सकियो नाटक महोत्सव

काठमाडौं । दोस्रो संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ सम्पन्न भएको छ । गएको मंसिर ९ गतेदेखि थापागाउँस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने, ‘सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु । मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ ।’

उनले मण्डलालाई कलेजको रूपमा सञ्चालन गर्ने तयारीलाई समेत सघाउने जानकारी दिए । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास पनि गरिएको थियो ।

समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा लगायतका रंगकर्मीको सहभागिता रहेको थियो । महोत्सवका निर्देशक सिर्जना सुब्बाले महोत्सवले रङ्गमञ्चलाई नयाँ ऊर्जा दिन सकेको बताए । समापनका दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’ को प्रिमियर मञ्चन भएको थियो ।

प्रतिक्रिया