४ महिनामा ९० अर्बको आयात

काठमाडौं । नेपाल इजराइलभन्दा भण्डै सात गुणा ठूलो मुलुक छ । इजराइलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छन् । पानी जाडोयाममा मात्रै आक्कल झुक्कल पर्छ । कूल जनसंख्यामध्ये १.७ प्रतिशतका दरले करिब ७२ हजार जनता कृषि पेशामा आवद्ध छन् । तर यो मुलुक आफ्ना जनताको पेट भर्न प्रमुख खाद्यान्न वाली, तरकारी र फलफूल आयात गर्दैनन् । इजराइलले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी विभिन्न २१ मुलुकमा निर्यात गरेर ठूलै वैदेशिक मुद्रा आर्जन गर्दैआएको छ ।
पछिल्लो आर्थिक सर्वेक्षणअनुसार नेपालमा कूल जनसंख्याको ६०.४ प्रतिशत जनता कृषि पेशा अंगालेका छन् । इतिहासकालदेखि नेपालले आफुलाई ‘कृषि प्रधान’ मुलुक भनेर चिनाएको छ । कूल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ । तर यही मुलुक कृषिमा परनिर्भरताको पराकाष्ठाले सीमा नाघेको छ ।

सन् ६० को दशकमा नेपाल धान चामल निर्यात गर्ने मुख्य मुलुकमा पथ्र्यो । यही मुलुकले गत् आर्थिक बर्ष २०७८।७९ मा ३ खर्ब ४१ अर्ब ५१ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य बस्तु विभिन्न मुलुकबाट आयात गरेको छ । भन्सार विभागको पछिल्लो तथ्याँकअनुसार नेपालले कृषिजन्य बस्तुमा आयात नगरेको कुनै बस्तु छैंन् । गत् आर्थिक बर्ष २०७८।७९ मा कूल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख रुपैयाँको बस्तु आयात हुँदा यसमध्ये ३ खर्ब ४१ अर्ब ५१ करोड ७७ लाख रुपैयाँको प्रमुख कृषिजन्य बस्तुमात्रै आयात भएको हो ।

‘यस्तो अवस्थामा पनि लाज नमानेर छाति फुकाएर हामी आफै भन्छौं, कृषि प्रधान हाम्रो मुलुक,’ राष्ट्रिय कृषक समूह महासंघकी महासचिब रिता वस्ताकोटीले भनिन,‘लज्जा शरणम, कृषि प्रधान मुलुक भन्नुभन्दा अब आयातमुखि कृषि मुलुक भन्ने वेला आयो । अहिलेसम्म कृषिमा होइन, बालुवामा लगानी भएको छर्लङ्ग भयो ।’ उनकाअनुसार पछिल्लो समयमा सरकारले कृषिलाई प्राथमिकता दिदैं गर्दा डरलाग्दो र भयावह रुपमा कृषिजन्य बस्तुको आयात बढेको छ ।

पछिल्लो १३ बर्ष (२०६६।६७ देखि २०७८।७९) को अवधीमा कृषि क्षेत्रको विकासको नाममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राज्य र दातृ निकायबाट अनुदानतर्फ गरी करिब ४ खर्ब रुपैयाँ खर्च भएको छ । ‘तर अवस्थामा सुधार हुनुका साटो दिनानुदिन कृषिमा परनिर्भरता चुलिदैं गयो,’ कृषि बिज्ञ पौडेलले भने,‘उत्पादन बृद्धि गर्न जुन स्थानमा लगानी गर्नुपर्ने हो, त्यो ठाउँमा लगानी पुगेन । कृषि नीति नै बेठिक भएको पुष्टि भएको छ ।’

भन्सार विभागको तथ्याँकअनुसार गत् आर्थिक बर्षमा कूल ३ खर्ब ४१ अर्ब ५१ करोडको कृषिजन्य बस्तु आयात हुँदा सबैभन्दा अत्याधिक चामलकै आयात भएको छ । त्यो बर्षमा ४७ अर्ब ५७ करोड ३६ लाख मूल्यबराबरको धान र चामल आयात भएको हो ।

चालु आर्थिक बर्ष २०७९।८० को पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म) मा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाखको रुपैयाँबराबरको कूल आयात हुँदा यसमध्ये ९० अर्ब ८१ लाख रुपैयाँको कूल कृषिजन्य प्रमुख उत्पादन र सह उत्पादन आयात भएको छ । यसमा देखिने गरि ४३ अर्ब ४६ करोड ३६ लाख रुपैयाँको प्रमुख कृषिजन्य बस्तु आयात भएको छ ।

चालु आर्थिक बर्षको ४ महिनाको अवधीमा सबैभन्दा बढी अन्न (चामल, मकै, गहुँ) को आयात भएको छ । यो अवधीमा ११ अर्ब ८३ करोड ७९ लाख रुपैयाँको अन्न आयात भएको छ । यस्तै ११ अर्ब ३५ करोड ७८ लाखको तरकारी र ६ अर्ब ५१ करोड ६७ लाखको फलफूल आयात भएको छ ।

यसैगरी ६२ लाख रुपैयाँको मासु, १८ करोडको २९ लाखको माछा, ८१ करोड ७६ लाखको दुग्धजन्य उत्पादन, ६ करोड २१ लाखको पुष्पजन्य,२ अर्ब ४६ करोड ३७ लाखको चिया तथा कफी, ५ अर्ब ८० करोड १४ लाखको खानेतेल उत्पादन गर्ने विभिन्न प्रकारका गेडा र ४ अर्ब ४१ करोड ६८ लाखको विभिन्न प्रकारको दाल र गेडागुडी आयात भएको छ ।

