दोलखामा मतदान, बाजुरामा गणना

काठमाडौं । दोलखामा बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतदान कार्य सम्पन्न भएको छ । मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि बिहीबार पुनः मतदान भएको हो ।

बिहान ७ बजेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान विभिन्न १० वटा केन्द्रमा भएको हो । अन्य मतदान केन्द्रमा भने मंसिर ४ गते नै मतदान भइसकेको छ । दोलखामा प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ ।

जिल्लाको वैतेश्वर गाउँपालिका–६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नम्बर ३ कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको हो ।

आयोगले बिहीबारको मतदानमा करिब ५० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । दोलखामा ९४ वटा मतदानस्थल र १ सय ९५ वटा मतदान केन्द्र रहेका छन् । कुल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेको उक्त क्षेत्रमा १४ राजनीतिक दल र ७ जना स्वतन्त्र नागरिक गरी कुल २१ जना उम्मेदवार रहेका छन् ।

यसैगरी निर्वाचन सम्पन्न भएको १२ दिनपछि बिहीबारदेखि बाजुरामा मतगणना कार्य सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई नै गणना गर्न निर्देशन दिएपछि बाजुरमा दिउँसो ४ बजेदेखि मत गणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाए पनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि बिहीबार बिहान सर्वदलिय बैठक बसेको थियो । सर्वदलिय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।

मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको र बुथ कब्जासमेत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालले एकअर्कालाई आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका थिए । एमालले जिल्लाका १६ मतदान केन्द्रमा बुथकब्जा गरेर एकलौटी मत खसालेको आरोप लगाएको थियो भने कांग्रेसले आठ ठाउँमा बुथ कब्जा भएको आरोप लगाउँदै आयोगमा उजुरी दिएको थियो ।

दुई प्रमुख दलको उजुरीपछि निर्वाचन आयोगले जिल्लाको अवस्था बुझ्न अध्ययन टोली पठाएको थियो । अध्ययन टोलीले बुथ कब्जा भएको कुनै प्रमाण प्राप्त गर्न सकेको थिएन । त्यसपछि आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना कार्य अघि बढाउन निर्देशन दिएको हो ।

बाजुरामा मतदानका क्रममा भएको झडपका कारण त्रिवेणि नगरपालिका–७ का सन्दीप अयडिको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । जिल्लाको बुढीनन्दा नगरपालिका–५ को एउटा मतदान केन्द्रमा भने मंसिर ४ गते मतदानका क्रममा विवाद भएर गोली चलेपछि बीचैमा मतदान रोकिएको थियो । त्यहाँ पुनः मतदान भइसकेको छ ।

प्रतिक्रिया