प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

प्रतिनिधिसभातर्फ १६४ स्थानको नतिजा

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ६४ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार, आइतबारसम्म १ सय ६४ स्थानको मतगणना सम्पन्न भइसकेको छ भने दोलखाको मतगणना जारी छ । आयोगका अनुसार, नेपाली कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठुलो दल बनेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४४ सिट जितेको छ । १७ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १० सिट ल्याएको ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात÷सात सिट जितेका छन् । लोकतान्त्रि समाजवादी पार्टीले चार र नागरिक उन्मिुक्ती पार्टीले तीन सिटमा जित हासिल गरेका छन् ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीले पनि एक÷एक सिट जितेका छन् । यसका अतिरिक्त देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।

सबैभन्दा पछिल्लो नतिजा अनुसार, बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याए । थापाले भने २६ हजार ३ सय ४९ मत पाएका छन् । यसैबीच, प्रत्यक्षतर्फ ३ सय ३० प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्न सकेनन् । उक्त प्रदेशमा स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको उक्त प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सिटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा विजयी भएका छन् ।

यसैगरी मधेश प्रदेशमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । उक्त प्रदेशमा ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका छन् । प्रत्यक्षतर्फ कूल ६४ रहेको मधेश प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो र जनता समाजवादी ९ सिटसहित तेस्रो भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले ७, जनमत पार्टीले ६ र नेकपा ९ माओवादी केन्द्रले ४ सिट हात पारेका छन् ।

देशको राजधानीसमेत रहेको बागमती प्रदेशले भने स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन । उक्त प्रदेशमा कूल ६६ सिटमध्येमा सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेका छैनन् । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले १५ सिटमा जित हासिल गरेको छ । माओवादी केन्द्र १४ सिटसहित दोस्रो र नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कूल ३६ सिट रहेको उक्त प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ । नेकपा एमाले १२ सिटसहित दोस्रो र ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । नेपाल समाजवादी पार्टीले १ सिट जितेको छ ।

लुम्बिनीमा पनि तीन जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । कूल ५२ निर्वाचन क्षेत्र रहेको उक्त प्रदेशमा एमालेले १८ सिट जितेको छ । कांग्रेस १७, माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र जनमत पार्टी १ स्थानमा विजयी भएका छन् ।

कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । उक्त प्रदेशमा कांग्रेसले ९ सिटमा जित निकालेको छ । माओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । उक्त प्रदेशमा १२ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्दा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३ र नेकपा एकीकृत समाजवादी ३ सिटमा विजयी भएका छन् ।

प्रतिक्रिया