बैतडीमा माया लुहारको घाँटी रेटेर हत्या गर्ने सशस्त्र प्रहरी पक्राउ

धनगढी । बैतडीकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट उनलाई आइतबार पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोलाबहादुर रावलका अनुसार कोली आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई आजै जिल्ला प्रहरी कार्यालय बैतडी बुझाइने सूचना अधिकारी रावलले बताए ।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका–४ की माया बुधबार शीवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन् ।

मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए । फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थियो । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

प्रतिक्रिया