अनुगमन गर्दा भान्सा नै फोहोर

पर्वत । जिल्लामा बिहीबार गरिएको अनुुुगमनमा परिकार बनाउने भान्सामा नै फोहोर रहेको पाइएको छ । पर्वतको कुश्मा बजारमा रहेका होटल, रेस्टुरेन्ट तथा मिठाइ पसलहरूमा अनुगमन गर्दा भान्सा नै फोहोर भएको र परिकार बनाउने विभिन्न उपकरणहरू नै फोहोर देखिएको हो । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आयोजनामा गरिएको खाद्य बस्तुको अनुगमन गर्दा राजमार्ग छेउछाउ तथा बढी व्यस्त हुने शिवालय चोकमा रहेका होटल, रेस्टुरेन्ट तथा मिठाइ पसलहरूमा गुणस्तरहीन परिकार र धेरै फोहोर भएको अनुगमन टोलीले बताएको छ ।

अनुगमनका क्रममा अधिकांश होटल तथा रेस्टुरेन्टका भान्सामा सरसफाइको कमी देखिएको छ । भान्सामा फोहोरसहित खानेकुरा नछोपी राखेको भेटिएको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले बताइन् । अधिकारीले भनिन्, ‘यसपटक सजग गराएका छौँ आगमी दिनमा पनि यस्तो पाइएमा कानुनअनुसार कारबाही गर्नेछाँै ।’

यस्तै सडकछेउका होटल–रेस्टुरेन्टमा खानेकुरा खुल्ला र कतैकतै झुलले छोपेर राखिएको थियो । त्यस्ता होटललाई अनिवार्य रूपले सिसाको फ्रेमभित्र खाद्यपदार्थ राख्न निर्देशन दिइएको अधिकारीले बताइन् । मिठाइ पसलहरूमा भने खाद्य पदार्थमा रंगको प्रयोग बढी गरेको पाइएकाले जथाभावी नगर्न र रंग प्रयोग गरेपछि खाद्य पदार्थलाई पकाउन, तार्न निषेध गरिएको पनि अधिकारीले जानकारी दिइन् ।

पर्यटन तथा उद्योग कार्यालय पर्वत, जिल्ला प्रशासन कार्यालय पर्वत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ, पोखरा उद्योग वाणिज्य संघ पर्वत, प्रहरी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको थियो ।
साथै होटल, रेस्टुरेन्ट तथा मिठाइ पसल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी, अखाद्य पदार्थ मिसावट गर्दा उपभोक्तामा हुने हानि, सरसफाइलगायत उपभोक्ता प्रतिको जिम्मेवारी र अखाद्य बस्तुको बिक्री वितरणबाट उपभोक्ताको स्वास्थ्यमा परेको असर र त्यसको कारबाही तथा जरिवाना सम्बन्धमा सञ्चालकहरूलाई मंसिर १६ गते बिहान ६ बजे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको पर्यटन तथा उद्योग कार्यालय पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिइन् । कुश्मा बजारमा मात्र सानाठूला गरी करिब दुई सय होटलहरू रहेका छन् ।

प्रतिक्रिया