२०७७ चैत १२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मासु, अण्डा, धूलो दूध र बटरमा नेपाल ‘आत्मनिर्भर’ भएको घोषणा गरेका थिए । तर भन्सार विभागको तथ्याँक बिश्लेषण गर्दा आत्मनिर्भर भनिएका अधिकाँश उत्पादनको मज्जैले आयात भइरहेको छ ।

सन् १९६१ मा भारतले सात लाख ३६ हजार मेट्रिक टन र बंगलादेशले चार लाख ९१ हजार टन चामल विभिन्न मुलुकबाट आयात गर्दा नेपालले भने त्यो वेला चार करोड ३० लाख तत्कालिन मूल्य बराबरको दुई लाख ८९ हजार टन चामल निर्यात गरेको गर्विलो इतिहास थियो । यो इतिहास केही बर्ष कायम रहयो । ९० को दशकको सुरुवातसँगै नेपालले कमाएको धान चामल ब्यापारको गर्भिलो इतिहास विस्तारै ओरालो लाग्यो ।

नेपाल निर्यातकर्ता मुलुकबाट आयातकर्ता मुलुकको रुपमा परिणत भयो । यो बीचमा धान चामल आयात गर्ने भारत र भियतनाम कृषि क्षेत्रमा सुधार गर्दै अहिले पहिलो र तेश्रो ठूलो चामल निर्यातक मुलुकको रुपमा उभिन सफल भयो ।

पूर्व सचिब तथा कृषि बिज्ञ डा. हरि दाहालले कृषिमा आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायिकरण नगरिंदा धनियाँको पातदेखि चामलसम्ममा नेपाल परनिर्भर भएको बताए । उनकाअनुसार राज्यको लगानी मुख्य गरी किसान तह, कृषिको अनुसन्धान, आधुनिकीकरण र यान्त्रिकरण तह र बजारिकरणमा हुनुपर्ने हो । ‘तर यस्ता महत्वपूर्ण क्षेत्रमा लगानी गरिएको छैंन्,’ दाहालले भने,‘अनुदानमा व्यापक भ्रष्टाचार छ । कागतमा प्रगति देखाएपछि कसरी उत्पादन बढ्नु ?’

उनकाअनुसार सरकारले उपलब्ध गराउने उत्पादनसम्बन्धी तथ्याँकलाई पनि अब शंकाको घेरामा राख्नुपर्ने वेला भएको छ । उनले भने, ‘हेर्नुस् त लगानी र अनुदान बढेको बढ्यैं छ, कागजमा पनि उत्पादन बढेकै छ । अर्कोतर्फ कृषिजन्य बस्तुको आयात दरको हिस्सा पनि बढ्दै गएको छ । राज्यले अब पनि पाठ नसिके आगामी ६–७ बर्ष अझै आयात दर बढ्ने सम्भावना छ ।’

भन्सारको तथ्याँकअनुसार नेपालले अत्यावश्यक तथा आधारभूत प्रमुख खाद्यान्नवालीदेखि तरकारी, फलफूल, मासुजन्य जिउँदो जनावर तथा पंक्षि, माछा, डेरी, अण्डा, मह, पुष्प, आलु, प्याज, लसुन, गोलभेडा, हरियो तरकारी, कफी, चिया, बीउ, जैविक तथा वनस्पति तेलघीउ, दाल, कागती र सागसम्ममा परनिर्भर बनेको छ ।

कुनै पनि कृषिजन्य बस्तुमा नेपाल आत्मनिर्भर छैंन् । कुखुरा व्यवसायमा आत्मनिर्भर भएको दावी गरिएपनि तीनतारे होटेलदेखि पाँच तारे होटेलसम्ममा खपत हुने कुखुरा र खसीसम्म भारतसहित तेश्रो मुलुकबाट ठूलो परिमाणमा आयात हुन्छ । कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि (कृषि, बन र मत्स्य) को योगदान २७ प्रतिशत रहेपनि पछिल्लो समयमा कृषिजन्य उपजको उत्पादन घट्दै गएर यो योगदानको दर घटेर २३.९ प्रतिशतमा झरेको छ ।

घट्यो कृषिजन्य बस्तुको आयात

भन्सार विभागको तथ्याँकअनुसार अघिल्लो बर्षको ४ महिनाको अवधीमा कृषिजन्य बस्तु र सह उत्पादनको आयातको तुलनामा चालु आर्थिक बर्षमा निक्कै कम आयात भएको हो । अघिल्लो बर्षको ४ महिनाको अवधीमा चालु आर्थिक बर्षको ४ महिनाको अवधीमा ४४ अर्ब २७ करोड ३७ लाख रुपैयाँ कमको कृषिजन्य बस्तुको आयात भएको छ । त्यो ४ महिनाको अवधीमा १ खर्ब ३४ अर्ब २८ करोड १८ लाख रुपैयाँको प्रमुख कृषिजन्य र सह उत्पादन आयात भएको थियो ।

गत् आर्थिक बर्षको ४ महिनाको अवधीमा २२ अर्ब ५७ करोड १० लाख रुपैयाँको अन्न(चामल, मकै र गहुँ) आयात भएको थियो । त्यस्तै १६ अर्ब ९ करोड ८७ लाखको तरकारी, ९ अर्ब ४३ करोड ९९ लाखको फलफूल, ८ अर्ब ६० करोड ६६ लाखको दाल तथा गेडागुडी, १० अर्ब ४५ करोडको खानेतेल बनाउने विभिन्न प्रकारको गेडा, ३ अर्ब ८१ करोड ५९ लाखको कफी तथा चिया, ९ करोड ७३ लाखको पुष्पजन्य, ६६ करोड ४५ लाखको दुग्धजन्य, ८७ करोड ५२ लाखको मासु र २ करोड ९५ लाख रुपैयाँको माछा आयात भएको थियो ।

प्रतिक्रिया