सुन्तला बजारीकरणको पुरानै शैली, छैन चिस्यान केन्द्र

रूकुम पूर्व । सिस्ने गाउँपालिका ८ सुनखानाका भिउसन नाथको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा छ । बगैँचामा दुई सय जति सुन्तलाका बोट छन् । सबै बोटमा सुन्तला लटरम्म फलेको छ । एक सिजनमा तीन लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन हुन्छ । अघिल्लो वर्ष उनले सुन्तला बिक्री गरेर दुई लाख जति आम्दानी गरे । यो वर्ष पनि दुई लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्ने उनको योजना छ । यो वर्ष सुन्तलाले राम्रो दाना लगाएको छ । एउटा बोटबाट चार हजार रुपैयाँको सुन्तला बिक्री भए पनि एक सय बोटबाट चार लाख रुपैयाँ आम्दानी हुने उनको भनाई छ ।

सोही ठाउँका गोपाल पुनको ३४ रोपनी क्षेत्रफलमा एक हजार बोट रहेको ठूलो सुन्तला बगैचा छ । तीन सय बोटमा सुन्तला फलेको छ । अन्य बोट सानो भएकाले दाना लगाएको छैन । गएको वर्ष पुनले एक लाख ८० हजार रुपैयाँको सुन्तला बिक्री गरेका थिए ।

नाथ र पुन मात्र होइन यस वडाका अन्य कृषक पनि सुन्तला खेतीमा आबद्ध छन् । यस वडामा ३५ देखि ४० वटासम्म सुन्तलाका बगैचा छन् । उत्पादित सुन्तला मध्ये आधा सुन्तला कुहिएर खेर जाने गरेको किसान नरसिंह पुनले बताए । बाँकी रहेको आधा सुन्तला व्यापारीले सस्तो मूल्यमा खरिद गर्दै आएका छ्न ।

चिस्यान केन्द्रको अभावमा वर्षेनी किसानले लाखौँ रुपैयाँ क्षति व्यहोर्नु परेको अर्का किसान कर्णबहादुर पुनले जनाए । सुन्तला खरिद बिक्री सुरु भइसकेको छ । डोकोमा सुन्तला बोकेर जिल्ला सदरमुकाम रुकुमकोट र रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा कृषकले सुन्तला पुर्याउने गरेका छन् ।

अहिलेसम्म वडामा चिस्यान केन्द्र निर्माण हुन सकेको छैन । सुन्तलालाई लक्षित गरेर गाउँपालिकाले चार वर्ष अघि निर्माण गरेको सङ्कलन केन्द्र प्रयोगमा आएको छैन । चिस्यान केन्द्रको अभावमा सुन्तला कुहिन नदिन स्याउला तथा सल्लाको कुसुममा सुन्तला भण्डार गर्नु पर्ने बाध्यता छ ।

यो वर्ष पनि वडाको झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखाना र भुरूङ्गा लगायतका ठाउँमा सुन्तला पाकेर बाेट पहेँलपुर भएका छन् । किसानलाई सुन्तला टिप्न भ्याई नभ्याई छ । बजारिकरण नहुँदा भने किसानहरूले पुरानै शैलीमा सुन्तला भण्डारण गर्ने गरेको स्थानीय पदमबहादुर बुढाले बताए ।

साविकको स्यालापाखा गाविस अर्थात हालको सिस्ने गाउँपालिका ७ र ८ नम्बर वडामा बढी सुन्तला फल्छ । सिस्ने–८ का वडाध्यक्ष गोपाल पुनले एक सय भन्दा बढी किसानले व्यावसायिक रूपमा सुन्तला खेति गरिरहेको बताए ।

सिस्ने गाउँपालिकाले उत्पादित सुन्तला बजारिकरणको लागि आवश्यक पहल गरिरहेको उनले दावी गरे । यो वर्ष सिस्ने ८ मा रहेको साना किसान कृषि सहकारी संस्थासँग सहकार्य गरेर बजारको व्यवस्थापन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले अर्काे वर्ष सुन्तला भण्डारणको लागि रुकुमकोटमै चिस्यान केन्द्र निर्माण गर्ने बताएका छन । गाउँपालिका नजिकै चिस्यान केन्द्र निर्माण गरी पालिका भित्रका सुन्तला भण्डारण गर्ने योजना रहेको रेउलेले सुनाए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया