लैंगिक समानता : १५६ पुरुष, ९ महिला !

प्रतिनिधिसभा—प्रदेशसभा निर्वाचन

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम बिन्दुमा पुगेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दोलखावाहेक सबै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । संविधानको धारा ८४ को उपधारा ८ मा भनिएको छ, ‘यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई सदस्य महिला हुनुपर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधार १ को खण्ड (क) र धारा ८६ को उपधारा २ को खण्ड (क) बमोजित निर्वाचित सदस्यहरुमध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित हुन नसकेमा त्यस्तो राजनीतिक दलले उपधारा १ को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तिमा एक तिहाई महिला सदस्य हुनेगरी निर्वाचित गर्नुपर्नेछ ।’

यसको अर्थ, देशको मुल कानुन संविधानले संघीय संसदमा ३३ प्रतिशतभन्दा बढी महिला सांसदको परिकल्पना गरेको छ । तर, मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्रत्यक्षतर्फ केवल नौ जना महिला सांसद निर्वाचित भएका छन् । यो निकै निराशाजनक तथ्यांक हो । यो तथ्यांकलाई हेर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित सदस्यमध्ये महिलाको संख्या केवल ५.४५ प्रतिशत छ ।

संविधानको चाहनाभन्दा यो संख्या निकै कम हो । प्रत्यक्षतर्फ अपेक्षित संख्यामा महिलालाई संघीय संसदमा प्रतिनिधित्व गराउन नसकेपछि यतिबेला दलहरु पनि दवावमा परेका छन् । अब समानुपातिक निर्वाचन प्रणालीमार्फत संवैधानिक भावना अनुरुपको उक्त संख्या संसदमा पु¥याउनु पर्ने बाध्यता दलहरुमाथि थपिएको छ ।

यस पटकको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केवल नौ जना महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभामा सबैभन्दा बढी महिला सदस्य नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन् । देशभरीबाट एमालेका चार जना महिला प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पुराना र स्थापित राजनीतिक दलबाट त ६ जना मात्र महिला निर्वाचित भएका छन् ।
बाँकी तीन जना महिला सदस्य निर्वाचनअघि मात्र स्थापना भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् । निर्वाचनअघि स्थापना भएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई र नागरिक उन्मुक्ति पार्टीबाट एक जना महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यसका अतिरिक्त नेपाली कांग्रेस र नकेपा माओवादी केन्द्रबाट एक÷एक जना महिला विजयी भएका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुँदा एकातिर संसद्मा महिला प्रतिनिधित्व कमजोर हुने भएको छ भने अर्कोतिर समानुपातिकतर्फ सीमान्तकृत समुदायका पुरुषले समेत अवसर नपाउने स्थिति सृजना भएको छ । यस पटक प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी कुल २ हजार ४ सय १२ जनाले उम्मेदवारी दिएका थिए ।

कुल उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला थिए । यो तथ्यांकबाट पनि स्ष्ट हुन्छ, राजनीतिक दहरुले निकै कम महिलालाई मात्र प्रत्यक्षतर्फ उम्मेदवार बनाएका थिए । त्यसमध्ये नौ जना महिला मात्र प्रतिनिधिसभामा विजयी भएका छन् । निर्वाचित भएका सबै महिला उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी पुरुष हुन् ।

एमालेकी भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भइन् । उनले नेपाली कांग्रेसका ‘हेभी वेट’ उम्मेदवार विजयकुमार गच्छदारलाई हराएकी हुन् । चौधरीले ४० हजार ७ सय ८८ मत ल्याइन् भने गच्छदारले ३५ हजार ६ सय मत पाए ।

बारा क्षेत्र नम्बर ३ बाट एमालेकी ज्वालाकुमारी साह विजयी भइन् । उनले जनता समाजवादी पार्टी (जसपा) का रामबाबुकुमार यादवलाई पराजित गरेकी हुन् । साहले २० हजार ५ सय ५१ मत ल्याइन् भने यादबले १७ हजार २ सय ७९ मत पाएका थिए ।

कास्की क्षेत्र नम्बर २ बाट एमालेकी विद्या भट्टराई विजयी भइन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई हराएकी हुन् । भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन् भने कँडेलले १२ हजार ४ सय ९५ मत ल्याएका थिए ।

धनुषा क्षेत्र नम्बर ३ बाट एमालेकी जुलीकुमारी महतो विजयी भइन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार अनिलकुमार झालाई पराजित गरेकी हुन् । महतोले ३३ हजार ३ सय ५५ मत प्राप्त गरिन् भने झाले २३ हजार ६ सय ८६ मत मात्र ल्याउन सके ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला उम्मेदवार प्रतिनिधिसभामा विजयी भए । उक्त पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी भइन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयाललाई हराएकी हुन् । गौतमले १५ हजार २ सय ३८ मत प्राप्त गरिन् भने फुयालले ११ हजार ५ सय ६६ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी भइन् । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृत खडकालाई निकै फराकिलो अन्तरले हराएकी हुन् । कार्कीले ३१ हजार १ सय ३६ र खडकाले १२ हजार ९ सय ६३ मत ल्याएका थिए ।

यसैगरी नेपाली कांग्रेसकी सीता गुरुङ तेहृथुम क्षेत्र नम्बर १ बाट विजयी भइन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका प्रभावशाली उम्मेदवार विजय सुब्बालाई पराजित गरेकी हुन् । गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गरिन् भने सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका थिए ।

यसैगरी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा दाङ क्षेत्र नम्बर २ बाट विजयी भइन् । उनले एमालेका प्रभावशाली उम्मेदवार शंकर पोखरेललाई पराजित गरेकी हुन् । पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहिसकेका राजनीतिज्ञ हुन् । शर्माले २६ हजार ८ सय ८० र पोखरेलले २६ हजार ६ सय ८७ मत ल्याएका थिए । पोखरेलले लुम्बिनी प्रदेशको राजधानी रुपन्देहीबाट दाङ लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर, दाङका मतदाताले पोखरेलभन्दा पनि शर्मालाई नै रुचाए ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भइन् । उनले कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई पराजित गरेकी हुन् । श्रेष्ठले चौधरीलाई १० हजारभन्दा बढी मतान्तरले हराएकी हुन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गरिन् भने चौधरीले १८ हजार ८१ मत ल्याएका थिए ।

नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीबाट भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार विजयी भएनन् ।

नेपाली कांग्रेसकी पूर्वसभामुख चित्रलेखा यादव सिरहा क्षेत्र नम्बर २ बाट, पुष्पा भुसाल गौतम अर्घाखाँची १ बाट, सुजाता कोइराला मोरङ २ बाट र महालक्ष्मी उपाध्याय मकवानपुर क्षेत्र नम्बर १ बाट निकटतम प्रतिद्वन्द्वी बन्दै पराजित भए ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्युठान १ बाट पराजित भइन् । नेकपा एकीकृत समाजवादीकी पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी २ बाट पराजित भइन् । एमालेकी शान्ता चौधरी दाङ १, मञ्जु शर्मा बाग्लुङ २, निरुदेवी पाल कञ्चनपुर ३, मञ्जुकुमारी चौधरी उदयपुर १, गौरीकुमारी ओली डोटी १, कोमल वली दाङ ३ र पद्माकुमारी अर्याल स्याङ्जा २ बाट निकटतम प्रतिद्वन्द्वी बनेर पराजित भए ।

माओवादी केन्द्रकी बीना मगर कञ्चनपुर १, कल्पना धमला काठमाडौं ९, अञ्जना बिशंखे काठमाडौं १०, गोमा गौतम जुम्ला १, मायुषी यमि भट्टराई काठमाडौं ७, ओनसरी घर्ती काठमाडौं २ र पम्फा भुसाल अलितपुर ३ बाट पराजित भए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ सिन्धुलाल्चोक २, समिक्षा श्रेष्ठ रामेछाप १, गोमा तामाङ सुनसरी १, लीला खत्री बाग्लुङ २, मेनुका ठकुरी सिन्धुली १, वसुमाया तामाङ धादिङ २, जीता बराल चितवन ३, शोभा कार्की ओखलढुंगा १, खेमकुमारी भुर्तेल महोत्तरी १ र सञ्जुसिंह बिष्ट कपिलबस्तु १ बाट पराजित भए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी लिली बुढाथोकी दाङ १, नगिना झा सिरहा ४, पूजा घिमिरे महोत्तरी १, कुन्तीदेबी पोखरेल काठमाडौं २, सविता शर्मा कपिलबस्तु २, कुन्तीकुमारी शाही दैलेख १ र रेखा थापा मोरङ ३ बाट पराजित भए ।

संविधानले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने ब्यवस्था गरेको छ । तर, यस पटक प्रत्यक्षमा अधिकांश पुरुष मात्र निर्वाचित हुने र समानुपातिकमा ‘थ्रेस होल्ड’ समेत नकटाउने दलको संख्या धेरै हुँदा महिलाको प्रतिनिधित्व घट्ने देखिएको छ ।

प्रत्यक्षमा अधिकांश पुरुष विजयी भए पनि समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउने दलहरुले अपुग महिलाको संख्या समानुपातिकबाट पुरा गर्नुपर्ने हुन्छ । तर, प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी, ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी, ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टी, १ सिट जितेको नेपाल मजदुर किसान पार्टी र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले समानुपातिकमा ‘थ्रेस होल्ड’ कटाउने सम्भावना कम देखिन्छ । यसका अतिरिक्त पाँच जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि महिला सांसदहरूले प्रत्यक्षतर्फ दलहरुले कम्तीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए । निर्वाचन आयोगले पनि ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको थियो । तर, आयोगको त्यो निर्देशनलाई दलहरुले बेवास्ता गरे ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ११, कांग्रेसले ५, माओवादी केन्द्रले ७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १२ जना महिलालाई उम्मेदवार बनाएको थियो । यसैगरी एकीकृत समाजवादीले रामकुमारी झाँक्री र राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेललाई उम्मेदवार बनाएको थियो । जनता समाजवादी पार्टीले सात जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाए पनि सबै पराजित भए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि कुनै महिला उम्मेदवार विजयी भएनन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनुअघि प्रतिनिधिसभामा पनि महिलाको प्रतिनिधित्वको विषयमा गम्भीर वहस भएको थियो । सांसदहरुले ध्यानाकर्षण प्रस्ताव राख्दै संविधान कार्यान्वयनमा आएको ६ वर्ष वितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता हुन नसकेको बताएका थिए ।

संघीय निर्वाचनमा पनि प्रत्यक्षतर्फ पुरुषलाई उम्मेवार बनाइने र समानुपातिकमा महिला रहने प्रवृत्ति स्थापित भएको महिला सांसदहरुको साझा धारणा थियो । अधिकांश महिला सांसदले समर्थन गर्दै प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति बढाउन जोड दिएका थिए ।

संविधानमै समावेशी समानुपातिक व्यवस्था रहेका कारण महिला सांसदहरुको समग्र संख्या बढेको छ । तर, प्रत्यक्ष निर्वाचित हुने महिलाहरु सांसदहरुको संख्या भने घट्न थालेको छ । २०४८ सालमै ७ जना महिला सांसद निर्वाचित भएका थिए । २०५६ बढेर १२ पुग्यो तर, २०७४ सालमा आइपुग्दा खुम्चिएर ६ मा सीमित भएको थियो ।

जनप्रतिनिधिका हिसाबले चुनाव नै लडेर पहिलोपटक निर्वाचित हुने साधनादेवी नेपाल हुन् । उनी २०१० सालको काठमाडौं नगरको निर्वाचनमा वडा नम्बर ८ बाट निर्वाचित भएकी थिइन् । कुल खसेको ४ हजार १ सय १३ मतमा उनले २ हजार ४ सय ५५ मत प्राप्त गरेकी थिइन् ।

सांसदका रुपमा भने २०१५ सालमा द्वारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन् । उक्त निर्वाचनमा उनीसहित १५ जना महिला उम्मेदवार थिए । बाँकी १४ जना महिला उम्मेदवार पराजित भएका थिए । प्रत्यक्षतर्फ महिला उम्मेदवारका उठाउने विषयमा सबैभन्दा पहिले नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११४ मा व्याख्या गरिएको थियो । उक्त धारामा भनिएको थियो, ‘प्रतिनिधिसभाको लागि हुने निर्वाचनमा प्रत्येक राजनीतिक संगठन वा दलका उम्मेदवारमध्ये कम्तिमा पाँच प्रतिशत महिला उम्मेदवार हुनु अनिवार्य हुनेछ ।’

जसअनुसार, २०४८ सालमा भएको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८० जना महिला उम्मेदवार थिए । तीमध्ये सात जना महिला उम्मेदवार विजयी भएका थिए । २०५० सालमा सम्पन्न उपनिर्वाचनमा थप १ जना महिला उम्मेदवार विजयी भएका थिए । सोही अनुसार, सो प्रतिनिधिसभामा आठ जना महिला सांसद् थिए ।

२०४८ सालमा निर्वाचित हुने महिला सांसदहरुमा उमा अधिकारी, थममाया थापा, मीना पाण्डे, मैयादेवी श्रेष्ठ, लीला कोइराला, शैलजा आचार्य र सहाना प्रधान थिए । २०५० सालको उपनिर्वाचनमा निर्वाचित हुनेमा हालकी राष्ट्रपति विद्यादेवी भण्डारी थिइन् ।

२०५१ सालमा सम्पन्न निर्वाचनमा पनि ८६ जना महिला उम्मेदवार थिए । तीमध्ये सात जना विजयी भएका थिए । उक्त निर्वाचनमा शैलजा आचार्य, लीला श्रेष्ठ, लीला कोइराला, मीना पाण्डे, विद्यादेवी भण्डारी, सहाना प्रधान र कमलादेवी पन्त निर्वाचित भएका थिएका थिए ।

२०५६ सालमा सम्पन्न आमनिर्वाचनमा विभिन्न राजनीतिक दलहरुबाट १ सय १७ र स्वतन्त्रबाट २६ गरी कुल १ सय ४३ जना महिला उम्मेदवार उठेका थिए । त्यसमध्ये १२ जना विजयी भएका थिए । विजयी हुनेमा उर्मिला अर्याल, कमला पन्त, काशी पौडेल, कुन्ता शर्मा, चित्रलेखा यादव, तीर्था गौतम, रेणुकुमारी यादव, विद्यादेवी भण्डारी, सावित्री बोगटी, सुशीला नेपाल, सुशीला स्वाँर र अष्टलक्ष्मी शाक्य थिए ।

यसैगरी २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन पछि भने नयाँ संविधानअनुसार निर्वाचन हुन थाल्यो । निर्वाचन प्रणाली पनि फरक अपनाइयो । उक्त निर्वाचनमा ६०१ जना कुल सभासद्मध्ये प्रत्यक्षतर्फ २९ जना महिलाले जितेका थिए । २०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा ११ जना महिलाले प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

यसैगरी २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ६ जन महिला सांसद मात्र प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । एमाले सांसद रवीन्द्र अधिकारीको मृत्यु भएपछि भएको उपनिर्वाचनमा विद्या भट्टराईले जितेकी थिइन् । यसरी महिला सांसदको संख्या ७ पुगेको थियो । उक्त निर्वाचनमा विभिन्न दलबाट १ सय २९ जना महिला उम्मेदवार बनेका थिए ।

पछिल्लो समय दलहरुले जित्ने सम्भावना बलियो भएको क्षेत्रमा पुरुषलाई नै उम्मेदवार बनाउने गरेको तर, कमजोर क्षेत्रमा महिलालाई उम्मेदवार बनाउने गरिएको आरोप पनि लाग्ने गरेको छ । चुनावी मैदानमा सक्रिय रहेका महिला नेतृहरू प्रत्यक्षतर्फ महिला उम्मेदवार कम हुनुमा महिलालाई नेता स्वीकार नगर्ने सोच र सामाजिक संरचनालाई मुख्य कारण मान्छन् ।

प्रतिक्रिया