को, नेदरल्यान्ड्स, अर्जेन्टिना, क्रोएसिया र ब्राजिल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । हालसम्म आठ राष्ट्रले मात्र विश्वकपको उपाधि जित्न सकेका छन् । विश्वकपका पूर्वविजेता आठमध्ये यसपटक सात राष्ट्र अन्तिम चरणमा छनोट भएका थिए ।

पूर्वविजेता इटाली भने यसपटक विश्वकपमा छनोट हुन सकेन । पूर्वविजेतामध्ये तीन राष्ट्र जर्मनी, उरुग्वे र स्पेन पराजित भएर घर फर्किसकेका छन् । चार पटकको विश्वकप विजेता जर्मनी समूहगत चरणबाटै घर फर्किएको छ ।

यसैगरी पहिलो र चौथो संस्करणको विश्वकप विजेता उरुग्वे पनि समूहगत चरणबाटै घर फर्कियो । सन् २०१० मा विश्वकप जित्ने स्पेन पनि प्रिक्वार्टरफाइनल चरणबाट घर फर्किन बाध्य भयो । स्पेनलाई मोरक्कोले हराएको हो ।
यस पटक एसियाली राष्ट्रहरु क्वार्टरफाइनलमा पुग्न सकेनन् । एसियाली राष्ट्र जापान र दक्षिण कोरिया प्रिक्वार्टरफाइनलमै पराजित भए । दक्षिण कोरियालाई ब्राजिलले र जापानलाई क्रोएसियाले हराए । पूर्वविजेतामध्ये इङ्ल्यान्ड, अर्जेन्टिना, फ्रान्स र ब्राजिल भने क्वार्टरफाइनलमा पुग्न सफल भए ।

अब प्रतियोगिताको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ । अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो । नेदरल्यान्ड्सले भने विश्वकपको इतिहासमा अभागी टोलीको चिनारी बनाएको छ । यसअघि तीन पटक विश्वकपको फाइनलमा पुगेर पनि नेदरल्यान्ड्सले उपाधि जित्न सकेको छैन ।

अर्को क्वार्टरफाइनल खेल क्रोएसिया र ब्राजिलबीच हुनेछ । ब्राजिल सबैभन्दा बढी विश्वकपको उपाधि जित्ने राष्ट्र हो । ब्राजिलले हालसम्म पाँच पटक विश्वकप जितेको छ । ब्राजिलले सन् १९५८, सन् १९६२, सन् १९७०, सन् १९९४ र सन् २००२ मा विश्वकप जितेको थियो । क्रोएसिया भने सन् २०१८ को विश्वकपको फाइनलमा पराजित भएको थियो ।

यसैगरी अर्को क्वार्टरफाइनल खेल इङ्ल्यान्ड र फ्रान्सबीच हुनेछ । यी दुबै राष्ट्र विश्वकपको पूर्वविजेता हुन् । इङ्ल्यान्डले सन् १९६६ तथा फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकप जितेका थिए । त्यसैले पनि यो क्वार्टरफाइनल खेलमा धेरैको आँखा गडेको छ । अर्को क्वार्टरफाइनल खेल पोर्चुगल र अफ्रिकी राष्ट्र मोरक्कोबीच हुनेछ ।

क्वार्टरफाइनल खेलहरु आगामी शुक्रबारदेखि सुरु हुनेछन् । प्रिक्वार्टरफाइनल चरणको खेल सकिँदासम्म कतार विश्वकपमा कुल १ सय ४८ गोल भइसकेको छ । फ्रान्सेली खेलाडी केलियन एमबाप्पे हालसम्मका सर्वाधिक गोलकर्ता हुन् । उनले जारी विश्वकपमा हालसम्म पाँच गोल गरेका छन् । जारी विश्वकपमा अब आठ खेल बाँकी छ । फाइनल खेल डिसेम्बर १८ तारिखमा हुनेछ ।

प्रतिक्रिया