रुकुम पूर्वमा ६ जनाले बुझाए निर्वाचन खर्चको विवरण, १२ बाँकी

रुकुम पूर्व । रुकुम पूर्वमा यही मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका मध्य ६ जनाले निर्वाचन खर्चको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

प्रतिनिधिसभाका ६ र प्रदेश सभाका १२ जना गरी १८ जना उम्मेदवार रहेकोमा अहिलेसम्म ६ जनाले निर्वाचन खर्चको विवरण बुझाएका हुन् ।

निर्वाचन खर्च विवरण बुझाउनेमा प्रतिनिधि भाका ३ र प्रदेश सभाका तीन उम्मेदवार रहेका छन् । प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमालेका कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री र नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए ।

उनका अनुसार उनिहरुमध्ये एमालेका मल्लले ३ लाख ८६ हजार ५ सय ८५ रुपैयाँ, राप्रपाका खत्रीले १ लाख २५ हजार ४० रुपैयाँ र नेश्नलिष्ट पिपल्सका बुढाले २ लाख ४६ हजार ४० रुपैँया निर्वाचन खर्चको विवरण बुझाएका छन् ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तेजबहादुर ओलीले मात्र खर्चको विवरण विवरण बुझाएका छन् । ओलीले १८ लाख ९५ हजार ७ सय १५ रुपैयाँ बराबरको खर्च विवरण बुझाएका हुन् । यो क्षेत्रमा निर्वाचन आयोगले अधिकतम १९ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का दुई उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित धनबहादुर केसीले खर्च विवरण बुझाएका छन् । केसीले १३ लाख २ हजार ५ सय २७ रुपैयाँ ४२ पैसा बराबरको खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।

नेकपा एमालेकी उम्मेदवार भावना बिसीले पनि खर्च विवरण बुझाएकी छन् । उनले बुझाएको विवरण अनुसार ३ लाख ६० हजार ४५ रुपैयाँ खर्च गरेकी छन ।

जिल्लामा आयोगले प्रतिनिधिसभाका उम्मेदवारले २७ लाख, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा १९ लाख र क्षेत्र नम्बर २ मा १७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

बुझाउन बाँकी उम्मेदवार को–को छन् ?

एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको रुकुम पूर्वमा जम्मा १८ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये अब १२ जनाले खर्च विवरण बुझाउन बाँकी छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती र प्रदेशसभा १ मा निर्वाचित स्वतन्त्र उम्मेदवार सुरुल पुनले निर्वाचन खर्च बुझाएका छैनन् ।

मंगोल नेशनल अर्गनाइजेशनबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका रतनबहादुर बुढा र स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले पनि निर्वाचन खर्च बुझाएका छैनन् ।

प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका तेजेन्द्र बुढामगर, मंगोल नेशनल अर्गनाइजेशनका पुरा पुन र स्वतन्त्र उम्मेदवार दुतकुमार पुनमगरले पनि निर्वाचन खर्च नबुझाएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका लेखन बुढा, राप्रपाका केशवचन्द्र समालले पनि निर्वाचन खर्च बुझाउन बाँकी छ । स्वतन्त्र उम्मेदवारले पनि खर्च विवरण बुझाएका छैनन् ।

स्वतन्त्र उम्मेदवार केशव रावल, नरहरी खड्का र पूर्णजंग सिंहले निर्वाचन खर्च बुझाउन बाँकी छ । अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले चुनावमा भएको खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया