काठमाडौं । सुदूरपश्चिम प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरका गजेन्द्र बोहरा १९ बलमा ६ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । ओपनर दीपक बोहरा दोेस्रो बलमै निर्मल गुरुङको बलमा शून्यमा बोल्ड भए ।
अर्का ओपनर दीपक बोहरा ३६ बलमा २ चौका र २ छक्कासहित २५ रनमा आउट भए । कप्तान अनुराग सिंह ३९ बलमा ४ चौकासहित २२ र मिलन बोहरा ६ रनमा आउट भए । गजेन्द्र बोहराले काउकर्नरमा अभिषेक गौतमलाई विजयी छक्का हानेका थिए । लुम्बिनी प्रदेशका रमेश कुमीले दुई, अभिषेक गौतम र निर्मल गुरुङले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अल आउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ६९ बलमा २ चौकासहित सर्वाधिक ३८ रनमा आउट भए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लज्जास्पद ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् । टियु एन्डबाट आएका मिलन बोहराले पाँच विकेट लिँदै सस्तैमा रोकेका हुन् । तीव्र गतिका बलर हेमन्त धामीले ओपनर देव खनाललाई सातौं ओभरको पाँचौं बलमा ७ रनमा एलबीडब्लू आउट भए । पहिलो विकेट जादा लुम्बिनीले २७ रन बनाएको थियो । त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो ।
हेमन्तले प्रज्ज्वल थापालाई ५ रनमा बोल्ड भए । अकाश चन्दले मनोज मगरलाई एक रनमा बोल्ड गरे । त्यसपछि मिलन बोहराले दयनीय अवस्थामा पुर्याए । मिलनले विशाल विक्रम केसीलाई ७ रनमा बोल्ड गरे । मिलनले अभिषेक गौतमलाई शून्यमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए । जारी प्रतियोगितामा मिलनको यो दोस्रो पाँच विकेट हो ।
यसअघि गण्डकीविरुद्ध उनले ६ विकेट लिएका थिए । सुदूरका मिलन बोहराले ९ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । नरेन साउदले ५. १ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले दुई र आकाश चन्दले एक विकेट लिए ।
विजेता सुदूरले दुई लाख र उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । गतवर्ष फाइनलमा लुम्बिनीले सुदूरलाई हराउँदै उपाधि जितेको थियो । सुदूर यस प्रतियोगितामा अपराजित रहँदै फाइनल खेलेको थियो । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहँदै फाइनल खेलेको थियो ।
प्रतिक्रिया